सिरहामा नवजात शिशुको मृत्यु प्रकरण : अनुसन्धान गर्दै प्रहरी
सिरहा । औरही गाउँपालिका–५ की राधादेवी दासको कोखबाट जन्मिएको नवजात शिशु उपचार गर्न लैजाने क्रममा गत सोमबार मृत्यु भएको थियो । परिवारले मृतक शिशुको सद्गत गरिसकेपछि राधादेवीको माइतीपक्षले घटनाको शङ्का व्यक्त गर्दै उजुरी गरेपछि प्रहरीले अनुसन्धान थालेको छ ।
अनुसन्धानका क्रममा प्रहरीले मङ्गलबार मृतक शिशुको शव गाडिएको स्थानबाट निकाली शवपरीक्षणका लागि प्रादेशिक अस्पताल लहान पठाएको छ । “सुत्केरीको माइती पक्षबाट जाहेरी त अहिलेसम्म दिनुभएको छैन, तर घटनाप्रति शङ्का व्यक्त गर्दै अनुसन्धान गरिदिन अनुरोध गरेपछि अहिले हामी घटनाको अनुसन्धान गर्दै छौँ”, इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्दप्रसाद साहले बताए ।
के भएको थियो घटना ?
राधादेवीको गोलबजारस्थित बर्धमान अस्पतालमा शल्यक्रिया गरी सुत्केरी गराइएको थियो । बिहीबार अस्पताल प्रशासनले पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो । अस्पतालका सञ्चालक डा तेजशङ्कर यादवका अनुसार सुत्केरी व्यथा लागेपछि राधादेवी प्रादेशिक अस्पताल सिरहाबाट पठाइ उक्त अस्पतालमा आएका थिए ।
“बच्चा उल्टो अवस्थामा रहेकाले आमा र बच्चाको अवस्था गम्भीर भएकाले सिरहा अस्पतालले पठाएको र सबै रिपोर्ट हेरेपछि आमालाई भए पनि बचाउन सकिन्छ भनेर हामीले बिरामीका परिवारलाई जानकारी गरायौँ”, अस्पतालका सञ्चालक यादवले भने ।
उनका अनुसार आमालाई भए पनि बचाउनुस् भन्ने परिवारको सल्लाहबमोजिम सबै प्रक्रिया पूरा गरी हामीले आमाको शल्यक्रियामार्फत बच्चा सकुशल निकाल्न सफल भयौँ । तर, कम तौलको जीवित बच्चा जन्मिए पनि बच्चा रुने कराउने केही थिएन । भेन्टिलेसनमा राखेर बच्चाको उपचार गराए बचाउन सकिने सल्लाहअनुसार उनीहरूले बच्चालाई एम्बुलेन्समा राखेर अन्यन्त्र अस्पताल लगेका थिए ।
बर्धमान अस्पतालमा सघन उपचार कक्ष खाली नभएपछि लहानको सप्तऋषि अस्पतालमा बच्चालाई लिएर गएको राधादेवीकी सासू जलेश्वरी दासले जानकारी दिइन् । बच्चा अस्पतालमा पुग्दा लहानका अस्पतालले मृत घोषणा गरिदिएपछि उतैबाट आफैँले स्थानीय गागनखोलामा बच्चाको अन्तिम संस्कार गरेको उनले बताइन् ।
यसबारे राधादेवीको माइतीका दाइ राहुल पटेलले अनावश्यक बखेडा झिकेर घटनालाई गिजोलेको स्वयं आधादेवीको सासूको भनाइ छ । उनले भनिन्, “आमाको भए पनि उहाँहरु (डाक्टर) ले ज्यान बचाउनुभयो । अस्पतालाई दोष दिने ठाउँ कतै छैन । चार दिनदेखि आमाको उपचार यही अस्पतालमा गराइरहेका छौँ ।” बच्चा बचाउन नसकेकामा उनले दुःख व्यक्त गरिन् ।
अस्पताल प्रशासनका अनुसार केटा र केटीबिच अन्तरजातीय विवाहका कारण घरायसी द्वन्द्वको रुप प्रकट भएको हो । यस कारणले अस्पतालाई कुनै किसिमको आक्षेप नलगाउन अस्पताल प्रशासनले आग्रह गरेको छ । सुत्केरी राधादेवीका श्रीमान् भने वैदेशिक रोजगारीमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यूक्यासलविरुद्ध ब्रेन्टफोर्डको आक्रामक प्रदर्शन
-
शिविरले देखायो संसार : ११ वर्षपछि आँखा देख्न पाए दिदी-भाइले
-
ओल्ड ट्राफोर्डमा ३० वर्षपछि नटिङघमको पहिलो जित, म्यान्चेस्टर युनाइटेड स्तब्ध
-
फेरि हारबाट जोगियो म्यान्सिटी
-
इस्लामिक विद्रोहीहरु दमास्कस घुस्दै, आफु राजधानी छोडेर नभागेको राष्ट्रपति असदको प्रतिक्रिया
-
कञ्चनजङ्घा ‘सेसेलुङ’ गोल्डकपको उपाधि धरानलाई