दुई दिनभित्र कार्यविधि बनाउने सहकारी छानबिन समितिको निर्णय
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले दुई दिनभित्र कार्यविधि बनाउने निर्णय गरेको छ । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको समितिको बैठकले दुई दिनभित्रमा समितिको कार्यविधि बनाएर अर्को बैठकमा पेस गर्ने निर्णय गरेको हो ।
कार्यविधिको मस्यौदा बनाउने जिम्मेवारी समिति सचिवालयलाई दिइएको छ । समितिको पहिलो बैठक सभामुख देवराज घिमिरेसमेतको उपस्थितिमा बसेको थियो । बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभाबाट पारित समितिको कार्यादेश, राजनीतिक दलहरूका बीचमा भएको सहमति, कार्यक्षेत्र र अनुसूचीमा समावेश भएका सहकारीको नामावलीसहितको दस्ताबेज समिति सभापति सूर्य थापालाई हस्तान्तरण गरेका थिए ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति थापाले तोकिएकै समयमा अनुसूची भित्रका सहकारीहरूमा केन्द्रित भएरै काम सम्पन्न गर्नेगरी छलफल भएको जानकारी दिए । उनले समिति सदस्यहरूले तीन महिनाभित्र अहोरात्र काम गरेर भएपनि काम सक्ने प्रतिबद्धता व्यक्त गरेको भन्दै समितिको प्रतिबद्धता पनि त्यही रहेको बताए ।
उनले भने,‘बैठकमा समितिको कामलाई अगाडी बढाउने सन्दर्भमा छलफल गरेका छौँ । आज हामीले परिचय सँगसँगै सामान्य केही निर्णय मात्रै गरेका छौँ । जस्तो, कार्यविधि बनाउनुपर्ने छ । समितिको आन्तरिक कार्यविधि मस्यौदा गर्न सचिवालयलाई निर्देशन दिएका छौँ । त्यसमा कार्ययोजना, ३ महिनाको निर्धारित समयलाई मध्यनजर गरेर समयभित्रै काम सम्पन्न गर्नेगरी समितिले गर्नुपर्ने कामको कार्ययोजना र कार्यविधिको मस्यौदा गर्न जिम्मा दिने काम भएको छ ।’
बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै समिति सदस्य ईश्वरीदेवी न्यौपानेले तीन महिनाभित्रै काम सम्पन्न गर्नका लागि रात दिन नभनी काम गर्ने समझदारी भएको बताइन् । उनले आफूहरू कुनैपनि बहानामा समय थप गर्ने पक्षमा नरहेको स्पष्ट पारिन् ।
समिति सदस्य लेखनाथ दाहालले कार्यादेशको मातहतमा बसेर समयभित्रै काम पूरा गर्ने बताए । उनले समितिले गर्ने कामहरू सर्वसम्मत निर्णयको आधारमा हुने बताए ।
समिति सदस्य शिशिर खनालले पनि तोकिएको समय तीन महिनाभित्रै काम सम्पन्न गरिने बताए । उनले आफूहरूले जिम्मेवारीलाई गम्भीरतापूर्वक लिएको पनि बताए ।
समितिको तीन महिनाको समय बुधबार पहिलो बैठक बसेको दिनदेखि प्रारम्भ हुने जनाइएको छ । समितिको आगामी बैठक शुक्रबार बस्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
-
विश्व द्वन्द्व ८० वर्षयताकै उच्च
-
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण