चोरीसिकारी बढेपछि चुरे क्षेत्रमा मासिँदै पशुपक्षी
कटारी । उदयपुरको कटारी नगरपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा चोरीसिकारी बढेको छ । कटारी नगरपालिका–१, २, ३, ५ र ६ का सामुदायिक र सरकारी वन क्षेत्रमा चोरीसिकारी बढेको हो ।
सिकारीले वन क्षेत्रमा दिनहुँजसो निलगाई, बँदेल, मृग, मयुर, कालिज, धनेसजस्ता पशुपक्षीहरु सिकार गर्ने गरेको कटारी–३ का स्थानीय डबबहादुर परियारले जानकारी दिए । “२० नाल जति भरुवा बन्दुक लिएर सिकारीहरु आउने गर्छन्”, उनले भने, “पानी पर्न थालेपछि जन्तुहरुको पाइला हेरेर सिकार गर्न सजिलो हुने रहेछ त्यसैले अहिले सिकारीहरु जङ्गलभरि सक्रिय छन् ।”
चुरे वनमा डढेलो लगाउने पनि सिकारी रहेको स्थानीयवासीको अनुमान छ । आगो लगाएपछि सिकार खेल्न सजिलो हुने स्थानीयको भनाइ छ । दैनिक वनमा बन्दुक पड्केको आवाज सुनिने र सिकारी भेटिने गरेको घाँसे गोठालाहरु बताउँछन् ।
कटारी नगरपालिकाको चुरे वन क्षेत्रभित्र पर्ने वडा नं १ खसीबास, एक्लेसल्ला र सिरहाको गोलबजार नगरपालिकाअन्तर्गतको चुरे किनारका बस्तीबाट सिकारी आउने गरेको स्थानीय बताउँछन् । “सबैजना बन्दुक लिएर कटारी नजिकसम्म सिकार खेल्न आउँछन्”, कटारी–३ च्याँगाका लवकुश माझीले भने, “गाउँ छेउछाउमा आउने बँदेल, दुम्सी, खरायो, मृग, नीलगाई सिकारीले मासिसके ।”
सिकारीले वनक्षेत्रमा तर्साएपछि वन्यजन्तु गाउँ पस्न थालेको कटारी–५ शलेस सामुदायिक वन उपभोक्ता समूहका पूर्वसचिव डिकबहादुर श्रेष्ठले बताए । “पहिला चुरेमा बस्ने वन्यजन्तु गाउँमा देखिन थालेका छन्”, उनले भने, “जङ्गली जनावर गाउँ पसेपछि अन्नबालीमा क्षति पुर्याउन थालेका छन् ।”
अहिले चोरीसिकारी सक्रिय रहने मौसम रहेकाले दैनिक वनगस्ती खटाएको डिभिजन वन कार्यालय कटारी (त्रिवेणी) का प्रमुख डिभिजन वन अधिकृत अनिरुद्ध साहले बताए । “दैनिक गस्ती खटाएका छौँ, प्रहरीसँग पनि समन्वय गरिरहेका छौँ, अनुमतिबिनाका भरुवा बन्दुक नियन्त्रणमा लिन र बुझाउन अनुरोध गरेका छौँ”, अधिकृत साहले भने, “वन्यजन्तुअनुसार सिकारीलाई सजायको व्यवस्था कानुनमा छ, वनका उपभोक्ता समूहहरुलाई पनि सिकारी पक्राउमा सहयोग गर्ने अनुरोध गरेका छौँ ।”
पशुपक्षी सिकारीलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनसम्बन्धी कारबाही हुने पनि अधिकृत साहले बताए । साहका अनुसार यस क्षेत्रमा संरक्षित पक्षीमा ठूला धनेस, हात्तीलगायतका जनावर छन् ।
वनमा ठूलो रुखहरु मासिएसँगै पक्षी मासिन थालेका छन् । १५ वर्षअघिसम्म प्रशस्त पाइने कर्रा, कागभेला प्रजातिको सुगा अहिले भेटिन छाडेका छन् । सिकारीहरु कटारी र सिरहाको सिमानामा पर्ने चुरिया मन्दिरदेखि पूर्व, उदयपुरगढी गाउँपालिकाको नेपालटार र पश्चिमतर्फ सिरहादेखि उत्तरको वन क्षेत्रमा दैनिक भरुवा बन्दुकसहित सिकार गर्ने गरेको स्थानीय बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण