शनिबार, २२ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
उडान

नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उडानलाई किन भन्यो ‘रेस्क्यु फ्लाइट’ ?

मङ्गलबार, २२ असोज २०८१, १० : ४५
मङ्गलबार, २२ असोज २०८१

काठमाडौँ । सोमबार नेपाल वायुसेवा निगमले न्यारो बडी जहाजमार्फत काठमाडौँदेखि भैरहवा र भैरहवादेखि काठमाडौँसम्म उडान गर्ने गरी सेड्युल सार्वजनिक गर्‍यो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको निर्देशनमा नेपाल एयरलाइन्सले नेपालकै दुई अन्तर्राष्ट्रिय विमानस्थलबिचको उडान सार्वजनिक गरेको हो । 

निजी वायुसेवा कम्पनी र नेपाल एयरलाइन्सकै समेत नियमित उडानको टिकट सकिएको अवस्थामा यो उडानले केही व्यक्तिका लागि भए पनि राहत मिलेको छ । निगमको यो प्रयासको आम रूपमा तारिफ समेत भएको छ ।

तर, निगमले यो उडानलाई ‘उद्धार उडान’ भनेको छ । सामान्यतया विपद्मा फसेकालाई विपद्युक्त क्षेत्रबाट सुरक्षित क्षेत्रमा लैजान गरिने उडानलाई उद्धार उडान भनिन्छ । यस्तो उडान गर्नेहरू आफैँले पैसा तिर्दैनन्, सरकारले यसको खर्च व्यहोरिदिन्छ । यसअघि इजरायल युद्ध सुरु हुँदा फसेका नेपालीलाई ल्याउँदा होस् वा कोभिड–महामारीका क्रममा चीनको उहान क्षेत्रमा फसेकालाई ल्याउँदा यसलाई उद्धार उडान भनिएको थियो ।

तर, एउटा फ्लाइटको सात हजार रुपैयाँ तिरेर भैरहवा उड्दा निगमले यसलाई उद्धार उडान किन भनिरहेको छ ? नेपाल वायुसेवा निगमका प्रवक्ता मनोजकुमार साह भन्छन्, ‘यसलाई चार्टर्ड फ्लाइट पनि भन्न सकिन्थ्यो तर बाढी पहिरोका कारण सडक अवरुद्ध भएको अवस्थामा रोकिएका यात्रुलाई उडाउन लागिएकोले यसलाई उद्धार उडान भनिएको हो ।’

काठमाडौँबाट भैरहवासम्मको टिकटका लागि अरू विमान कम्पनीहरूले ८ हजार ४०० रुपैयाँ लिँदै आएकोमा निगमले भने सात हजार रुपैयाँमै टिकट बुकिङ गरेको प्रवक्ता साह बताउँछन् । यसबाट निगमलाई धेरै फाइदा नहुने भए पनि मन्त्रालयको निर्देशन र जनताप्रतिको उत्तरदायित्वका कारण यो उडान गरिएको  उनको भनाइ छ । अरू उडानको पनि आवश्यकता देखिए पनि अगाडि नै तय भएका सेड्युल मिलाउनुपर्ने कारणले यो सम्भव नभएको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?