कास्कीका ७ सहकारी : साढे ४ अर्ब ठगी, ३२ जना जेल चलान
पोखरा । कास्कीमा सहकारीको रकम घोटालाले हजारौँ बचतकर्ताहरू पीडित बनेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ७ ठुला सहकारीबाट बढी बचतकर्ता ठगिएका छन् ।
यसमध्ये सबैभन्दा धेरै प्राइम सहकारीबाट १ अर्ब ५४ करोड १५ लाख रकम अपचलन भएको छ । यो प्रकरणमा ६५ जना प्रतिवादी छन् भने २५ जना पक्राउ परेका छन् । १८ जना धरौटीमा रिहा हुँदा ७ जना पुर्पक्षका लागि थुनामा छन् ।
नेपाल सरकारका उच्च पदस्थ कर्मचारीसमेतको रकम अपचलनमा नाम जोडिएको छ । प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु थापाको मिलेमतोमा रकम अपचलन भएको हो ।
यसैगरी सूर्यदर्शन सहकारीबाट १ अर्ब ३५ करोड ५३ लाख ठगी भएको छ । सहकारीमा ४४ जना प्रतिवादीमध्ये ५ जना मात्रै पक्राउ परेका छन् । सबैजना पुर्पक्षका लागि थुनामा छन् । पूर्वगृहमन्त्री रवि लामिछानेको समेत नाम जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा थप २५ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
पीडितले दिएको जाहेरीका आधारमा पूरक अनुसन्धान गर्दा थप २५ जना विरुद्ध छानबिन हुनुपर्ने निष्कर्ष निकालेको प्रहरीले जनाएको छ । सहकारीको पुरानो सफ्टवेयर अनुसार २०६५ पछिका सञ्चालक समितिका पदाधिकारीलाई पनि पक्राउ पुर्जी जारी भएको हो ।
पीडितहरूले सूर्यदर्शन प्रकरणमा रास्वपा सभापति समेत रहेका पूर्व गृहमन्त्री लामिछाने सहित ४ व्यक्ति र १४ कम्पनी विरुद्ध पूरक छानबिनको माग गरेका थिए । त्यसपछि महानगरका विज्ञले अध्ययन गरेर नयाँ प्रतिवेदन तयार गरेको हो । पछिल्लो प्रतिवेदनमा पनि लामिछानेको नाम जोडिएको छ ।
इमेज सहकारीबाट ६४ करोड ८८ लाख अपचलन भएको छ । १५ जना प्रतिवादी छन् भने ५ जना पक्राउ परेका छन् । ४ जना धरौटीमा रिहा हुँदा २ जना पुर्पक्षका लागि थुनामा छन् । ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली सहितको संलग्नतामा इमेजको रकम हिनामिना भएको हो ।
शिवशिखरबाट ५४ करोड ५३ लाख ठगी भएको छ । ठगीको आरोपमा ११ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । त्यसमध्ये ४ जना मात्रै पक्राउ परेर जेल गएका छन् । मित्रमिलन सहकारीबाट ३१ करोड ७८ लाख ठगी भएको छ । ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएकोमा २० जना पक्राउ परिसकेका छन् । ११ जना धरौटीमा रिहा भए भने ९ जना कारागार चलान गरिएका छन् । बलिदानी सहकारीबाट १० करोड ५९ लाख ठगी भएको छ । १५ जना प्रतिवादीमध्ये ५ जना पक्राउ परेका छन् । २ जना धरौटीमा रिहा हुँदा ३ जना कारागार गएका छन् । विन्दवासिनी सहकारीबाट ७ करोड ६९ लाख ठगी भएको छ । ३१ जना आरोपीमध्ये १९ जना पक्राउ परेका छन् । १७ जनालाई धरौटीमा छोडिएको छ भने २ जना पुर्पक्षका लागि थुनामा छन् ।
सञ्चालक र कर्मचारी मिलेर कास्कीका दर्जनौँ सहकारीका रकम अपचलन गरिएका छन् । केही सहकारी विरुद्ध उजुरी पर्ने क्रम जारी छ । महानगरको सहकारी शाखामा सधैँजसो सहकारीले बचत फिर्ता नदिएको उजुरी पर्छ । उजुरीका आधारमा छानबिन सकेर मुद्दा प्रक्रियामा गएका सात सहकारीका रकम अपचलन आरोपमा २ सय १४ जना प्रतिवादी किटान गरिएको छ । हालसम्म ८४ जना पक्राउ परेका छन् भने ५२ जना धरौटीमा रिहा भएका छन् । यी सहकारीबाट मात्रै ४ अर्ब ५९ करोड १८ लाख रुपैयाँ ठगिएको विवरण प्राप्त भएको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए । ‘ऋणीतर्फको हेरिसकेको छैन । अध्ययन भइरहेको छ । रिपोर्ट के आउँछ हेरौँ,’ उनले भने, ‘त्यसपछि थप कारबाही अघि बढ्छ ।’ ठगी आरोपमा ३२ जना कारागार चलान भैसकेका छन् भने बाँकी फरार छन् । फरार रहेकाको खोजी भइरहेको एसपी थापाले जानकारी दिए । ‘पक्राउ पुर्जी जारी भएपछि आरोपीहरू फरार छन् । प्रहरीले खोजिरहेको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
-
बिहारमा विद्यार्थी आन्दोलन हिंसात्मक : प्रहरीद्वारा १० राउन्ड हवाई फायर, एसपी घाइते
-
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण : दर्जनौँ प्यालेस्टिनी पक्राउ
-
शिक्षामन्त्री प्रधानको राजीनामापछि जन्तर-मन्तरमा खुसीयाली (भिडियाे)
-
मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वासको प्रस्तावमाथि छलफल गर्न डाकिएको प्रदेशसभा बैठक बस्न ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण