आइतबार, ३० भदौ २०८१
ताजा लोकप्रिय

मकवानपुर जिल्ला लिग फुटबल : मल्टिभिजन र गोर्खा ब्वाइज विजयी

दुई खेल स्थगित
बिहीबार, २० भदौ २०८१, ०७ : ४८
बिहीबार, २० भदौ २०८१

मकवानपुर ।  मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगितामा एफसी मल्टिभिजन र गोर्खा ब्वाइज क्लव विजयी भएका छन् । हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा बुधबार भएको खेलमा गोर्खा ब्वाइजले पिप्ले युवा क्लबलाई २–१ ले हराएको हो ।

गोर्खा ब्वाइजको तर्फबाट प्रताप थोकरले २८ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ३६ मिनेटमा पिप्लेका सम्पूर्ण नगरकोटीले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए । खेलको ४१ औँ मिनेटमा गोर्खा ब्वाइजका लागि प्रशान्त देउलाले निर्णायक गोल गरेका थिए ।

खेलको ७१ औँ मिनेटमा पिप्ले १० खेलाडीमा सीमित भएको थियो । रोशन बलले दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । 

बुधबार नै भएको अर्को खेलमा एफसी मल्टिभिजनले सानोपोखरा क्लबलाई ८–१ को फराकिलो गोल अन्तरले हरायो । मल्टिभिजनका लागि रामकृष्ण राउत र अखिलेश कार्कीले ह्याट्रिक गर्दा सुमन लो र जेनिस थपलियाले समान एक÷एक गोल गरेका थिए । सानोपोखराको तर्फबाट एक मात्रै गोल भएको थियो । ह्याट्रिक गर्नेमध्येका राउत नै खेलको म्यान अफ द म्याच घोषित भए । 

वर्षाका कारण बुधबार हुने भनिएको २ वटा खेल भने स्थगित भएको छ । हटिया स्पोर्टस् एकेडमी र न्यू कम्बाइन क्लव तथा एफसी नामटार र पदमपोखरी यूथ क्लवबीचको खेल वर्षाका कारण स्थगित भएको हो । 

वर्षाका कारण हालसम्म ५ वटा खेल स्थगित भइसकेको छ । आयोजक मकवानपुर जिल्ला फुटबल सङ्घले प्रत्येक दिन ४ वटा खेल खेलाउँदै आएको छ । यस पटकको जिल्ला लिगमा २८ वटा क्लबले सहभागिता जनाएका छन् । 

२८ क्लबलाई ४ समूहमा विभाजन गरी लिग चरणको खेल सञ्चालन भइरहेको छ । प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीहरूले समेत नगदसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप