बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

विपद् प्रतिकार्यमा प्रदेश सरकारले पहलकदमी लिन्छ : मुख्यमन्त्री कँडेल

बिहीबार, ३१ जेठ २०८१, २२ : २९
बिहीबार, ३१ जेठ २०८१

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले विपद् प्रतिकार्यका लागि प्रदेश सरकारले पहलकदमी लिने बताएका छन् ।  कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको आज वीरेन्द्रनगर सुर्खेतमा बसेको बैठकमा बोल्दै मुख्यमन्त्री कँडेलले मनसुन पूर्व विपद् प्रतिकार्य तयारीका लागि सबै विषयगत क्षेत्र तथा सरोकारवालालाई तयार रहन निर्देशन दिए ।

“ कर्णाली भूगोलका हिसाबले जोखिम छ”, उनले भने, “हाम्रै बलबुतामा काम गर्नुपर्छ । विपद्मा हामी सबै एक ठाउँमा आउनुपर्दछ ।” आपत परेपछि मात्र विपद् जोखिम प्रतिकार्यका बारेमा सोच्ने तर अरु बेला योजना बनाउनमै रमाउने संस्कारको अन्त्य हुनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कँडेलले विपद्मा बिगतका अभ्यासलाई सिकाइका रुपमा लिएर आइपर्ने समस्या र चुनौतीसँग जुध्ने क्षमता निर्माण गर्नुपर्ने बताए ।

रु एक करोड बजेट छुट्याएर सामग्री बिनाको गोदाम बनाउने कार्यलाई निरुत्साहित गरी राहत वितरणको तरिकालाई आगामी दिनमा न्यायोचित बनाइने उनको भनाइ छ । 

विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले ‘कर्णाली प्रदेश विपद् पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८१’ र ‘कर्णाली प्रदेशको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८१’ स्वीकृत गरी कार्यान्वयन गराउने निर्णय गरेको छ । विपद् व्यवस्थापनमा कर्णाली प्रदेशमा क्रियाशील विभिन्न साझेदार संस्थाहरुलाई विषयगत समूहहरुसँग समन्वय गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहयोग पु(याउन अनुरोध गर्ने निर्णय गरिएको छ । 

विपद्का समयमा र विपद्पश्चात् विद्युत्, टेलिफोन, दमकल, खानेपानी, स्वास्थ्य उपचार, एम्बुलेन्स जस्ता अनिवार्य सेवाको सुनिश्चिता हुने गरी आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गर्नेलगायतका आठ बुँदे निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेश विपद् महाशाखाका प्रमुख कृष्णबहादुर रोकायले जानकारी दिए ।

प्रमुख रोकायले बैठकमा प्रदेश विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, मनसुन पूर्वको तयारी, विपद्सँग सम्बन्धित विषयगत समूहको सक्रियतालगायतका विषयमा प्रस्तुति गरेका थिए । बैठकमा नौ विषयगत क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरुले विपद् तथा मनसुन पूर्वको तयारी र प्रतिकार्यका बारेमा जानकारी दिएका थिए । उनीहरुले विपद् तथा मनसुन पूर्वको तयारी र प्रतिकार्यका लागि चाहिने तालिम प्राप्त जनशक्ति, त्यसमा व्यवस्थापन गर्नुपर्ने बजेट र खेल्नुपर्ने भूमिकाका बारेमा धारणा राखेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप