पोखरा महानगरपालिका योजना आयोगका उपाध्यक्ष र सदस्यहरूले दिए राजीनामा
पोखरा । काम गर्ने वातावरण नपाएको भन्दै पोखरा महानगरपालिका अन्तर्गतको सहरी योजना आयोगका उपाध्यक्ष र सदस्यहरूले राजीनामा दिएका छन् । उपाध्यक्ष प्रेमलाल लामिछाने, सदस्यहरू होमनाथ गैरे र जयप्रसाद सापकोटाले बुधवार मेयर धनराज आचार्यलाई सामूहिक रूपमा राजीनामा बुझाएका हुन् ।
राजीनामा पत्रमा व्यक्तिगत कारणले राजीनामा दिएको भने पनि काम गर्न वातावरण नै नभएपछि बाध्य भएर छोडेको उनीहरुले बताएका छन् । ‘कतिपय कार्यपालिकाबाट निर्णय गराउनुपर्ने कुरा आयोगमा आउँछ । आयोगले निर्णय गरेपछि कार्यपालिका लगिन्छ,’ स्रोतले भन्यो, ‘गर्न नमिल्ने कुरा पनि नीतिगत स्वीकृतिका लागि आयोगमा ल्याएपछि गर्न सक्ने कुरै भएन । बरु छोडौँ भनेर छोडेको हो’ उनले के विषयमा दबाब दिएको भन्ने चाहिँ खुलाएनन् ।
उपाध्यक्ष प्रेम लामिछानेले चाहिँ नियुक्ति हुँदाका बखत बनाइएको ३३ बुँदे कार्य योजना कार्यान्वयन गर्न नसकेपछि राजीनामा दिएको बताए । ‘हामीले समय तोकेरै केही काम गर्छौँ भनेर कार्य योजना बनाएका थियौँ । त्यसलाई पूरा गर्न सकिएन,’ उनले भने, ‘अरू यावत कारणहरू पनि छन् । मुख्य कारण काम गर्ने जुन हुटहुटी छ, त्यसअनुसार काम हुन सकेको छैन । अनि राजीनामा दिएका हौँ ।’ सहरी योजना आयोग कार्यान्वयन तहसम्म पुग्ने भए पनि जनताले अनुभूति गर्ने गरी काम गर्न नसकेको उनको स्वीकारोक्ति छ ।
‘जनताले अनुभूति गर्ने गरी कार्यान्वयन तहमै काम गर्ने भूमिका हो । तर गृहनगर भए पनि काम गर्ने माहोल भएन । विकास व्यवस्थापन र सेवा प्रवाहका विषयमा थुप्रै गरौँला भन्ने सोचेको हो,’ उनले भने, ‘काम गर्न नसकेपछि र रिजल्ट ननिस्किएपछि नैतिकताकै आधारमा रहिरहन शोभनीय भएन । आफैँ सन्तुष्ट नभएपछि बसिरहेर भएन ।’
आयोगका सदस्यहरू सुरेन्द्रबाबु तिवारी र मन्दिरा पराजुलीले भने राजीनामा दिएका छैनन् । उनले आयोगमा ५ जनाको टिम ठुलो भएको प्रतिक्रिया दिएका छन् । ‘हरेक कुरा मितव्ययी हुनुपर्छ । ५ जना बढी भयो,’ उनले भने, ‘अब हामीभन्दा राम्रा मान्छे ल्याउँदा राम्रो भनेका छौँ । चुस्त टिम बनाउनुपर्छ भन्ने पनि हाम्रो आग्रह छ ।’
अघिल्लो वर्ष नियुक्त भएका उनीहरूको कार्यकाल ३ वर्ष बाँकी छ । सदस्य गैरेले मुख्य जिम्मेवारी सकेपछि राजीनामा दिएको बताए । ‘आवधिक योजना बनाउनुपर्ने थियो । मुख्य जिम्मेवारी सकियो । अरू नियमित काम हुन्,’ उनले भने, ‘व्यक्तिगत कामको चाप पनि बढ्दै गयो । अनि छोड्यौँ ।’ सामूहिक राजीनामाबारे प्रश्न गर्दा उनले विचार मिलेका कारण यस्तो भएको प्रतिक्रिया दिए । ‘सबैको विचार मिलेपछि एकैपटक छोडेका हौं । यो संयोग मात्रै हो,’ अघि भने, ‘नियतवश केही गरेका छैनौँ ।’
मेयर धनराज आचार्यले केही काम बाँकी भएकोले काम सकेपछि सल्लाह गरेर मात्रै राजीनामा स्वीकृत गर्ने बताए । ‘पञ्चवर्षीय योजनाको काम बाँकी छ । मध्यमकालीन खर्च संरचना बनाएर सकिएको छैन । पोखराको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण बनाउँदै हुनुहुन्छ,’ उनले भने, ‘त्यो काम सकिएपछि बिदा दिनुस् भन्नुभएको छ । हामी सल्लाह गरौँला ।’ आचार्यले अन्य दबाब आफ्नो तर्फबाट कहिल्यै नदिएको बताए ।
‘काम गर्ने क्रममा केही अप्ठ्यारा छन् । उहाँहरूले महसुस गर्नुभयो होला,’ अघि थपे, ‘मैले स्वतन्त्रपूर्वक काम गर्ने वातावरण दिएको छु । कुनै दबाब दिएको छैन । जे जति काम गर्नुभएको अत्यन्तै राम्रो गर्नुभएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनान : सञ्चार उपकरण विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो, ६०८ जना घाइते
-
पर्वतीय उडान सकेर काठमाडौँको स्काइवाकमा ‘डली चायवाला’
-
आइतबारसम्मका लागि धरहराको टिकट बुक
-
शीतल निवासमा सांस्कृतिक कार्यक्रम, तस्बिरहरु
-
संविधान अनुसार पटकपटक सत्तामा पुगेका दलले पनि मनाए ‘कालो दिन’
-
शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै सरकार ढल्छ : रवि लामिछाने