क्रान्तिकारी कम्युनिस्ट पार्टीको बैठकमा ५ विषयमा छलफल: ट्रम्पको प्रशंसा, ओलीको आलोचना
काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको स्थायी समिति बैठकमा विभिन्न ५ विषयमा छलफल भएको छ ।
कार्यवाहक महासचिव सीपी गजुरेलको अध्यक्षतामा सोमबार बसेको बैठकपछि मंगलबार जारी विज्ञप्तिमा केपी ओली नेतृत्वको सरकारको आलोचना गरिएको छ । यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गरिएको छ ।
‘हामीले नेपालका शासकहरू मुख्यतः नेपाली काङ्ग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूले देशलाई आत्मनिर्भर अर्थतन्त्रको विकासतिर लैजाने भन्दा पनि विभिन्न साम्राज्यवादी शक्तिहरूको दलाली गरेर देशलाई पर निर्भरतातिर लगिरहेका छन् भनेर जुन आलोचना गरेका थियौँ त्यो कुरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत नेपालका ती नेताहरूको कामलाई फ्रड (ठगी) भनेर आलोचना गरेबाट थप पुष्टि हुन पुगेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘ हाम्रो पार्टी देशमा आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि यो दलाल, नोकरशाही तथा सामन्ती सत्तालाई ध्वस्त पारी सङ्घीय जनगणतान्त्रिक राज्य व्यवस्था ल्याउने काममा जुट्न आम जनसमुदायलाई आह्वान गर्दछ ।’
बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको अभिव्यक्तिको आलोचना गर्दै पूर्वराजा र राजावादीहरूले राजतन्त्र फर्काउन गर्ने कुनै पनि प्रयासका विरुद्ध उभिने निर्णय गरेको छ।
यसैगरी बैठकले ताप्लेजुङको मकुम्लुङमा स्थानीय जनचाहना विपरीत केबुल कार निर्माण गर्न राज्यले जनतामाथि दमन गरेको भन्दै आलोचना गरेको छ भने भारतको ओडिसामा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यूप्रति दुःख व्यक्त गर्दै नेपाली विद्यार्थीलाई स्वदेश मै सर्वसुलभ रूपमा उच्च शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्न सरकारसँग माग गरिएको छ ।
यस्तै नेपाल ग्रे लिस्टमा परेको र यसले आगामी दिनमा नेपालको अर्थतन्त्रमा नकारात्मक असर पार्ने बैठकको निष्कर्ष छ। देशलाई यो स्थितिमा ल्याउन पनि देशका प्रमुख पार्टीहरू नेपाली काङ्ग्रेस, एमाले र माओवादी केन्द्रको नेतृत्वमा बनेका सरकारहरू नै जिम्मेवार रहेको पार्टीको ठहर छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण