शनिबार, २२ मङ्सिर २०८१
ताजा लोकप्रिय
कालीमाटी महिला मृत्यु प्रकरण

कालीमाटीमा मृत भेटिएकी महिलाको पोस्टमार्टम : लिभरको समस्याले मृत्यु

चप्पलबाट खुल्यो शव बोक्ने युवकको पहिचान
बिहीबार, १३ मङ्सिर २०८१, ११ : २५
बिहीबार, १३ मङ्सिर २०८१

काठमाडौँ । काठमाडौँको कालीमाटीस्थित सडकमा मृत भेटिएकी ४५ वर्षीया जानुका सुर्खेतीको पोस्टमार्टम रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक चिकित्सकले गरेको शव परीक्षण रिपोर्टअनुसार लिभरको समस्याका कारण उनको मृत्यु भएको देखिएको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार पोस्टमार्टम रिपोर्टमा उनको मृत्युको कारणबारे लेखिएको छ, ‘डिजिज अफ द लिभर ।’

मङ्सिर ७ मा उदयपुर घर भएकी ४५ वर्षीया सुर्खेतीको शव कालीमाटीको सङ्गीत मार्गमा फेला परेको थियो । उनको शव बोकेर हिँड्ने बझाङ घर भएका २२ वर्षीय कवीन्द्र मल्ललाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

उनलाई प्रहरी वृत्त कालीमाटीले अदालतबाट म्याद लिएर हिरासतमा राखेको छ । मल्लले शव काँधमा बोकेर सडकमा फालेका हुन् ।

लागुऔषध सेवनकर्ता कवीन्द्र मल्ललाई प्रहरीले चप्पलबाट पहिचान गरेको थियो । क्लोज सर्किट टेलिभिजन (सीसीटिभी) क्यामेरामा देखिएको उनको चप्पलको सङ्केतबाट उनलाई पक्राउ गरिएको अनुसन्धान अधिकृतहरू बताउँछन् ।

अनुसन्धानमा संलग्न उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृत भन्छन्, ‘फुटेजमा देखिएको चप्पल र उनले लगाएको चप्पलमा समानता देखिएपछि पहिचान गरेका थियौँ ।’

१० औँ पटक पक्राउ

सुर्खेतीको हत्यामा संलग्न आशंकामा पक्राउ गरिएका युवक यसअघि पनि धेरै पटक अपराधमा संलग्न भएर पक्राउ परेका थिए । यसअघि उनी १० पटक पक्राउ परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई बताए ।

२०७७ चैतमा प्रहरी बृत्त जनसेवाले उनीविरुद्ध अभद्र व्यवहार मुद्दा चलाएको थियो । २०७८ वैशाख र भदौमा प्रहरी वृत्त कालीमाटीमा, २०७९ वैशाखमा बझाङमा, २०७९ असारमा कालीमाटीमा र २०८० जेठमा उनी सिंहदरबार वृत्तमा थुनामा परेका थिए ।

२०८१ कार्तिकमा उनलाई चोरी तथा डाँका मुद्दामा प्रहरी वृत्त कालीमाटीले नै पक्राउ गरेर अनुसन्धान गरेको थियो ।  २०८१ वैशाख र भदौमा उनी अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ परेका थिए । उनले सुर्खेतीको शव बोकेको स्वीकार गरे पनि हत्या अस्वीकार गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?