आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रतिनिधिसभा बैठक

संसदीय अभ्यासमा गडबड : कांग्रेसको संशोधन छुटाइएपछि रोष्टममा बोल्न नपाई सांसद साह फर्काइए

आइतबार, १६ असार २०८१, १६ : ३३
आइतबार, १६ असार २०८१

काठमाडौँ । संसद् सचिवालयले बनाएको कार्यसूचीमा भएको त्रुटिका कारण रोष्टममा बोल्न सुरु गरेका सांसद किरणकुमार साह फर्काइएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक २०८१ माथि छलफल भइरहेको थियो । बैठकमा सो विधेयकमाथिको संशोधन प्रस्ताव नेमकिपा सांसद प्रेम सुवालले प्रस्तुत गरेपछि सभामुख देवराज घिमिरेले सो विधेयकमाथिको छलफलमा भाग लिन ३ मिनेटको समय दिए । 

सुरुमा उनले सांसद किरणकुमार साहलाई बोल्न समय दिए । साहले बोल्न सुरु गर्नेवित्तिकै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नियमापत्ति प्रकट गरे । उनले संसद् सचिवालयबाट बेला बेला गम्भीर खालका लापरबाहीहरू हुने गरेको बताए । 

उनले भने– ‘मैले आजको कार्यसूची हेरेँ, कांग्रेसको तर्फबाट प्रस्तुत आर्थिक विधेयक २०८१ मा माननीय डा.आरजु राणा क्रम सङ्ख्या २०, दिलेन्द्र बडू क्रम सङ्ख्या ८६, डा. प्रकाशशरण महत र श्यामकुमार घिमिरेजीले २०८१ असार १४ गते संशोधन हाल्नुभएको मसँग कपि छ । दर्ता नम्बर ८ मा यो दर्ता भएको छ, मैले आज कार्यसूची पनि हेरेँ तर माननीयज्यूहरूको संशोधन नै यहाँ छैन । यस्तो हुन्छ र ?’

लेखकले बैठक स्थगित गरेर संशोधनहरू छन् कि छैनन् ? छैनन् भने किन छैनन् ? ती संशोधनहरूलाई समावेश गरेर अनि मात्र बैठक अघि बढाउन आग्रह गरे । 

त्यसपछि सभामुख देवराज घिमिरेले संसद् सचिवालयका कर्मचारीसँग सल्लाह गरेर त्यसबारेमा ध्यानाकर्षण भएको बताए । उनले आफूले बुझे अनुसार ती कांग्रेस सांसदको संशोधन लगानी सहजीकरण सम्बन्धी विधेयकका लागि आएको हो भन्ने खबर आएको र आर्थिक विधेयकमाथि दर्ता भएको खबर नआएको बताए । मिस्टेक भएको हो भने पछि भन्न सकिने तर अहिले आर्थिक विधेयकमा संशोधन दर्ता नभएको भन्ने कुरा आएको बताए । उनले आर्थिक विधेयकमाथिको छलफललाई अघि बढाउन आग्रह गरे । 

त्यसपछि फेरि कांग्रेस प्रमुख सचेतक लेखकले सभामुखको रुलिङ स्वीकार गर्नुपर्ने तर कांग्रेसलाई लगानी सहजीकरण विधेयक र आर्थिक विधेयकको बारेमा थाहा नहोला र भन्दै प्रश्न गरे । 

सभामुखले छलफलमा सहभागी हुन आग्रह गर्दै आफूले आएको सूचनालाई सम्प्रेषण गरेको मात्रै बताए ।  फेरि लेखकले आजको बैठकको कार्यसूचीमा लगानी सहजीकरणको विषय नै नरहेको र त्यसमा पनि संशोधन रहेको बताए । आजको कार्यसूचीमा रहेको आर्थिक विधेयकमाथि ४ जना कांग्रेस सांसदको संशोधन रहेको उल्लेख गरे । उनले कांग्रेस संसदीय दलको कर्मचारीले सम्बन्धित शाखामा गएर दर्ता नम्बर ८ मा दर्ता गरेर कागज ल्याएको बताए । यो गम्भीर प्रकृतिको त्रुटी भएको भन्दै आफूले ध्यानाकर्षण गराएको उल्लेख गरे । 

त्यसपछि रघुजी पन्तले विषय गम्भीर रहेको बताउँदै संसद् बैठक केहीबेर रोकेर कांग्रेसले भनेझैँ आज प्रस्तुत भएकै विषयमा संशोधन दर्ता गराएको भए छलफलमा आउनुपर्ने बताए । यदि होइन रहेछ संसद् बैठक अघि बढाउन र कांग्रेसले उठाएको विषय जाँच गर्न आग्रह गरे । 

त्यसपछि सभामुख घिमिरेले सचिवालयका कर्मचारीसँग छलफल गरेर आर्थिक विधेयकमाथि संशोधन राखेका कांग्रेस सांसदलाई विधेयकमाथिको छलफलमा भाग लिन आग्रह गरे । त्यसपछि संशोधन राखेका कांग्रेस सांसद दिलेन्द्र बडूले आसनबाट उठेर संशोधन दर्ता गर्ने ४ सांसदमध्ये आफू पनि एक जना रहेको बताए । 

उनले भने– ‘संशोधन गरेको पत्र हाम्रो हातमा छ, दर्ता नम्बर ८ नै हो । २०८१ असार १४ मा दर्ता भएको छ र समयभित्र दर्ता भएको छ ७२ घण्टाभित्र । छलफलमा भाग लिउँला वा नलिउँला तर छुट्न किन गयो ? यो गम्भीर विषय हो । किन रेकर्डमा आउन सकेन यो गम्भीर विषय हो । कम्तीमा यो गम्भीर विषय दोहोरिन भएन ।’

त्यसपछि फेरि सभामुखले सचिवालयका कर्मचारीसँग छलफल गरे । त्यसपछि रोष्टममा पुगेर रोकिएर बसेका सांसद किरणकुमार साहलाई सिटमा गएर बस्न आग्रह गरे । उनले संशोधन प्रस्ताव दर्ता गर्ने आरजु राणालाई समय दिए । तरण राणा बैठकमा थिइनन् । त्यसपछि प्रकाशशरण महले उठेर ध्यानाकर्षण गराए ।

सभामुखले बोल्न दिएपछि संशोधन राख्ने ४ जनामध्ये आफू पनि रहेको बताएपछि रोष्टममा आएर बोल्न सभामुखले समय दिएपछि रोष्टममा आएर आर्थिक विधेयकमाथि राखेको संशोधनका विषयहरू प्रस्तुत गरे । उनीपछि दिलेन्द्र बडूले आफ्नो संशोधनका प्रस्तावहरू प्रस्तुत गरे । त्यसपछि फेरि विधेयकमाथिको छलफलका लागि उनले किरणकुमार साहलाई समय दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप