सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

दुर्लभ विश्व कीर्तिमान बनाएका दीपेन्द्र

सोमबार, २१ जेठ २०८१, १४ : १९
सोमबार, २१ जेठ २०८१

नेपाली राष्ट्रिय टोलीका अनुभवी र प्रभावशाली खेलाडी हुन्, दीपेन्द्रसिंह ऐरी । उनी टोलीका अलराउन्डर खेलाडी पनि हुन् । अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै पटक उनकै उत्कृष्ट प्रदर्शनका कारण टोलीले सफलता हात पारेको छ ।

२४ वर्षीय दीपेन्द्रको ब्याटिङ जति आक्रामक छ, बलिङ पनि उत्तिकै आक्रामक । उनले देशका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय गरी दुबै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् । उनले राष्ट्रिय टोलीबाट हालसम्म एक सय १९ खेल खेलिसकेका छन् ।

दीपेन्द्रले ५५ वटा एकदिवसीय अन्तर्राष्ट्रिय र ६४ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको ५३ पालीमा उनले १९.०६ को औसतले कुल ८ सय ९६ रन बनाएका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा उनको स्ट्राइक रेट ७१.२२ रहेको छ । उनले बनाएको उच्च स्कोर भने एक सय पाँच रन हो । यस क्रममा उनले एक शतक र तीनवटा अर्धशतक पनि प्रहार गरेका छन् । उनले ७७ चौका र १२ वटा छक्का पनि हिर्काएका छन् । उनले २७ वटा क्याच पनि लिएका छन् ।

यसैगरी उनले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिताको ५६ पालीमा ३८.७१ को औसतले कुल एक हजार ६ सय २६ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको स्ट्राइक रेट १४६.७५ रहेको छ । उनको उच्च स्कोर भने अविजित एक सय १० रन हो ।

टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले एक शतक र नौवटा अर्धशतक पनि प्रहार गरेका छन् । उनले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा एक सय २६ चौका र ६८ वटा छक्का पनि हिर्काएका छन् । उनले २८ वटा क्याच पनि लिएका छन् । 

यसैगरी उनले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा ३८ वटा विकेट पनि लिएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन १८ रन खर्चिएर तीन विकेट हो । टी–२० अन्तर्राष्ट्रियमा पनि उनले ३७ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन १८ रन खर्चिएर चार विकेट हो । 

  • टी–२० अन्तर्राष्ट्रियमा डेब्यू

 दीपेन्द्रले सन् २०१८ को जुलाई २९ तारिखमा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेका थिए । उनले आफ्नो पहिलो खेल लर्डसमा नेदरल्यान्ड्सविरुद्ध खेलेका थिए । उक्त खेल अनिर्णीत रूपमा सकिएको थियो ।

दीपेन्द्रले अन्तिम टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता भने ओमानमा सम्पन्न एसीसी प्रिमियर कपमा खेलेका थिए । सन् २०२४ को अप्रिल २० तारिखमा खेलिएको हङ्कङविरुद्धको उक्त खेलमा उनले अविजित ४४ रन बनाएका थिए । त्यो खेलमा नेपाल चार विकेटले पराजित भएको थियो । 

  • प्रथम श्रेणी, लिस्ट ‘ए’ र टी–२०

 दीपेन्द्रसिंह ऐरीले एउटा प्रथम श्रेणीको क्रिकेट खेलेका छन् । त्यसमा उनले एक रनमात्र बनाउन सकेका छन् । यसका अतिरिक्त उनले ७६ वटा लिस्ट ‘ए’ प्रतियोगिता पनि खेलिसकेका छन् । 

लिस्ट ‘ए’ प्रतियोगितामा उनले कुल एक हजार तीन सय ५२ रन बनाएका छन् । यो प्रतियोगितामा उनको उच्च स्कोर एक सय पाँच रन हो । उनले एक शतक र ६ वटा अर्धशतक पनि बनाएका छन् । उनले ३३ वटा क्याच पनि लिएका छन् । लिस्ट ‘ए’ क्रिकेटमा उनले ४६ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन १४ रन खर्चिएर चार विकेट हो । 

यसैगरी दीपेन्द्रले ७३ वटा टी–२० प्रतियोगिता पनि खेलेका छन् । टी–२० प्रतियोगिताको ६४ पालीमा कुल एक हजार सात सय ३२ रन बनाएका छन् । उनको उच्च स्कोर अविजित एक सय १० रन हो । उनले एक शतक र नौवटा अर्धशतक बनाएका छन् । यो प्रतियोगितामा उनले ३९ विकेट लिएका छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन १८ रन खर्चिएर चार विकेट हो ।

  • पछिल्लो प्रदर्शन

 दीपेन्द्रले विश्वकप यात्रामा निस्कनुअघि घरेलु मैदानमा वेस्ट इन्डिज ‘ए’विरुद्ध टी–२० शृङ्खला खेलेका थिए । उनले वेस्ट इन्डिजविरुद्धको पहिलो खेलमा २४ र दोस्रो खेलमा तीन रन बनाएका थिए । उनले शृङ्खलाको तेस्रो खेलमा सात, चौथो खेलमा १९ र पाँचौँ खेलमा पाँच रन बनाएका थिए । उनले पहिलो र दोस्रो खेलमा एक–एक विकेट पनि लिएका थिए ।

