पीएचडी होल्डर हुँ भन्नेले राष्ट्र बैङ्कको नक्कली स्विफ्टकोड बनाएर ठगे १७ लाख ३१ हजार
काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ बस्ने ४८ वर्षीय विष्णुबहादुर कार्की आफूलाई ‘पीएचडी होल्डर हुँ’ भन्छन् । ३ वटा विषयमा मास्टर्स डिग्री र पीएचडी हासिल गरेको बताउने विष्णु अमेरिकन कम्पनीबाट करोडौँ कृषि ऋण मिलाइदिन्छु भनेर ठगी गरेको आरोपमा अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । ऋण मिलाइदिन्छु भनेर राष्ट्र बैङ्कको नक्कली स्विफकोड देखाएर कार्कीसहित दुईजना मिलेर १७ लाख ३१ हजार ठगेको उजुरी प्रहरीमा छ ।
बाजुराको बुढीनन्दा–१ घर भएका कार्कीसँग मिलेर ठग्ने अर्का आरोपी हुन्, काठमाडौँको नागार्जुन नगरपालिका–९ दुर्गानगर घर भएका ५५ वर्षीय नारायणप्रसाद खतिवडा । आरोपीहरूले सिन्धुलीको कमलामाई नगरपालिकामा सञ्चालित ‘सिन्धुली बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्म’ सञ्चालन गर्न अमेरिकन कम्पनीबाट १० लाख ९९ हजार अमेरिकी डलर मिलाउँछु भनेर ठगेका हुन् ।
‘सिन्धुली बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्म’ सञ्चालकको चिनजान नारायणप्रसाद खतिवडासँग हुन्छ । फर्म सञ्चालकले लगानी थप गर्ने योजना खतिवडासँग बताउँछन् । लगानी बढाउन बैंकबाट ऋण लिने योजना सुनेपछि खतिवडाले भन्छन्, ‘मैले पीएचडी गरेको एकजना ठुलो मान्छे चिनेको छु, उहाँले अमेरिकन कम्पनीबाट ऋण दिलाइदिनुहुन्छ, त्यसबापत उहाँलाई ६ करोड दिनुपर्छ ।’
मासिक २ दशमलव ५ प्रतिशत ब्याजदरमा १४ करोड ५१ लाख ९८ हजार नेपाल रुपैयाँ बराबरको डलर ऋण पाउने भएपछि फर्म सञ्चालक ६ करोड कमिसन दिन राजी भए । त्यसपछि कार्की र खतिवडाले विभिन्न बहानामा उनीहरूसँग रकम लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए । आचार्य भन्छन्– ‘फर्म सञ्चालकलाई राष्ट्र बैङ्कमा पैसा आएको विश्वास दिलाउन आरोपीहरूले राष्ट्र बैङ्कको फर्जी स्विफ्टकोड बनाएको भेटिएको छ ।’
अमेरिकन कम्पनी पिएटी (प्रोसेस अटोमेशन टेक्नोलोजिज) सँग समन्वय कार्कीले वैदेशिक ऋण मिलाइदिने आश्वासन दिएर ठगी गरेका हुन् । एसपी आचार्य भन्छन्– ‘विदेशबाट रकम ल्याउन राष्ट्र बैंकसहित विभिन्न ठाउँमा रकम बुझाउनुपर्छ भनेर उनीहरुले रकम लिएपछि सम्पर्कविहीन भएका हुन् ।’
जाहेरवालालाई विश्वास दिलाउन उनीहरुले राष्ट्र बैङ्कको नक्कली स्टेटमेन्ट र स्विफ्टकोड देखाएको अनुसन्धानबाट थाहा भएको छ । उनीहरुलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँलाई बुझाएको हो ।
५ वटा मुद्दा लागेको रेकर्ड
विष्णुबहादुर पहिलोपटक फौजदारी अपराध गरेको आरोपमा पक्राउ परेका होइनन् । यसअघि उनीविरुद्ध प्रहरीमा ५ वटा मुद्दा दर्ता भएको भेटिएको छ । विष्णु एन्ड सन्स प्रालि नामको कम्पनी पनि सञ्चालन गर्ने कार्कीबारे प्रहरीको सिआरएस (क्रिमिनल रेकर्ड सिस्टम) मा ५ वटा मुद्दा दर्ता भएको भेटिएको अनुसन्धानका संलग्न डीएसपी मधु थापाले रातोपाटीलाई बताए ।
कार्कीले एयरलाइन्स कम्पनी सञ्चालन गर्ने नाममा पनि रकम असुल गर्ने गरेको भेटिएको छ । ‘एयरलाइन्स सञ्चालन गर्ने’ भनेर कार्कीले रकम लिएको भन्दै अन्य पीडितहरू पनि प्रहरीकहाँ पुगेका छन् । आरोपीहरूले ऋण दिलाउन मिटिङ गर्ने नाममा महाराजगन्जस्थित साम्वाला होटलमा भेट्ने र खर्च गराउने गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा–मोरक्को भिडन्त: पहिलो हाफमै आधा दर्जन पहेँलो कार्डको वर्षा
-
पहिलो हाफमा क्यानडा र मोरक्कोले खोल्न सकेनन् खाता
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण