ओलीको जन्मघर नजिकै प्रचण्डले गरे जनयुद्ध स्मारकको शिलान्यास
तेह्रथुम । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्मस्थान तेह्रथुमको आठराईमा जनयुद्ध तथा शान्ति स्मारकको शिलान्यास गरेका छन् ।
सोमबार उपमहासचिव वर्षमान पुनलाई लिएर तेह्रथुम पुगेका प्रचण्डले आठराई गाउँपालिका–३ मा जनयुद्ध शान्ति सङ्ग्रहालयको शिलान्यास तथा सोही स्थानमा निर्मित ह्वाकू बगाले शहीद पार्कको उद्घाटन गरेका हुन् । माओवादी तेह्रथुमका नेता रघु गौतमका अनुसार स्मारक निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा एक करोड रुपैयाँ विनियोजन गरेको छ ।
विसं २०५८ माघ १४ गतेका दिन उक्त स्थानमा तत्कालीन सुरक्षा फौजले १८ जना माओवादी सेनाका लडाकु र ३ जना स्थानीयको गोली हानी हत्या गरेका थिए ।
पाँचथरको गोपेटार प्रहरी चौकी आक्रमणमा घाइते भएका लडाकुहरूको उपचार भइरहेको स्थानलाई घेरा हाली सुरक्षाकर्मीले आक्रमण गरेका थिए ।
सो स्थान प्रधानमन्त्री ओलीको गाउँ साबिकको इवा गाविस–२ तथा हालको आठराई गाउँपालिका–४ खानीगाउँ नजिकै अवस्थित छ ।
प्रमुख दुई कम्युनिस्ट घटक एमाले र माओवादीबिच सशस्त्र माओवादी युद्धलाई जनयुद्ध वा हिंसात्मक द्वन्द्व भन्ने विषयमा मतभेद जारी रहेका बेला प्रचण्डले ओलीको गाउँमा जनयुद्ध स्मारकको शिलान्यास गरेका हुन् । सो क्षेत्रबाट कोशी प्रदेशसभामा माओवादी केन्द्रका दुर्गा चापागाईँ निर्वाचित भएका छन् ।
केपी ओलीको जन्मघर नजिकै निर्माण हुन लागेको सङ्ग्रहालय ३३ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले विसं २०७९ सालमा उक्त स्थानमा स्मारक र सङ्ग्रहालय बनाउने निर्णय गरेको थियो ।
स्मारक शिलान्यास कार्यक्रममा प्रचण्डले जनयुद्धमा पहिलो पटक ठुलो नरसंहार भएको स्थानलाई राजनीतिक पर्यटनको गन्तव्य बनाउन सकिने बताए ।
‘यो क्षेत्रमा सङ्ग्रहालय निर्माण गरेर पूर्व क्षेत्रको ऐतिहासिक राजनीतिक पर्यटनको गन्तव्य बनाउन सकिन्छ,’ प्रचण्डले भने।
एमाले र कांग्रेस सम्मिलित गठबन्धनप्रति कटाक्ष गर्दै प्रचण्डले यो गठबन्धन दल र दल मिलेर नभई दलाल–दलाल मिलेर निर्माण गरेको आरोप लगाए ।
शिलान्यास कार्यक्रममा उक्त घटनामा मारिएका सबै २१ जनाका परिवारका सदस्यलाई प्रचण्डले दोसल्ला ओढाएर सम्मान गरेका थिए । प्रचण्डले जनयुद्धका समयमा पूर्वी कमान्डको सैन्य राजनीतिक नेतृत्व गरेका माओवादी उपमहासचिव वर्षमान पुनलाई पनि सँगै लिएर तेह्रथुम पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेर्नुहोस् साताका ७ तस्बिर
-
इजरायली सेनाद्वारा सात महिनाका प्यालेस्टाइनी शिशुको हत्या, आमाबुबा घाइते
-
युवा स्टार एन्ड्रिकको निर्णायक गोलमा ब्राजिलको जित, इजिप्ट पराजित
-
कमला पुल निरीक्षणमा पुगेका मन्त्री लम्सालसँग स्थानीयको आक्रोश
-
रास्वपा कोशी प्रदेशका ८ जिल्लामा अधिवेशन : सभापतिमा को–को भए विजयी ?
-
समुद्री विपद् न्यूनीकरणमा नयाँ आशा, चीनका वैज्ञानिकहरूले सार्वजनिक गरे नयाँ एआई मोडल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण