बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

दुध बिक्री गरेर आत्मनिर्भर बन्दै किसान

बिहीबार, ३१ जेठ २०८१, १५ : ०५
बिहीबार, ३१ जेठ २०८१

म्याग्दी । बेनी नगरपालिका–४ सोताका सर्वलाल थापाले दुई भैँसी पालेका छन् । गाउँमा सामान्य खेती किसानी गर्ने उनको परिवारको आम्दानीको स्रोत भैँसीको दूध बिक्रीबाट हुने कमाई नै हो ।

 घरमा उत्पादन हुने दूध सिङगामा रहेको शुभकामना कृषि सहकारी संस्थामा बिक्री गर्दै आएको उनले बताए । थापा मात्रै होइन सोता गाउँमा रहेका १९ घरमध्ये अधिकांशले भैँसीपालेर सहकारीमा दूध बिक्री गर्दै आएका छन् । 

‘‘ गाउँमा अधिकांशको घरमा दुईदेखि तीन भैँसी छन्, बिहान–बेलुका नै सहकारीमा लगेर दूध बिक्री गर्छौ, दूधबाट हुने आम्दानीले नै घरखर्च चल्ने गरेको छ, कृषि सहकारीले दूध खरिद गर्ने भएपछि थोरै–धेरै जति दूध पनि बिक्री गर्न पाउने सुविधा भएको छ’’ किसान थापाले भने । बेनी – ४ सिङगामा रहेको यस सहकारीले विसं २०७५ देखि किसानको दूध खरिद गर्ने र बजारीकरण गर्दै आएको छ । 

ग्रामीण सहरीकरणको रुममा विकास भइरहेको सिंगामा सहकारीले किसानको दूध खरिद गर्ने सुविधा भएपछि सिंगा, सुर्केमेला, राक्से, ठूलोखोला, सोता, बाझरा लगायतका टोलमा भैँसीपालन गरेर स्थानीयले दूधबाट नगद आम्दानी गर्दै आएका छन् । 

सहकारीमा अहिले दैनिक दुई सय ५० लिटर बढी दूध सङ्कलन हुने गरेको सहकारीका प्रबन्धक दीपक शर्माले जानकारी दिए। किसानबाट सङ्कलन भएको दूधलाई सहकारीले स्थानीय उपभोक्ता र सदरमुकाम बेनी बजारमा बिक्री गर्दै आएको प्रबन्धक शर्माले बताए ।

सहकारीमा आबद्ध ८० जना दुग्ध किसानले दूध बिक्रीका लागि सहकारीमा खाता खोलेकोमध्ये अहिले ३५ जनाले नियमित रुपमा दूध बिक्री गर्दै आएका छन् ।
उत्पादन भएको दूध घरदैलोमै बिक्री हुने भएपछि यस क्षेत्रका स्थानीय दूधबाट आत्मनिर्भर बन्न थालेका छन् ।  चार सयजना शेयर सदस्य रहेको यस कृषि सहकारीले अहिले मासिक करिब रु नौ लाखको दूध बिक्री गर्दै आएको छ । हिउँदयाममा दूध उत्पादन धेरै हुने भएकाले दैनिक तीन सय ५० लिटरसम्म दूध सङ्कलन हुने गरेको छ । हिउँदमा दूधको माग कम र उत्पादन बढी हुने भएकाले पनिर र कुराउनी बनाएर बिक्री गरिँदै आएको छ । 

 गत आर्थिक वर्षमा सहकारीले रु ९० लाख बराबरको दूध बिक्री गरेको सहकारीका अध्यक्ष गोविन्दप्रसाद पौडेलले जानकारी दिए । जिल्लामा आवश्यकपर्ने दूधमध्ये २५ प्रतिशत आपूर्ति गर्ने र दूधको मात्रै वार्षिक रु एक करोड ५० लाख बराबरको कारोबार गर्ने लक्ष्यसहित सहकारीले दूध सङ्कलनको क्षमता विस्तार र किसानलाई भैँसीपालनतर्फ प्रोत्साहन गर्ने नीति लिएको अध्यक्ष पौडेलले बताए । 

यस सहकारीले किसानलाई व्यावसायिक बनाउन र दूधजन्य उत्पादन बढाउन साना किसान सहकारी विकास आयोजना पोखरासँगको सहकार्यमा ९ प्रतिशत ब्याजदरको सस्तो ऋणसमेत प्रवाह गर्दै आएको जनाएको छ । सिङगामा सहकारीले आफ्नै भवन र व्यावसायिक सटरसमेत निर्माण गरेको छ । छजना कर्मचारी राखेर सहकारीले बचत तथा ऋण कारोवारसँगै दूध सङ्कलन र वितरण तथा कृषि पेसा अगालेका शेयर सदस्यलाई तरकारी तथा फलफूलका बिरुवा वितरणको कामसमेत गर्दै आएको छ । सिंगासँगै सोही वडाको बास्कुना गाउँमासमेत बास्कुना कृषि सहकारीमार्फत किसानले दूध बिक्री गर्दै आएका छन् । यहाँका ५० जना किसान आबद्ध रहेको बास्कुना कृषि सहकारीले दैनिक दुई सय ५० लिटर दूध सङ्कलन गरेर सदरमुकाम बेनीमा बिक्री गर्दै आएको सहकारीका अध्यक्ष तिलक गुरुङले जानकारी दिए । 

उनका अनुसार, दूध बिक्री गरेर गाउँमा भाडाको खर्च कटाएर मासिक रु ६ लाख नगद भित्रने गरेको छ । वडा नं ४ का सिङगा, राक्से, तातोपानी, सोता, बास्कुनालगायतका टोलमा करिब एक सय घरधुरीले भैँसीपालन गरेर दूध बिक्री गर्दै आएको वडाध्यक्ष अणबहादुर खड्काले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप