माओवादी नेताको सम्पत्ति छानबिन हुन्छ : प्रचण्ड
विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना केन्द्रीय सदस्यहरूले सम्पत्तिको स्रोत देखाउनुपर्ने बताएका छन् । माओवादी केन्द्रको केही दिन अगाडि सम्पन्न केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्यहरूले सम्पत्ति विवरण बुझाउनु पर्नेसहितको प्रतिवेदन पारित गरेको थियो ।
विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सम्पत्ति विवरण बुझाउनु पर्ने मात्रै नभएर सम्पत्तिको स्रोत पनि देखाउनु पर्ने र गैरकानुनी ढंगले कमाएको देखिए कारबाही गरिने पनि बताए । ‘कारबाही गर्नकै लागि त्यो भनिएको हो । हामीले पहिले पनि महाधिवेशनबाट पनि यो कुरा (सम्पत्ति विवरण बुझाउने कुरा) उठाएका थियौँ । त्यसलाई योजनामा ढालेका थिएनौँ । अहिले हामीले प्रदेश पदाधिकारी र केन्द्रीय समितिको र क्रमैसँग तलैसम्म सम्पत्ति विवरण बुझाउने मात्रै होइन, त्यसको स्रोत खुलाउने, जीविका कसरी चलिरहेको छ परिवार र परिवारको सदस्यको भनेर बुझ्न खोजेका छौँ,’ उनले भने, ‘त्यो मात्रै होइन हामीले अनुगमनको लागि हामीसँग भएको शक्ति सम्पन्न लेखा आयोग छ । त्यसलाई अनुगमनको जिम्मा पनि दिइसकेका छौँ । दोषी देखियो भने कारबाही गरिन्छ ।’
उनले आफूले संसदबाटै त्यो कुराको प्रतिबद्धता गरेको पनि बताए । ‘मैले विश्वासको मत लिँदा संसदबाटै जनताप्रति प्रतिबद्धता जनाएको छु । हामी हाम्रो वर्गतिर फर्किन्छौँ, एजेण्डातिरै फर्किन्छौँ । कांग्रेस र एमालेतिर लागेर देशलाई पनि फाइदा पनि भएन र आन्दोलनलाई पनि फाइदा भएन भन्ने कुराकै त्यो अभिव्यक्ति हो,’ उनले भने ।
प्रचण्डले वर्तमान गठबन्धन अप्राकृतिक रहेको र राजनीतिक दुर्घटनाको जोखिम रहेको पुनः दोहोर्याए । ‘यो गठबन्धन बनेदेखि नै मुलुकमा राजनीतिक दुर्घटनाको खतरा बढेको छ । सदन बोलाउनु पर्ने बेलामा अध्यादेश आएको छ । त्यो पनि संविधान र कानुन मिचेर ल्याइएको छ । सदनमा छलफलको क्रममा रहेको विधेयकसँग सम्बन्धित विषय पनि अध्यादेश आएको छ । त्यही कारण विपक्षी सात राजनीतिक दलको बैठक बसेर त्यसको विरोधमा खडा भएका छौँ । यो अध्यादेश फिर्ता लिनु जरुरी छ । किनभने दुई तिहाइ भएको सरकारले सदनबाटै कानुन ल्याए भइगयो नि ? सदनमा लगेर कानुन बनाए भयो नि ? तर, किन अवैध ढंगबाट ल्याइयो ?,’ उनले भने ।
उनले आफूले सरकार ढल्छ नभनेको बताए । ‘सरकार जुन बाटोबाट हिँडेको छ । त्यो असहज बाटो छ । त्यसले लोकतन्त्र र संविधानलाई दुर्घटनातिर लैजाने बाटोमा छ भन्ने कुरा हो । अर्को कुरा सरकारमा जाने हतारो छैन । सरकारको उल्टो यात्राले सरकार ढल्छ भनेको हो,’ प्रचण्डले भने, ‘दुई तिहाइको अहंकार देखाउँदै जाने, संविधान मिच्दै जाने, अध्यादेशबाट शासन गर्दै जाने र भ्रष्टाचारीलाई जोगाउँदै जाने हो भने सडकबाट ठुलो संघर्ष हुन्छ । यो कुरा हामीले सरकारलाई चेतावनी दिएका हौँ । यो कुरा सरकारले बुझोस्, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिलाई पनि बुझोस् भन्ने कुरा हो । यो कुरा नबुझेर सरकार हल्का रूपमा लियो भने सडकमा ठुलो आन्दोलनको परिस्थिति सिर्जना हुनसक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण