आइतबार, २३ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कलाकार

अनि गाएँ ‘डाँडाघरे साइँली’

बुधबार, ०२ साउन २०८१, ०९ : २५
बुधबार, ०२ साउन २०८१

काठमाडौँ । सरुमै रानीको यति राम्रो मुहार त्यसै किन हेर्थे र
हेर्छु खामै राखेर, खाममा दामै राखेर

माथिका शब्द गायक स्वरूपराज आचार्यको नयाँ गीत ‘सरुमै रानी’को हो । लोकशैलीमा तयार यो गीतमा शब्द तथा सङ्गीत एकनारायण भण्डारीको छ ।

स्वरूपले लोकशैलीको गीतमा पहिलो पटक स्वर दिएका हुन् । प्रयोगको रूपमा आफूले लोकशैलीको गीतमा स्वर दिएको उनले बताए ।

‘आधुनिक, वियोग, भजन, गजल, राष्ट्रिय र पार्श्व गरेर अनेक रसका गीत गाएको छु’, उनले भने ‘लोकशैलीको के होला, कस्तो होला भन्दै डराइडराइ गाएको थिएँ ।’

पहिलो पटक गाएको यो शैलीको गीत दर्शकश्रोताले मन पराउँदै सकारात्मक प्रतिक्रिया दिएको उनी सुनाउँछन् ।

swaroopraj acharya (1)

गीतकार तथा संगीतकार एकनारायण भण्डारी लोकगीतमा महाराजको रूपमा चिनिन्छन् । उनको थुप्रै लोकदोहोरी गीत साङ्गीतिक बजारमा हिट छन् ।

एकनारायणका ‘हो ढलेँ म ढलेँ’, ‘जोडेको नाता’, ‘मेरो जीउने आधार टुट्यो’, ‘छातीभरि भाला रोपी’ लगायत गहकिला शब्दमा थुप्रै प्रेम, वियोग लगायतका गीत स्वरूपले गाएका छन् । लोकशैलीको गीत भने यो पहिलो हो ।

‘सङ्गीतरूपी वृक्षको विभिन्न हाँगामा बस्न मन लाग्छ । कहिले एउटा हाँगामा, कहिले अर्को हाँगामा’, स्वरूपराजले थपे, ‘मेरो सङ्गीतको सुरुवात पाश्चात्यबाट भयो । गायनको यो यात्रामा लोकशैलीको गीतमा बल्ल अवसर मिल्यो ।’

विभिन्न कारणले सुगम र आधुनिक गीत नै धेरै गाएका उनलाई पब्लिकले वियोगका गीतबाट धेरै चिन्ने गरेका छन् । स्वरूपराज भन्छन्, ‘अन्य शैलीका गीत झैँ यो गीतमा पनि पब्लिकको माया र आशीर्वादको अपेक्षा छ ।’

मानिसले लोकशैलीलाई हल्का रूपमा हेरेको पाएका उनी लोकशैली नेपालीको पहिचान भएकाले हात बढाएको सुनाउँछन् । गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र मोडल उषा उप्रेतीको अभिनय देख्न सकिन्छ । युवायुवतीको एक–अर्काप्रतिको प्रेम र आकर्षणलाई भिडियोमा उतारिएको छ ।

  • अनि गाएँ ‘डाँडाघरे साइँली’

अनेक शैलीको गीत गाउन रुचाउने स्वरूपराज लोकदोहोरीमा अब्बल देखिएका छन् । उदाहरणको रूपमा ‘डाँडाघरे साइँली’लाई लिन सकिन्छ । सुरुमा उनले गाउन आँट गर्न नसकेको यो गीतले लोकदोहोरी गायनमा समेत उनलाई चर्चित बनाएको छ ।

‘डाँडाघरे साइँली’ उनलाई सङ्गीतकार श्रीकृष्ण बम मल्ल र गीतकार कृष्ण केसीले दिएका थिए ।

‘सुरुमा यो गीत मैले आँट्न सकिन । मबाट यो गीत मर्छ । अरूलाई दिनुस् न भनेँ’, स्वरूपले भने, ‘सङ्गीतकार र गीतकारले जिद्दी गरेपछि प्रयास गरेँ । गीत राम्रो भयो ।’

अन्य गीत गाउन आफूलाई त्यति समय नलाग्ने भए पनि यो गीतका लागि २ घण्टा लागेको उनले खुलाए ।

‘यो गीतबाट मैले धेरै कुरा सिक्न पाएँ,’ उनले भने, ‘यो दर्शक–श्रोताले अत्यधिक मन पराउनु भयो । त्यसपछि मैले लगातार लोकदोहोरीमा गाउन थाले ।’

‘डाँडाघरे साइँली’पछि पश्चिमेली, पूर्वेली लोकदोहोरीदेखि देउडासम्मका दोहोरी आफूले गाएको स्वरूप बताउँछन् । उनले भने ‘लोकगीत मार्फत मेरो नेपाली मौलिक गीतमा भिज्ने प्रयास जारी छ ।’

त्यसो त स्वरूपराज गीत गाउने सिलसिलामा जस्तो प्रस्ताव आउँछ, सबै स्विकार्ने गायकमा पर्दैनन् । प्रस्ताव आएका गीत पहिले उनी आफ्नो गलामा फिट हुन्छ कि हुँदैन भनेर हेर्छन् । फिट हुने देखे गाउँछन्, नत्र मबाट हुँदैन भन्छन् । यसरी धेरै गीतको छोडेको उनले जानकारी दिए ।

  • अब पाश्चात्य सङ्गीत

पछिल्लो समय लोकदोहोरी, लोकशैलीका गीतबाट चर्चामा रहेका स्वरूपले आधुनिक गीत छोड्ने हो कि भनेर धेरैले चिन्ता व्यक्त गरेका छन् । त्यो चिन्ता जायज रहेको स्वरूप बताउँछन् ।

‘मेरो पहिचान आधुनिक गीतबाट बनेको हो । तर म पछिल्लो समय लोकशैलीका गीतहरू गरिरहेको छु’, उनले भने, ‘लोकगीत चल्यो । कार्यक्रम पाएँ । अहिले यसैमा छु ।’

अहिले लोकगीतमा रमाए पनि आधुनिक गीत कहिल्यै नछोड्ने उनी सुनाउँछन् । उनले भने, ‘अहिले मलाई सबै प्रकारको गीत अप्रोच हुन्छ । आधुनिकदेखि फिल्मसम्म सबै प्रकारको गाइरहेको छु ।’

swaroopraj acharya (2)

सङ्गीत आफ्नो लागि भगवान, पूजा रहेको बताउने उनी पूजा हरेक किसिमबाट गर्न सकिने बताउँछन् ।

लोकगीत, पप, आधुनिक, राष्ट्रियदेखि भक्ति र वीर रसका गीतसमेत गाइसकेका स्वरूपलाई अहिले पाश्चात्य सङ्गीतमा रमाउन मन लागेको छ रे ।

त्यसो त पाश्चात्य सङ्गीतलाई नेपाली साङ्गीतिक क्षेत्रमा त्यति राम्रो मानिँदैन । यसलाई नेपाली सङ्गीत बिगारेको आरोपसमेत लाग्दै आएको छ । उनी भने पहिले देखि नै यो सङ्गीतमा रुचि भएकाले अब यसमा केही गर्न मन लागेको बताउँछन् ।

‘मैले सङ्गीतिको यात्रा पाश्चात्यबाट सुरु गरेको हो । सिक्दासिक्दै बिचमा ट्रयाक चेन्ज भयो’, उनले भने, ‘अहिले यो सङ्गीतमा केही गर्न मन छ ।’

एउटा गायकले सबै सङ्गीतलाई माया गर्नुपर्ने विचारका उनी पाश्चात्य सङ्गीतबाट धेरै सिक्न सकिने धारणा राख्छन् ।

फिल्मको गीतमा कोरस गायनबाट साङ्गीतिक यात्रा सुरु गरेका स्वरूपराज पछिल्लो समयका नेपाली साङ्गीतिक क्षेत्रका चर्चित र व्यस्त गायक पनि हुन् । सानैदेखि आफ्नो स्वरमा हिरो नाचेको हेर्न इच्छाले गायनतिर लोभिएका उनले अहिलेसम्म लोक, आधुनिक, फिल्मदेखि भजनसम्म गरेर ३ हजारभन्दा बढी गीतमा स्वर दिइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप

छुटाउनुभयो कि ?