एमालेबाट यहाँसम्म आइपुगेँ, जाँदाखेरि त्यहीँ नै कुरा हुन्छ : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने चर्चा भएको धेरै भयो। नेकपा एमालेभित्रको गुटगत राजनीतिमा उनको भूमिका सुषुप्त देखिए पनि सक्रियता भने देखिन्छ।
कोशी प्रदेशका मोरङ र सुनसरीमा आयोजित केही औपचारिक र केही अनौपचारिक भेटघाटपछि भण्डारी अहिले विराटनगरमा आइपुगेकी छिन्। माघ २० गतेसम्म उनी मोरङ र सुनसरीमै रहने कार्यक्रम छ। विराटनगरस्थित होटल बिगमा आयोजित पत्रकार सम्मेलन अघि उनले राजनीतिक भेटघाट गरेकी छन्।
एमालेका केन्द्रीय नेताहरूका साथै केही प्रदेश सांसदहरू, महिला संगठनका नेतृहरू पनि त्यहाँ सहभागी थिए। त्यसपछि सम्भवतः राष्ट्रपति पदबाट बाहिरिएपछि पहिलो पटक भण्डारीले पत्रकार सम्मेलनकै शैलीमा सञ्चारकर्मीहरूसँग कुराकानी गरिन्।
कुराकानीका क्रममा उनले राष्ट्रिय राजनीतिमा आफू सक्रिय भएको बुझिदिन आग्रह गरिन् भने दलीय राजनीति गर्दा एमालेबाटै हुने प्रस्ट संकेत पनि गरिन्। यस्तो छ पूर्वराष्ट्रपति भण्डारीसँग पत्रकार सम्मेलनमा भएका सवालजवाफको सम्पादित अंशः
- तपाईं पूर्व आउनुभएको छ। कार्यक्रमहरू केके छन् ? त्यसको उद्देश्य के हो ?
– म जनता मावि इटहरीमा ६८ औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन विराटनगर आएको हुँ। विराटनगर मेरो पुरानो गृहजिल्ला र राजनीति गरेको स्थान पनि हो। त्यसो भएको हुँदा साथीहरूसँग पनि भेटघाट हुन्छ। खासगरी तीन वटा औपचारिक कार्यक्रम छन्।
धरान इन्जिनियरिङ कलेजको एउटा कार्यक्रममा पनि छ। त्यही कार्यक्रमको सिलसिलामा म आएको हुँ। शिक्षासँग सम्बन्धित बढी कार्यक्रमहरू छन्। पूर्वको शिक्षा अवस्था बुझ्न म आएकी हुँ।
एमालेमा रहँदा पनि मैले यताको जिम्मेवारी पाएको थिएँ। त्यसबेलामा पनि मैले शिक्षा प्रणालीको सुधार गरेर मात्रै देशको सर्वाङ्गीण विकास र हितसँग जोड्नुपर्छ भन्ने मान्यता राखेर हिँडेको हुँ। अहिले पनि त्यही नै हो।
- एमालेको अध्यक्ष बन्न तयारी गरिरहनुभएको भन्ने चर्चा छ। त्यसकै तयारी हो त यो ? पार्टी सदस्यता पनि नवीकरण गर्नुभयो भन्ने छ नि !
–हामी सचेत र संगठित भएर हिँडेदेखि नै राष्ट्रिय राजनीति नै गरेर यहाँसम्म जिम्मेवारी पूरा गरेँ। त्यसैले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीति र नेपालको परिस्थिति कसरी गइरहेको छ भन्ने चासो हुन्छ।
मैले शिक्षा, स्वास्थ्य, जलवायु परिवर्तनको कुरा गरिरहेको छु। मैले युवा विद्यार्थी, वैज्ञानिकहरूसँग भेटिरहेको छु। पार्टीमा संलग्न हुने/नहुने, कुन पार्टीमा संलग्न हुने भन्ने बेग्लै कुरा हो। तर, राजनीतिबाट कोही पनि अछुतो छैन। कसको आस्था के छ मलाई थाहा छैन, तर कोही पनि राष्ट्रिय राजनीतिबाट फरक छैनौँ र हुनु हुँदैन।
देशको स्थायित्व, शान्ति र प्रगतिमा मेरो मेरो गहिरो चासो हुन्छ। हिजो पनि मैले त्यही कर्तव्य पूरा गरेको हो। राष्ट्रको समग्र विकासका लागि हामीले लड्नुपर्छ।
दलीय राजनीतिमा लागेर पद, जिम्मेवारी लिने कि नलिने भन्ने कुरामा अहिले म प्रवेश गरिसकेको छैन। त्यसैले भोलि कुन दलबाट कहाँ गर्ने भन्ने कुरा पनि आउँछ होला। म एमालेबाट आएर यो ठाउँसम्म पुगेको हुनाले जाँदाखेरि त्यहीँ नै कुरा हुन्छ। त्योचाहिँ छलफलको चरणमा प्रवेश गरेको छैन। तपाईंहरूजस्तो राजनीतिमा केही चासो राख्ने साथीहरूको छलफलको विषय भएको हो। मेरो चाहिँ छलफलको विषय भइसकेको छैन। त्यो समय पनि आइसकेको छैन। राष्ट्रपति भनेको गैरराजनीतिक पद र जिम्मेवारी होइन। मैले यो सैद्धान्तिक रूपमा भनेको हो।
- राष्ट्रिय राजनीतिमा सक्रिय रूपमा आउने कि नआउने भन्ने कुराचाहिँ के हो त ?
– म राष्ट्रिय राजनीति मै सक्रिय छु भनेर भनिसकेँ त।
- दलमा फर्किने कि नफर्किने त ?
– नेपालको शिक्षा सुधारको लागि म लडिरहेको छु। म राष्ट्रपति हुँदा पनि नेपालको शिक्षा प्रणालीमा सुधार गर्नुपर्छ भनेको थिएँ। आज यति धेरै युवा शक्ति विदेश पलायन भइरहेको छ त्यो के कारणले हो पत्ता लगाउनु पर्दैन ? त्यसलाई तपाईं दलीय राजनीति भन्नुहुन्छ ? तपाईंको राजनीति हो कि होइन त्यो। युवाहरूलाई हामीले देशभित्र आकर्षित गर्नुपर्यो।
रोजगारीको खोजीमा नयाँ पुस्ताहरू विदेश जान खोजिरहेका छन् भन्ने कुरामा राष्ट्रिय राजनीतिको चिन्ता हुनुपर्छ। तपाईंले नजा भनेर कोही रोकिनेवाला छैन।
एक जनालाई मात्रै होइन, १० जना वा सयौँलाई रोजगारी दिन सक्छु भन्ने विश्वास जबसम्म हामीले दिलाउन सक्दैनौँ, तबसम्म युवाहरू रोकिँदैनन्।
देशको हितको लागि उपयोगमा ल्याउने राजनीतिचाहिँ मेरो राजनीति हुन्छ।
- पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किँदै हुनुहुन्छ भनेर मिडिया र राजनीतिक वृत्तमा चर्चा भएको निकै भइसक्यो नि !
–मैले भनेको तपाईंले पत्याउने कि अरूले भनेको ?
- तपाईंले राजनीतिमा सक्रिय नै छु भन्नुभयो। त्यो राजनीति निर्दलीय हो वा दलीय हो भन्न खोजेको ....
– त्यो राष्ट्रिय राजनीति हो। राष्ट्रिय राजनीतिमा शिक्षा, स्वास्थ्यलगायत थुप्रै कुरा हुन्छ।
- त्यो दलीय हो कि होइन भन्ने मेरो प्रश्न हो।
– त्यो भोलिको कुरा हो भनेँ त। त्यो एजेन्डाहरूलाई पूरा गर्न हुनुपर्छ। हिजो कुनै दलमा आबद्ध भइयो, एउटा चरण पार गरियो। अब के गर्ने भन्ने कुराचाहिँ अब सबै राष्ट्रिय दलहरूलाई म सहयोग गर्न चाहन्छु।
तपाईं राजनीतिमा आउँछु पनि भन्न सक्नुभएको छैन। आउँदिनँ पनि भन्न सक्नुभएको छैन। बिचमा कति दिन बसिरहनु हुन्छ ? तपाईं निकट मानिएका एमालेका नेताहरू पनि अध्यक्षज्यूको कारबाहीमा पर्नुभयो। अध्यक्षज्युसँग कतै तपाईंसँग डराइरहनु भएको त छैन ?
–भोलि राष्ट्रको आवश्यकताले माग गर्यो भने के गर्ने भन्ने भोलिकै कुरा हो। अहिले नै ऊ दल, त्यो दल भन्ने केही होइन। राष्ट्रिय एजेन्डामा हामी केन्द्रित हौं। पार्टीहरू छन्। उनीहरूलाई पनि हामीले खास एजेन्डामा काम गर्न सहयोग गर्नुपर्छ भन्ने मेरो धारणा हो।
- धेरै नेता, कार्यकर्ता तथा अभियन्ताहरूको अपेक्षासहित प्रश्न गरिरहेका हौँ ?
– तपाईंहरूले पनि खुलस्त यस्तो गर्नु भनेर भन्नुपर्छ। त्यसका लागि म तयार भइसकेको छैन भने तपाईंहरू त्यही कुरामा पटकपटक सोध्नु त्यति राम्रो होइन नि। मिडियामा जे आइरहेका छन् त्यो कुरा हो। त्यस्तो केही होइन।
- पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन त माओवादी केन्द्रको बैठकमै जानुभयो नि !
– उहाँ युवा हुनुहुन्छ। अनुभव छ। राजनीतिमा, संगठन गरेरै आउनुभएको मान्छे हो। मलाई त खुसी नै लागेको छ। राम्रो नै हो। मेरो शुभेच्छा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डाक्टरको सरूवामा संघ र प्रदेशबिच शक्ति संघर्ष : संघको निर्देशन लत्याउँदै लुम्बिनी सरकार
-
तीन लाख धरौटी बुझाएर छुटे रवीन्द्र मिश्र
-
बजेटको सँघारमा पनि स्थानीय तहमा छैन उत्साह, सरकारमाथिको अविश्वासले खुम्चिँदै आकार
-
रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न अदालतको आदेश
-
कम्बोडियामा पक्राउ परे ज्योति भण्डारी, नेपाल झिकाउन इन्टरपोल मार्फत पत्राचार
-
रवीन्द्र मिश्रको थुनछेक बहस सकियो