रिलायन्स स्पिनिङ मिल आईपीओ प्रकरण : धितोपत्र बोर्डले सीआईबीलाई पठायो जवाफ
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले रिलायन्स स्पिनिङ मिलको आईपीओको सम्बन्धमा प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई ४८ पृष्ठ लामो जवाफ पठाएको छ ।
बुक विल्डिङ प्रणालीमार्फत पहिलो पटक सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) जारी गर्न लागेको कम्पनीले महँगोमा सेयर सर्वसाधारणलाई भिराउन लागेको भन्दै कम्पनीविरुद्ध संसदीय समिति र सीआईबीमा उजुरी परेको थियो । उक्त मुद्दामा संसदीय समिति र सीआईबीले के कारणले कम्पनीलाई महँगोमा आईपीओ जारी गर्न अनुमति दिएको भन्दै नियामक धितोपत्र बोर्डसँग लिखित जवाफ माग गरेको थियो ।
यसअघि नै संसदीय समिति अन्तर्गतको सार्वजनिक लेखा समितिलाई लिखित जवाफ पठाइसकेको बोर्डले साउन २४ गते सीआईबीलाई ४८ पृष्ठ लामो जवाफ पठाएको हो ।
कम्पनीलाई बुक विल्डिङ्ग प्रणालीबाट आईपीओ जारी गर्न दिएको अनुमति र कम्पनीको वित्तीय रिपोर्ट अनुसार कहीँ कतै कमजोरी नभएको सेबोनले सीआईबीलाई लेखेको पत्रमा उल्लेख गरेको छ । रिलायन्सको वित्तीय विवरणमा कसुर नदेखिएकोले सीआईबिको थप अनुसन्धान समेत आवश्यक नभएको जवाफ धितोपत्र बोर्डले पठाएको स्रोतले जनाएको छ । जवाफ पत्रमा रिलायन्सको वित्तीय विवरण बदनियतपूर्वक भएको नभेटिएकोले थप अनुसन्धान आवश्यक नपर्ने उल्लेख छ ।
‘धितोपत्र सम्बन्धी ऐन २०६३ र सो अन्तर्गत बनेको धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३, धितोपत्र निष्कासन तथा बाँडफांड निर्देशिका २०७४ र बुक बिल्डिङ्ग निर्देशिका २०७७ अनुसार नै मूल्य निर्धारण गरिएको र कम्पनीको वित्तीय विवरण प्रमाणित गर्ने एसएआर एसोसीएट्सले रिलायन्सको २०८०/८१ को प्रथम त्रैमासको प्रति सेयर आम्दानी ०.९६ पैसा र २०८०/८१ कोप्रति सेयर आम्दानी ३२ रुपैयाँ ९० पैसा प्रक्षेपण गरेको र सो प्रक्षेपणमा धितोपत्र बोर्डमा पटक पटक अध्ययन अनुसन्धान भएको विषयलाई आधार मान्दा उक्त कम्पनीको वित्तीय प्रक्षेपण असम्भव वा बदनियतपूर्ण गरेको भन्न सकिने अवस्था नदेखिँदा धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९७ बमोजिमको कसुर गरेको भन्न सकिने अवस्था नदेखिएको र वित्तीय विवरणमा कुनै पनि किसिमको कसुर नभएकाले सीआईबिले थप अनुसन्धान गरिरहन आवश्यक समेत देखिँदैन’ धितोपत्र बोर्डले सीआईबीलाई लेखेको पत्रको निष्कर्षमा भनिएको छ ।
रिलायन्सको वित्तीय विवरण जालसाजीपूर्ण रहेको भन्दै उजुरी परेपछि यसबारेको सत्यतथ्य जानकारी दिन भन्दै सीआईबीले गत असार २६ गते सेबोनलाई पत्र पठाएको थियो । पत्र प्राप्त भएको ३० दिनभित्र अध्ययन गरेर त्यसको जवाफ दिनुपर्ने ऐनको व्यवस्था अनुसारधितोपत्र बोर्डले साउन २४ गते सीआईबिलाई पत्र पठाएको हो ।
पहिलो पटक बुक विल्डिङ्ग प्रणालीबाट आईपीओ जारी गर्न लागेको कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ७२० रुपैयाँ ८० पैसा प्रिमियम थप गर्दै प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले १९ करोड २६ लाख ६ सय कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको थियो । तर, कमजोर आर्थिक स्थिति रहेको अवस्थामा कम्पनीले महँगोमा सेयर बिक्री गर्न लागेको भन्दै विरोध भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओलीको चीन भ्रमण राष्ट्रिय हितका लागि : एमाले
-
दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पहिलो प्राथमिकता : पर्यटनमन्त्री
-
‘नीजि स्वार्थलाई हटाउने हो भने कम्युनिष्ट पार्टी एकताबद्ध हुन समय लाग्दैन’
-
८४ औँ गोपाष्टमी महोत्सवमा ७जनालाई निःशुल्क कृत्रिम खुट्टा वितरण
-
पाकिस्तान रेलवे स्टेशनमा विस्फोट, मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो
-
चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण