प्रचण्ड सरकार ‘टिकाउने’ यस्तो छ ओलीको रणनीति
काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले आगामी आर्थिक बर्षका लागि संसद्मा पेस गरेको बजेटप्रति सत्तारुढ दल नेकपा एमालेसहित साझेदार दलहरू सन्तुष्ट देखिएका छैनन् ।
आर्थिक वर्षको विनियोजित बजेटप्रति एमालेले असन्तुष्टि जनाउँदा सत्ता साझेदार दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) सरकारको कार्यशैलीसँगै बजेटप्रति पनि सन्तुष्ट हुन सकेका छैनन् ।
बजेटमा एमाले अनि रास्वपा र एकीकृत समाजवादी सरकारको कार्यशैलीप्रति असन्तुष्ट देखिएपछि बजेट पास हुने कि नहुने भन्ने आशङ्का र अड्कलबाजीसँगै सरकारको भविष्यलाई नै लिएर राजनीतिक वृत्तमा विभिन्न टीकाटिप्पणी र अड्कलबाजी भइरहेका छन् ।

संसद्को क्यालेन्डर अनुसार यही असार ७ गते बजेट पास गर्ने तयारी छ । तर सत्ताको सबैभन्दा ठुलो दल एमालेले बजेटमा विरोध गरेपछि विपक्षीहरूलाई टिप्पणी गर्ने मसला बनेको छ ।
त्यसो त आफू नेतृत्वको सरकारको काम र गतिप्रति स्वयं प्रधानमन्त्री प्रचण्ड पनि ‘खुस’ छैनन् । आफ्नै नेतृत्वको सरकारको कामको गतिप्रति प्रचण्ड खुस छैनन् भन्ने उनको पछिल्लो अभिव्यक्तिबाट पनि पुष्टि हुन्छ ।
यद्यपि प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रम र बजेट जनता र राष्ट्रको पक्षमा आएकाले संसदबाट पारित हुने भन्दै बजेटकै कारण सत्ता समीकरण र वर्तमान सरकार तलमाथि नहुनेमा ढुक्क देखिएका छन् ।
सोमबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रचण्डले भने, ‘सुशासन, सामाजिक न्याय र सम्मृद्धिको क्षेत्रमा पनि थुप्रै सकारात्मक पहलहरू अगाडि बढेका छन् त्यसकारण यो सन्तोषजनक छ । तैपनि विगतमा भनेजस्तै राष्ट्र र जनताको अपेक्षामा अझ गति दिनचाहिँ आवश्यक छ भन्ठान्छु ।’
विमानस्थलमा सञ्चारकर्मीले एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति देखाएको असन्तुष्टिसँगै तपाईँले हात उठाउने बेला भएको हो ? भनेर गरेको प्रश्नमा प्रचण्डले एमालेको असन्तुष्टि अस्वीकार गरे । बजेटमा एमालेले असन्तुष्टि गरेजस्तोमात्र देखाएको तर वास्तविकता त्यो नभएको प्रचण्डले जवाफ छ ।

‘असन्तुष्टि जस्तोमात्रै गर्नुभएको हो,साँच्चै गर्नुभएको छैन’, प्रधानमन्त्री प्रचण्डको दाबी छ ।
सत्तासमीकरण बारे बाहिर चलाइएका ‘अफवाह’ मा कुनै सत्यता नभएको भन्दै प्रचण्डले सत्ता समीकरण राम्रैसँग अघि बढ्ने विश्वास व्यक्त गरे ।
रास्वपाका तर्फबाट मन्त्री बनेका नेताहरूले राजीनामा गोजीमा राखेर हिँडेको भन्ने अभिव्यक्तिबारे पत्रकारले सोधेको प्रश्नमा पनि प्रधानमन्त्री प्रचण्डले रास्वपाको पहिचानसँग जोडेर जवाफ दिए ।
‘त्यो त रविजीले सुरुमै भन्नुहुन्थ्यो नि, हामी त्यस्ता हौँ भनेर । त्यो चाहिँ अब आफ्नो पहिचानको निम्ति पनि उहाँहरूलाई भन्नुपर्ने आवश्यकता होला,’ प्रचण्डले थपे, ‘तर मैले बुझ्दा त्यस्तो केही पनि छैन ।’
यसअघि शनिबारमात्रै रास्वपा स्थापना दिवसका अवसरमा खेलकुद मन्त्री समेत रहेका रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने समय भएको भन्दै आफूहरूले खल्तीमा राजीनामा बोकेर हिँडेको बताएका थिए ।
सोही दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि पार्टी संसदीय दलको बैठक बोलाएर अर्थमन्त्रीले गरेको बजेट विनियोजन र सरकारको कार्यशैलीप्रति असन्तुष्टि पोखेका थिए ।
‘हामी सरकारमा किन भएको भन्दा देशलाई गरिबीतिर जानबाट रोकेर विकासतर्फ अगाडि बढाउनका लागि हो । त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने,’ओलीको प्रश्न थियो ।

यसअघि बजेटमा जनयुद्ध शब्द राखेकोमा असन्तुष्टि जनाएका ओलीले त्यस दिन भने देशलाई गरिबीतिर जानबाट रोकेर विकास गर्न एमाले सरकारमा गएको तर विकास नै नभएपछि सन्तोष गर्ने ठाउँ नरहेको भन्दै बजेटमा खुलेर छलफल गर्न आफ्ना सांसदहरूलाई निर्देशन नै दिएका थिए ।
‘हामीले नै चलाइरहेका मन्त्रालयहरूको कस्तो छ स्थिति ? त्यसमा कस्तो छ त्यसको विनियोजन ? त्यो पनि हेर्नुपर्ने हुन्छ । यी सबै विषयमा साथीहरूले खुलेर छलफल गर्नुस्’, ओलीको भनाइ थियो । त्यसो त बजेटमा असन्तुष्टि जनाउँदा जनाउँदै पनि प्रधानमन्त्री प्रचण्डको सरकार जोगाउन अध्यक्ष ओली आफै सक्रिय छन् । कुनै असमझदारी वा असन्तुष्टि देखिए रास्वपा, एकीकृत समाजवादी, अशोक राई नेतृत्वको जसपा लगायतसँग ओली आफै प्रत्यक्ष अप्रत्यक्ष संवाद गर्ने गरिरहेका छन् । ‘प्रचण्ड प्रधानमन्त्री हुनुहुन्छ तर सरकार र समीकरण जोगाउन प्रचण्ड भन्दा बढी ओली सक्रिय भूमिकामा हुनुहुन्छ’, एमालेका एक नेताको भनाइ छ ।
के भन्छन् साझेदार दलका नेता ?
सत्ता साझेदार दल नेकपा एमालेका उपाध्यक्ष समेत रहेका विष्णु पौडेलले बजेटलाई जोडेर सत्ता समीकरणबारे चलाइएका हल्लामा कुनै सत्यता नभएको दाबी गर्छन् ।

‘हाम्रो नीति यो सरकारलाई २०८४ सम्म अघि बढाउने नै हो । कुनै पनि प्रकारका समस्या आउन नदिने । कांग्रेसलाई प्रतिपक्षमा राखेर ०८४ को चुनावमा जाने हो’, पौडेलको भनाइ छ । एमालेले पछिल्लो समय बजेटमा असन्तुष्टि जनाएर प्रचण्डको विकल्प खोज्ने सङ्केत गरेको हो ? भन्ने रातोपाटीको प्रश्नमा नेता पौडेलले भने, ‘त्यो दुई सय प्रतिशत गलत हो । त्यो कसैले मिस इन्फम गरेको हो ।’
उनले सरकारमा सहभागी दलहरूका बारेमा अविश्वास पैदा गर्ने उद्देश्यले गरेको प्रायोजित प्रचारमा विश्वास नगर्न आग्रह समेत गरे । ‘अहिले सरकारमा सहभागी दलहरूका बारेमा अविश्वास पैदा गर्ने उद्देश्यले गरेको प्रायोजित प्रचार हो । त्यो प्रायोजित प्रचारमा कसैले विश्वास गर्न जरुरी छैन’, पौडेलको भनाइ छ । त्यसो त एमालेले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने गरी आफ्नो सम्पूर्ण गतिविधि केन्द्रित गरेको छ । विकास र सम्मृद्धिको जनताको चाहाना पुरा गर्न एमालेले एक्लै बहुमत ल्याउन आवश्यक रहेको बताउँदै आएको छ । सोही कारण एमालेले सरकार सञ्चालनका सवालमा देखिएका सानातिना असमझदारी र असन्तुष्टिलाई सामान्य ढंगले लिने नीति बनाएको एमालेका एक नेताको भनाइ छ ।
‘हाम्रो नीति सानातिना कुरामा नअल्झने छ । जसरी हुन्छ यो गठबन्धन टिकाउने र निर्वाचनमा बहुमत ल्याउने नै हो’, एमालेका एक नेताले भने,‘ सरकारले कमजोरी गरे औँल्याउने र राम्रा कामको प्रशंसा गर्ने मूल नीति हो । यही नीति लिएर हामी ०८४ सम्म पुग्छौँ ।’
त्यस्तै रास्वपाका नेता शिशिर खनालले सरकारमा सहभागी भएर जनताका काम जसरी गर्ने सोच हो त्यही अनुसार बजेट विनियोजन नहुँदा सामान्य असन्तुष्टि देखिएको स्वीकारे । तर, सत्ता समीकरणको विकल्पमा गइहाल्ने भन्ने कुरामा कुनै सत्यता नभएको उनको दाबी थियो ।

उनले रास्वपा नेताहरूबाट गोजीमा राजीनामा बोकेर हिँडेकोबारे व्यक्त अभिव्यक्ति नयाँ नभएर पुरानै भएको पनि बताए ।
‘हामी अहिले सरकारमा सहभागी छौँ तर हामीले खोजेको र सोचेजस्तोगरी काम गर्न सकिएन,पाइएन र वातावरण भएन भने सरकार छोड्न कुनै दिनपनि तयार हुन्छौ भन्ने नयाँ लाइन होइन । पहिला पनि भनेकै हौँ’, खनालले भने, 'पछिल्लो समय क्याबिनेटका साथीहरूलाई बजेट निर्माणका क्रममा सही मूल्याङ्कन भएन भन्ने असन्तुष्टि मात्र हो ।’
अहिले तय गरेको बजेटले बर्षभर काम गर्नुपर्ने भएकाले पनि बजेट र नीति तथा कार्यक्रम बनाउँदा चित्तबुझ्दो भएन भन्नु स्वाभाविक रहेको बताए । उनले नेताहरूले व्यक्तिगत ढङ्गले बोलेपनि पार्टीभित्र यसबारे कुनै छलफल भइनसकेको दाबी गरे ।
नेकपा एकीकृत समाजवादीका प्रभावशाली नेता सोमप्रसाद पाण्डे आफ्नो पार्टीसँग सरकार र सत्ता गठबन्धनमा रहेका ठुला दलले कम सल्लाह गर्ने गरेपनि कार्यशैलीलाई लिएर पार्टीमा खासै असन्तुष्टि नरहेको बताउँछन् । ‘पहिलाजस्तो अहिले छैन । धेरै कुरा मिल्दै गएको छ । बाँकी कुरा मिलाउने क्रममा नेताहरू छलफल गरिरहनुभएको छ’, पाण्डेले भने, ‘हामीले यो सरकारलाई सुरुबाटै आलोचनात्मक समर्थन गर्छौ भनेका हौँ अहिले पनि त्यसमा कुनै परिवर्तन छैन ।’
उनले बजेटसँग जोडेर बाहिर हुने गरेका टिकाटिप्पणीमा कुनै सत्यता नभएको पनि बताए । ‘हामी बजेट पास गर्ने पक्षमा छौ’, पाण्डेले रातोपाटीसँग भने, ‘बजेटमा हाम्रो पार्टीले असहयोग गर्छ भनेर कसैले भन्छ भने त्यो गलत हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रीहरूले लिए शपथ
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण