विवादपछि काठमाडौँबाट भएको विमान अपहरणमा आधारित वेब सिरिजको कन्टेन्ट रिभ्यू गरिने
मुम्बई । नेटफ्लिक्सले नयाँ सिरिज आईसी ८१४ – द कान्दाहार हाइज्याकको कन्टेन्टमाथि समीक्षा गर्ने भएको छ । नेटफ्लिक्सको भारतमा कन्टेन्ट हेड रहेकी मोनिका शेरगिलले मंगलबार सूचना तथा प्रसारण मन्त्रालयसमक्ष यो कुरा राखेकी हुन् ।
वेब सिरिजमा आतङ्कवादीहरूको हिन्दु नाममा विवाद भएको थियो । यसलाई प्रतिबन्ध गर्नुपर्ने माग उठिरहेको छ । यसपछि मन्त्रालयले मोनिकालाई जवाफ दिन बोलाएको थियो ।
मोनिकाले मन्त्रालयलाई सिरिजको कन्टेन्टमाथि पुनर्मूल्याङ्कन गर्ने प्रतिबद्धता जनाएकी छिन् । उनले नेटफ्लिक्समा भविष्यमा आउने कन्टेन्टमाथि पनि थप ध्यान दिने तथा देशको भावनामाथि ठेस नपुर्याउने विषयमा ख्याल राख्ने स्पष्ट पारिन् ।
मन्त्रालयले भनेको थियो, ‘देशका जनताको भावनामा ठेस पुर्याउने कसैसँग अधिकार छैन । भारतको संस्कृति र सभ्यताको सम्मान सबैभन्दा सर्वोपरि हो । कुनै कुरालाई गलत तरिकाले देखाउनअघि तपाईँहरूले सोच्नुपर्छ । सरकार यसप्रति निकै सख्त छ ।’
गत २९ अगस्तमा नेटफ्लिक्समा रिलिज भएको आईसी ८१४ वेब सिरिज कान्दाहार विमान अपहरणमा आधारित रहेको छ । यसमा आतङ्कवादीहरूको नाम भोला र शंकर राखिएकोमा विवाद भएको थियो ।
- साँचो के हो ?
६ जनवरी, सन् २००० मा केन्द्रीय गृह मन्त्रालयद्वारा जारी एक बयानका अनुसार अपहरणकर्ताहरूको वास्तविक नाम थियो– इब्राहिम अतहर, शाहिद अख्तर सइद, सनी अहमद काजी, मिस्त्री जहू इब्राहिम र शाकिर ।
तर, विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अपहरणकर्ताहरूले आफ्नो लागि कोड नाम पनि राखेको उल्लेख छ । जसमा चिफ, डाक्टर, बर्गर, भोला र शङ्कर रहेका छन् । अपहरणका दौरान उनीहरूले एक अर्कालाई यही नाम लिएर बोलाउँथे । त्यसैले सिरिजका निर्माताले अपहरणकर्ताको नाम बदलेको भन्नु सही हुँदैन ।
वेब सिरिज पत्रकार श्रीजय चौधरी र देवी शरण (आईसी ८१४ विमानका क्याप्टेन) द्वारा लिखित पुस्तक फ्लाइट इनटू फियर : द क्याप्टेन स्टोरी’ मा आधारित रहेको छ । यसमा विजय वर्मा, नसीरुद्दीन शाह, पंकज कपुर, मनोज पाहवा, अरविन्द स्वामी, अनुमप त्रिपाठी, दिया मिर्जा, पत्रलेखा, अमृता पुरी, दिव्येन्दु भट्टाचार्य, कुमुद मिश्रालगायतको प्रमुख भूमिका रहेको छ ।