बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

लन्डनमा नेपाली मेला

मङ्गलबार, ११ भदौ २०८१, २० : ०९
मङ्गलबार, ११ भदौ २०८१

लन्डन । लन्डनको केम्पटन पार्क रेस कोर्समा आइतबार सम्पन्न १५ औँ नेपाली मेला भव्य रूपमा सम्पन्न भएको छ । लन्डनस्थित नेपाली दूतावाससँगको सहकार्यमा तमुधिं यूकेलेआयोजना गरेको नेपाली मेलामा यसपटक ८ हजार भन्दा बढी मानिसहरूको सहभागिता रहेको आयोजकको दाबी छ ।

मेलामा नेपाललगायत अन्य देशबाट आएका नेपालीहरूको पनि सहभागिता रह्यो। विभिन्न उमेर समूहका मानिसहरूको जमघट, नेपाली भेषभूषा र परम्पराले  गर्दा नेपाली मेलाले मिनी नेपालको झझल्को दिएको थियो ।

नेपालबाट बेलायत घुम्न आएका एकजना ७६ वर्षीय वृद्धाले भने ‘उहिले हाम्रा पालमा यस्ता नाचगान,बाजागाजा देख्न पाइन्थ्यो, आजकल त नेपालमा देख्न पनि पाइँदैन, सुन्न पनि पाइँदैन ।‘ यहाँ आएपछि उहिलेको याद आइरहेछ, आफू नेपालमै भएको जस्तो रमाइलो लागेको छ, उनले भने ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका हरेक क्षेत्रलाई समेटिएका विभिन्न खालका सांस्कृतिक झाँकीहरू, सिली साकेला, लाखे, ट्होंटे, सालैजो जस्ता डेढ दर्जन विभिन्न खालका नृत्यहरू प्रस्तुत गरिएको थियो । सांस्कृतिक झाँकीको लागि बेलायतका ४० वटा संघसंस्थाको सहभागिता थियो ।

नेपाली मेलाको मुख्य आकर्षकको रूपमा रहेको यस पटकको झाँकी र नृत्य दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै पासा पुच गुथि यूकेले एम्बासडर तथा एनआरएनए कप हात पारेको  छ । पासा पुचलाई लन्डन दूतावासले प्रायोजन गर्ने ११०० पाउण्डको एम्बासडर कप प्रदान गरियो । यसैगरी फष्ट रनर अपमा किरात याक्थुङ चुम्लुङ यूके, सेकेन्ड रनर अप र सान्त्वना पुरस्कार क्रमशः किरात राई यायोख्या यूके र शेर्पा एसोसिएसन यूकेले जितेका छन् । प्रेसिडेन्ट च्वाइस अवार्ड किरात राई यायोख्या यूकेले प्राप्त गरेको छ । फष्ट रनरअपले ७०० र सेकेन्ड रनरअपले ५०० पाउन्ड, सर्टिफिकेट एवं मेडल पाए । एम्बासडर कप विजेतालाई एनआरएनए कपसहित ३०० पाउन्ड पनि प्रदान गरियो ।

नृत्यमा उत्कृष्ट प्रदर्शन गरि किरात याक्थुङ चुम्लुङ यूके विजेता बन्यो भने पासा पुच गुथि यूके फष्ट रनर अप र किरात राई यायोख्या यूके सेकेन्ड रनर अप भए ।

457273862_894389056047356_4033741619588507151_n

झांकी र नृत्यमा उत्कृष्ट प्रदर्शन गर्ने पहिलो समूहलाई ५०० पाउन्ड, रनरअपलाई ३०० पाउन्ड, र सेकेन्ड रनरअपलाई २०० पाउन्ड नगदसहित सर्टिफिकेट एवं मेडल प्रदान गरिएको थियो । विजेतालाई कार्यवाहक राजदूत रोशन खनाल, एनआरएनए अध्यक्ष डा. बद्री केसी, तमुधिं यूके अध्यक्ष हरि गुरुङ लगायतले पुरस्कार प्रदान गरे ।

झाँकीको निर्णायक मण्डलमा मगर संघ यूकेकी ट्रस्टी तथा पत्रकार जमुना पुन, समाजसेवी तथा अन्तर्राष्ट्रिय साहित्य समाज बेलायतका निवर्तमान अध्यक्ष सुमलकुमार गुरुङ, गीतकार शशी थापा सुब्बा र वरिष्ठ संगीतकार दिनेश सुब्बा थिए भने नृत्यतर्फको निर्णायक मण्डलमा कलाकार कविता घर्तीमगर, लक्ष्मी गुरुङ र अस्मिता रानामगर थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लन्डनस्थित नेपाली दूतावासकी कार्यवाहक राजदूत रोशन खनालले विदेशमा नेपालीले आयोजना गर्ने ठुलो इभेन्टअन्तर्गत पर्ने नेपाली मेलालाई निरन्तरता दिँदै सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजक तमुधिं यूकेलाई धन्यवाद दिइन् ।

गर्ने ठुलामध्ये एक इभेन्ट नेपाली मेलाको १५ औँ संस्करण सफलतापूर्वक सम्पन्न गरेकामा आयोजक तमुधिं यूकेलाई बधाई दिइन् । वहुजातीय, वहुधार्मिक, बहुसांस्कृतिक नेपालको प्रतिनिधित्व गर्ने नेपाली मेलामा दूतावासले पनि सहकार्य गर्ने अवसर पाउनु गौरवको विषय भएको खनालले बताइन्। नेपाली मेला बेलायतका नेपालीलाई एकताको सूत्रमा बाँध्ने एउटा दरिलो प्लेटफर्म भएको पनि उनले बताइन् ।

कार्यक्रमका विशेष अतिथि गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सहितको नागरिकता प्रदान गरे पनि पूर्ण अधिकारसहितको नागरिकताका लागि निरन्तर संघर्षरत रहने बताए । आगामी अक्टुबरसम्ममा एनआरएनए नागरिकता पूर्ण रूपमा कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे ।

एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङले नेपाली मेला सबैको साझा कार्यक्रम भएकाले यसलाई सबै एकजुट भएर सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे । भावी दिनमा पनि यसलाई निरन्तरता दिन सबलाई उनले आग्रह गरे ।

आयोजक संस्था एवम् तमुधिं यूके अध्यक्ष हरि गुरुङले नेपाली कला संस्कृति, संस्कार, भेषभूषा, परम्परा आदि जगेर्ना गर्न सबैको दायित्व रहेको बताउँदै मेलालाई सफल बनाउन सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिए ।

मेला कुनै अमुक जाती, धर्म वा राजनीतिबाट प्रेरित नभएको जनाउँदै सबै जातजातिबाट माथि उठेर मेलाको आयोजना गरिएको बताउँदै सबैले आ-आफ्नो  ठाउँबाट निरन्तर सहयोग गर्न आग्रह गरे।

यद्यपि कतिपय धार्मिक संस्थाहरूले आफ्नो धर्मको प्रचार प्रसार गरेको भन्दै केहीले गुनासो पोखेका छन् । संस्कृति र धर्म उस्तै देखिए पनि यसबिचमा ठुलो भिन्नता रहेकोले धर्मसम्बन्धी सहभागिताले भविष्यमा नकारात्मक असर पर्न जाने र नेपाली मेलाको अस्तित्वलाई पनि असर पार्न सक्ने केहीको आङ्कलन छ । यस किसिमको जमघट तमुधिं यूकेबाहेक अरूबाट सम्भव नहुने हुँदा नेपाली मेलालाई सम्पूर्ण बेलायतवासी नेपालीको साझा कार्यक्रम बनाउँदै  धार्मिक सहभागिता र प्रचारप्रसारलाई न्यूनीकरण गर्न आयोजकसँग उनीहरूको आग्रह छ ।

कार्यक्रमलाई थप आकर्षक बनाउन गायन, नृत्य, राफल ड्र को पनि आयोजना गरिएको थियो। कलाकारहरू राजन गुरुङ, शिवदास गुरुङ, नेसन पुन, आरुषी मगर लगायतले आ–आफ्नो प्रस्तुति दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप