प्रथम ‘झापा १–काठमाडौँ कप’ फुटसल मंसिर १ गते, राजनीतिज्ञ र कलाकार पनि मैदानमा ओर्लने
काठमाडौँ । प्रथम ‘झापा १–काठमाडौँ कप’ फुटसल प्रतियोगिता आगामी मंसिर १ गते आयोजना हुने भएको छ । झापा–१ सांसद सचिवालय काठमाडौँ र नेपाली कांग्रेस झापा–१ काठमाडौँ सम्पर्क समितिको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
प्रतियोगिता ललितपुरको जावलाखेलस्थित डीएभी स्कुलमा हुनेछ । प्रतियोगिताको उद्घाटन सभामुख देवराज घिमिरेले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । यसअघि प्रतियोगिता असोज १२ गते आयोजना गर्ने भनिएको थियो । तर, देशव्यापी रुपमा भारी वर्षाका कारण आएको बाढी–पहिरोका कारण ठुलो जन–धनको क्षति भएपछि प्रतियोगिता स्थगित गरिएको थियो ।
प्रतियोगितामा सात वटा टोली समावेश हुने बताइएको छ । ३० वर्ष मुनिका खेलाडी सहभागी हुने उक्त फुटसल प्रतियोगितामा झापा क्षेत्र नम्बर १ का सात वटा टोलीबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । सहभागी टोलीमा क्षेत्र नम्बर १ का साबिकका गाविस शान्तिनगर, बाहुन्डाँगी, धाइजन, मेचिनगर, ज्यामिरगढी, दुहागडी र चन्द्रगडी रहेका छन् ।
प्रतियोगिताको विजेता टोलीले २१ हजार रुपैयाँ नगदसहित ट्रफी पाउने छ । दोस्रो हुने टोलीले ११ हजार रुपैयाँ नगदसहित उपविजेता ट्रफी पाउने जानकारी आयोजक झापा–१ काठमाडौँ सम्पर्क समितिका संयोजक प्रज्ज्वल कोइरालाले दिए ।
प्रतियोगिताका क्रममा झापाका राजनैतिक दलका नेता र झापाका कलाकारबिच मैत्रीपूर्ण खेल पनि हुनेछ । सो खेलमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, एमालेका नेता रविन कोइराला, एलपी साँवा, माओवादीका रञ्जित तामाङ सहितका नेताहरू मैदानमा ओर्लने पनि आयोजकले जनाएको छ ।
यसैगरी, कलाकारको तर्फबाट सीताराम कट्टेल, प्रमोद खरेल, एलिना चौहान, विल्सन विक्रम राई, टीका भण्डारी, प्रकाश सुवेदी, हेमन्त बुढाथोकी लगायत मैदानमा ओर्लने छन् । यसका अतिरिक्त पेसा व्यवसायी र कर्मचारी, झापा क्षेत्र नम्बर १ ‘क’ र ‘ख’ का महिला टोलीबिच पनि मैत्रीपूर्ण खेल हुनेछ । झापाबाट काठमाडौँ आएर बसोबास गर्ने, व्यापार व्यवसाय गर्ने र विद्यार्थीहरूलाई लक्षित गरी उक्त प्रतियोगिताको आयोजना गरिएको बताइएको छ ।