पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान
काठमाडौँ । पारा तथा विशेष खेलकुदअन्तर्गत भारोत्तोलनमा मंगलबार ४ नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ । चारै कीर्तिमान पुरुषको स्पर्धामा बनेको हो । चारमा दुईले आफ्नै नाममा रहेको कीर्तिमान सुधारे भने दुई खेलाडीले अरूको कीर्तिमान तोड्दै स्वर्ण जितेका हुन् ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको पुरुष ७२ केजीमाथि बागमती प्रदेशका आशिष मानन्धरले १४५ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरे । उनकै नाममा १३० केजीको कीर्तिमान थियो । कर्णाली प्रदेशका किरणकिशोर सापकोटा दोस्रो तथा कोशी प्रदेशका सुपर राई तेस्रो भए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगिताको पुरुष ५९ केजीमा सुदूरपश्चिम प्रदेशका सुरेश विष्टले ८६ केजी तौल उठाउदै राष्ट्रिय कीर्तिमान बनाए । ८५ केजीको कीर्तिमान दीपक तिमल्सिनाको नाममा थियो । कोशीका सोमनाथ राई दोस्रो तथा बागमतीका मानबहादुर राना मगर तेस्रो बने ।
पुरुष ६५ केजीमा बागमतीका दीपक खड्काले १०१ केजी वजन उचाल्दै राष्ट्रिय कीर्तिमान कायम गरे । उनले ठाकुर श्रेष्ठको ९० केजीको कीर्तिमान भङ्ग गरे । बागमतीका विरु ढुंगानाले रजत तथा लुम्बिनीका लक्ष्मण नेपालीले कांस्य प्राप्त गरे ।
पुरुष ५४ केजीमा बागमतीका ठाकुर श्रेष्ठले १०० केजी भार वहन गर्दै कीर्तिमानी स्वर्ण जिते । उनले आफ्नै नाममा रहेको ९० केजीको कीर्तिमानमा सुधार गरे । गण्डकी प्रदेशका पवन घर्ती मगर दोस्रो तथा बागमतीका दीपक तिमल्सिना तेस्रो स्थानमा रहे ।
पुरुष ४९ केजीमा बागमतीका मनीष पुन मगरले स्वर्ण चुमे । उनले ५० केजी वजन उठाए । कर्णालीका रुपलाल बस्नेतले रजत तथा कोशीका अजित खातीले कांस्य हात पारे । पुरुष ७२ केजीमुनि बागमतीका राजाराम सिलवाल पहिलो भए । उनले ८० केजी तौल उचाले । लुम्बिनीका नारायण तिमल्सिना दोस्रो तथा बागमतीका रामकाजी मगर तेस्रो भए ।
विजेतालाई राखेपकी अध्यक्ष एवं प्रतियोगिता संयोजक पेमा डोल्मा लामा, राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालका अध्यक्ष टेकबहादुर गुरुङलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे । दुई दिने प्रतियोगितामा मधेस बाहेक ६ प्रदेशका ४२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुषमा ६ र महिलामा ३ गरी ९ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु
-
कांग्रेस नेता निधि निवासमा तीन नेताबिच छलफल
-
बैंकिङ क्षेत्र चम्किँदा बढेर बन्द भयो सेयर बजार, ४ अर्ब माथिको कारोबार
-
शून्यबाट वैज्ञानिकहरूले बनाए कृत्रिम जीवित कोष
-
कर्णाली प्रदेश सभा बैठकमा हङ्गामा
-
रुसको मिसाइल र ड्रोन आक्रमणमा किभमा कम्तीमा १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण