शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकाबाट सुरु भयो मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको अडिसन

मङ्गलबार, १५ माघ २०८१, १० : ०८
मङ्गलबार, १५ माघ २०८१

न्यूयोर्क । सबैभन्दा धेरै पुरस्कार राशी भएको विश्वस्तरीय नेपाली गायन र नृत्यका रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन दुईको अडिसन अमेरिकाको ओहायोबाट सुरु भएको छ ।

संसारका ५ महादेशहरूमा पर्ने १२ देशका १४ सहरहरूमा तय गरिएका यी अडिसनहरुको सुरुवात अमेरिकाको कोलम्बसबाट जनवरी २५ र २६ मा भएको छ । अमेरिका र क्यानडाका नेपाली जातिका गायन र नृत्यका प्रतिभाहरू सम्मिलित एक भव्य समारोहका बिच आयोजक संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले पानसमा बत्ती बालेर शुभारम्भ गरेका थिए ।

विश्वभर छरिएर रहेका नेपाली जातिका कलाकारहरूबिच प्रतिस्पर्धा गराइने यी दुवै शोहरुका विजेताले १ करोड, उपविजेताले २५ लाख र तेस्रो हुनेले १० लाख पुरस्कार पाउने छन् ।

शुभारम्भका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै फाउन्डेसनका अध्यक्ष अधिकारीले संसारको जुनसुकै कुनामा बसे पनि आफ्‌नो मौलिक संस्कृतिलाई जीवन्त राख्न प्रयत्न गरिरहनु पर्ने बताए । उनले नेपाली जातिको अमूल्य संस्कृतिले नै आफूहरूलाई नेपाली बनाएको भन्दै यसलाई जोगाउन विश्वस्तरीय दुई शोहरू सुरु गरिएको बताए ।

नेपाली जातिको संस्कृतिलाई गीत, संगीत र नृत्यका माध्यमबाट अर्को पुस्तासम्म पुस्तान्तरण गर्ने, यही माध्यमबाट नेपाली जातिको एकतालाई संसारभर मजबुत पार्ने र जहाँ सुकै बसे पनि नेपाली जातिलाई नेपालदेशसँग जोड्ने उद्देश्यले गैरनाफामुलक संस्था फाउन्डेसनले यी शो हरू आयोजना गर्दै आएको पनि उनले जानकारी दिए । अमेरिकाबाट सुरु भएको अडिसन युरोपका लन्डन र पोर्चुगल, जापानको टोकियो, चीनको हंगकंगमा फेब्रुअरी १५ र १६ मा हुंदै छ भने अस्ट्रेलियाको सिड्नीमा फेब्रुअरी २३, थाइल्याण्डको बैकक, युएईको दुवाईमा फेब्रुअरी २२ र २३ मा हुने जानकारी पनि दिइयो । त्यसैगरी कतारको दोहामा फेब्रुअरी २१ मा र भारतको मुम्बईमा मार्च १ र २ मा अडिसन हुने छन् । भारतको सिलगसडीमा मार्चको ८ र ९ तारिकमा अडिसन सम्पन्न गरेपछि नेपालका विभिन्न चार सहरहरू बिर्तामोड, पोखरा, नेपालगन्ज र काठमाडौँ अडिसनहरू सम्पन्न गरी संसारभरबाट छानिएका प्रतिभाहरूलाई फाउन्डेसनले आफ्‌नै खर्चमा नेपाल लैजाने र बाँकी प्रतिस्पर्धालाई अघि बढाउने छ । दुवै शो हरू नेपाल टेलिभिजनबाट प्रसारण गरिने जानकारी पनि कार्यक्रममा दिइएको थियो ।

अमेरिका र क्यानडाका गीत र नृत्यका ६० भन्दा बढी प्रतिभाहरूले भाग लिएको सो अडिसनबाट गीततर्फ ६ जना र नृत्यतर्फ ५ जना छनौट गरिएको छ । अमेरिकाको फिल्ड अडिसनका लागि निर्णायकहरूमा गायनतर्फ वरिष्ठ सङ्गीतकार सुशील विश्वकर्मा , गायकहरू केशव पौडेल, अर्जुन रसाइली र सङ्गीतकार मुस्कान बलम्पाकी मगर तथा नृत्यतर्फ नायक दिलीप रायमाझी, शङ्कर विसी, रुपेश उप्रेती र पार्वती राई  थिए । कार्यक्रममा अध्यक्ष अधिकारीले फाउण्डेसनको संस्कृति विभागको प्रमुखमा पेन्सिलभेनिया निवासी ओमराज गुरुंगलाई नियुक्त गरिएको जानकारी पनि दिएका थिए । मेरो डान्स युनिभर्सको अमेरिका अडिसनका दिन इन्ट्रा डान्स स्कूल कोलम्बसका विद्यार्थीहरूले समेत आकर्षक नृत्यहरू देखाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप