आइतबार, २३ मङ्सिर २०८१
ताजा लोकप्रिय
नरेश श्रेष्ठ मेमोरियल यू–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट

फाइनलमा लुम्बिनी प्रदेशको प्रतिद्वन्द्वी सुदूरपश्चिम प्रदेश

सोमबार, १९ कात्तिक २०८१, १४ : २७
सोमबार, १९ कात्तिक २०८१

काठमाडौँ । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई यू–१९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबार खेलिएको खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई एक सय २३ रनको फराकिलो अन्तरले हराएको छ ।

जितसँगै सुदूरपश्चिम प्रदेश प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिम प्रदेशले अब उपाधिका लागि लुम्बिनी प्रदेशसँग भिडन्त गर्नेछ । जारी प्रतियोगिता हालसम्म लुम्बिनी प्रदेशमात्र एक्लो अपराजित टोली पनि हो ।

जारी प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र कोशी प्रदेश दुबैले आफ्नो अन्तिम खेल खेलेका हुन् । सुदूरपश्चिम प्रदेशले ६ खेलबाट १० अंक बटुलेको छ । कोशी प्रदेशले भने ६ खेलबाट दुई अंकमात्र जोड्न सक्यो ।

सोमबारको खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको सुदूरपश्चिम प्रदेशले ४७.४ ओभरमा अलआउट हुनुअघि एक सय ८३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कोशी प्रदेशले भने २२.३ ओभरमै अलआउट हुनुअघि ६० रनमात्र बनाउन सक्यो ।

सुदूरपश्चिमका लागि युवराज खत्रीले ४४ रनको योगदान गरे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले ८० बलमा एक छक्का र दुई चौका पनि हिर्काए । ओपनर ब्याट्सम्यान अभिषेक थापाले पनि टोलीका लागि ३७ रनको योगदान गरे । उनले ८७ बलको सामना गरी पाँच चौका पनि हिर्काए ।

कप्तान नरेश भट्टले पनि २४ रन बनाए । उनले ३३ बलमा चार चौका प्रहार गरे । तल्लो क्रमका ब्याट्सम्यान अशोक धामीले टोलीको खातामा २२ रन थपे । उनले १७ बलमा एक छक्का र दुई चौका हिर्काए । नरेन साउदले २० रन जोडे । उनले २० बलमा एक छक्का र एक चौका हिर्काए ।

ओपनर राजेश ऐर र दीपक रोकायाले पनि १०–१० रन बनाए । सुदूरपश्चिमले अतिरिक्त रुपमा ११ रन पायो । कोशीका बलर सौजन घिमिरेले चार विकेट लिए । उनले १० ओभरमा २९ रन खर्चिए । विपिन महतोले दुई विकेट हात पारे । कृतिक कामत, प्रेम कामत र आषिश मगरले एक–एक विकेट लिए ।

जवाफी ब्याटिङ गरेको कोशी प्रदेशका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । कोशी प्रदेशका लागि कप्तान सौजन घिमिरे र आषिश मगरले मात्र दोहोरो अंकमा रन बनाउन सके । सौजनले २६ र आषिशले १३ रन बनाए । कोशी प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदूरपश्चिम प्रदेशका बलर सचिन भट्ट कोशी प्रदेशका ब्याट्सम्यानहरुका लागि घातक बने । सचिन एक्लैले पाँच विकेट लिएका थिए । उनले ६ ओभरमा दुई मेडन राख्दै केवल सात रन खर्चिए । नरेन साउदले पनि चार विकेट हात पारे । उनले ५.३ ओभरमा केवल १० रन खर्चिएका थिए । आयुष द्वारियाले पनि एक विकेट लिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?