त्यसअघि उनले ओमानमा सम्पन्न एसीसी प्रिमियर कप पनि खेलेका थिए । प्रिमियर कपमा उनले हङकङविरुद्ध अविजित ४४ रन बनाएका थिए । त्यो खेलमा उनले चार ओभरमा २७ रन खर्चिएर दुई विकेट पनि हात पारेका थिए ।

यसैगरी उनले यूएईविरुद्ध पाँच, साउदी अरेबियाविरुद्ध १७ र कतारविरुद्ध अविजित ६४ रन बनाएका थिए । उनले समूहगत चरणमा हङ्कङविरुद्ध दुई र कतारविरुद्ध पनि दुई विकेट लिएका थिए । समग्रमा उनले प्रिमियर कपमा पाँच पालीमा कुल एक सय ५० रन बनाएका थिए । 

  • दुर्लभ विश्व कीर्तिमान

चीनमा सम्पन्न १९औँ एसियाली खेलकुदमा दीपेन्द्रले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुर्लभ कीर्तिमान बनाएका थिए । उनले केवल नौ बलमा अर्धशतक पुरा गरेका थिए । उनको यो कीर्तिमान भविष्यमा पनि कसैले तोड्न सक्ने छैन । 

बढीमा यो कीर्तिमानको बराबरीसम्म हुन सक्छ । उनले मंगोलियाविरुद्धको खेलमा उक्त कीर्तिमान बनाएका थिए । यसअघि उक्त कीर्तिमान भारतका युवराज सिंहको नाममा थियो । उनले सन् २००७ मा इङ्ल्यान्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए ।

  • कीर्तिमान

ओमानमा सम्पन्न एसीसी प्रिमियर कपमा दीपेन्द्रले कतारविरुद्ध ६ बलमा लगातार ६ वटा छक्का पनि हिर्काएका थिए । उनी ६ बलमा ६ वटा छक्का प्रहार गर्ने पहिलो नेपाली खेलाडी पनि हुन् । विश्व क्रिकेटमा पनि यसलाई दुर्लभ कीर्तिमान मानिन्छ । 

उनी विश्व क्रिकेटमा यस्तो उपलब्धि हासिल गर्ने केवल तेस्रो खेलाडी हुन् । यसअघि भारतका युवराज सिंहले सन् २००७ को टी–२० विश्वकपमा इङ्ल्यान्डविरुद्ध एकै ओभरमा ६ वटा छक्का हिर्काएका थिए । सन् २०२१ मा वेस्ट इन्डिजका किरोन पोलार्डले श्रीलंकाविरुद्ध यस्तो उपलब्धि हासिल गरेका थिए । 

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २००७ को विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध दक्षिण अफ्रिकाका हर्सल गिब्सले यस्तो कीर्तिमान बनाएका थिए । अमेरिकाका जसकरण मल्होत्राले पपुवा न्युगिनीविरुद्ध एकदिवसीय क्रिकेटमा यस्तो उपलब्धि हासिल गरेका थिए ।

यसैगरी उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै वर्ष सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा २७औँ स्थानमा छन् । उनले सन् २०२२ मा कुल ६ सय २६ रन बनाएका थिए । यस क्रममा उनले एक शतक र चार अर्धशतक पनि प्रहार गरेका थिए । 

यसैगरी उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएर सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पाँचौँ स्थानमा छन् । उनले सन् २०२२ को अप्रिल २ तारिखमा कीर्तिपुरमा खेलिएको मलेसियाविरुद्धको खेलमा अविजित एक सय १० रन बनाएका थिए । 

यसैगरी दीपेन्द्र एउटै स्टेडियममा सर्वाधिक टी–२० रन बनाउने ब्याट्सम्यानको सूचिमा १०औँ स्थानमा आसिन छन् । उनले कीर्तिपुरस्थित क्रिकेट मैदानमा हालसम्म टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिताका कुल ६ सय ४० रन बनाएका छन् । 

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एउटै पालीमा उच्च स्ट्राइक रेटमा रन बनाउने ब्याट्सम्यानको सूचिमा उनी विश्वमै पहिलो स्थानमा छन् । सन् २०२३ को सेप्टेम्बर २७ मा एसियाली खेलकुदका क्रममा चीनमा सम्पन्न मंगोलियाविरुद्धको खेलमा उनले ५२०.०० को स्ट्राइक रेटमा रन बनाएका थिए ।

यसैगरी उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक अर्धशतक बनाउने ब्याट्सम्यानको सूचिमा उनी ४९औँ स्थानमा छन् । उनले हालसम्म १० वटा अर्धशतक बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा लगातार तीन खेलमा अर्धशतक बनाउने उनी विश्वकै आठौँ खेलाडी हुन् । 

यसैगरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक ‘डक आउट’ हुने ब्याट्सम्यानको सूचिमा उनी चौथो स्थानमा छन् । उनी हालसम्म ५६ पटक ‘डक आउट’ भएका छन् । उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो एक हजार रन पुरा गर्ने खेलाडीको सूचिमा २०औँ स्थानमा छन् । उनले ३४ खेलमा एक हजार रन पुरा गरेका थिए ।

यसैगरी दीपेन्द्रसिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी प्लेयर अफ दी म्याच घोषित हुने खेलाडीको सूचिमा पनि २४औँ स्थानमा आसिन छन् । उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म आठ पटक प्लेयर अफ दी म्याच घोषित भएका छन् । यसका अतिरिक्त दीपेन्द्र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको एउटै शृङ्खलामा दुई सय ५० रन बनाउने र १० विकेट लिने खेलाडी पनि हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप