बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

थुलुङ दुधकोशीले ल्यायो ६० करोडभन्दा बढीको बजेट

सोमबार, १० असार २०८१, २० : १६
सोमबार, १० असार २०८१

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करिब ६१ करोड रुपैयाँको बजेट ल्याएको छ । थुलुङ दुधकोशी गाउँपालिकाको दोस्रो गाउँसभाको पाँचौँ अधिवेशनमा ६० करोड ६० लाख २८ हजार रुपैयाँको बजेट पेस भएको छ ।

नेपाल सरकारको वित्तीय समानीकरण अनुदान १२ करोड २८ लाख र प्रदेश सरकारको ७८ लाख ९ हजार गरी जम्मा १३ करोड ६ लाख ९ हजार रुपैयाँ बजेटको स्रोतका रूपमा राखिएको छ । यस्तै सशर्त अनुदान ३३ करोड ४७ लाख ४७ हजारमा नेपाल सरकारको ३२ करोड ३२ लाख र प्रदेश सरकारको १ करोड १५ लाख ४७ हजार रुपैयाँ रहेको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जनाए ।

नेपाल सरकारको विशेष अनुदान १ करोड २५ लाख, राजस्व बाँडफाँटमा सङ्घीय सरकार र प्रदेश सरकारको जम्मा ९ करोड २० लाख ७८ हजार रुपैयाँ छ ।

पालिका उपाध्यक्ष सविता राईले पेस गरेको बजेट गाउँसभाबाट पारित भएको छ ।

नीति तथा कार्यक्रममा उत्पादनलाई जोड

थुलुङ दुधकोशी गाउँपालिकाले खानेतेल र कफीमा आत्मनिर्भर हुने लक्ष्य आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । जसका लागि गाउँपालिकाको उपयुक्त क्षेत्रमा तोरी खेती गर्ने तथा मिलहरू स्थापना गर्ने र मिलबाट उत्पादित तेललाई प्याकेजिङ, लेबलिङ र बजारीकरण गर्ने कार्य गरिने बताइएको छ ।

यस्तै, गाउँपालिका र स्थानीय जनता, सहकारीहरू, उद्योगी, व्यवसायीहरूको संयुक्त लगानीमा सार्वजनिक निजी सहकार्यको मोडेलमा एक गाउँ विकास सहकारी स्थापना गरी कृषि ऋणको व्यवस्था गर्ने र सहकारी मार्फत स्थानीय उत्पादनको बजारीकरण गरिने नीति गाउँपालिकाले लिएको छ ।

गाउँपालिकालाई कृषि र पर्या–पर्यटनको लागि आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकसित गर्दै सुकेपोखरी क्षेत्रलाई सांस्कृतिक तथा पर्या–पर्यटनको लागि विस्तार र प्रचार गर्दै लैजाने नीति पनि पालिकाले लिएको छ ।

७० वर्षभन्दा माथिका एकल महिलालाई गाउँपालिका र वडा कार्यालयहरूबाट सिफारिस दिँदा निःशुल्क उपलब्ध गराउने बताइएको छ । गाउँपालिका र वडाहरूलाई बालमैत्री घोषणा गर्न आवश्यक तयारी थालनी गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

गाउँपालिकामा एउटा ज्येष्ठ नागरिक हेरचाह केन्द्र स्थापना गरी सञ्चालन गरिने तथा ८० वर्षभन्दा माथिको ज्येष्ठ नागरिकलाई गाउँपालिका र वडा कार्यालयबाट सिफारिस दिँदा निःशुल्क उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाभित्रका नागरिकको मृत्यु भएमा गाउँपालिकाको गाउँप्रहरीद्वारा सलामी अर्पण गरी समवेदना पत्रसहित आर्थिक सहयोग गरिने कार्यक्रम रहेको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।

यस्तै विद्यालयका प्रधानाध्यापकलाई दिने भत्तासमेत बढाइएको छ । यस अघि माध्यमिक तहको प्रधानाध्यापकले मासिक १ हजार भत्ता प्राप्त गर्दै आएका थिए भने अब उनीहरूले मासिक २ हजार प्राप्त गर्नेछन् । यस्तै आधारभूत तह १–८ ले १ हजार ५ सय र १–५ ले १ हजार मासिक भत्ता प्राप्त गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप