होली पर्वको अवसरमा हुने विकृतिलाई निरुत्साहित गर्न अध्यक्ष दाहालको आग्रह
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले होली पर्वका अवसरमा हुने विकृतिलाई निरुत्साहित गर्दै सभ्य रूपमा होली मनाउन सबैमा आग्रह गरेका छन् । फागु पूर्णिमाका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जथाभाबी लोला हान्ने, फोहर पानीको प्रयोग गर्ने, हूलहुज्जत गर्नेजस्ता विकृति पनि देखिन थालेकाले यसो नगर्न आग्रह गरे ।
अध्यक्ष दाहालले भने, “सद्भाव, भ्रातृत्व र विविध रङहरूको पर्व फागु पूर्णिमाका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस पर्वले हामी सबैलाई आपसी सद्भाव, भ्रातृत्व एवं विविध रङहरूको मिश्रणजस्तै एकताबद्ध भई अघि बढ्न प्रेरणा दिने मैले विश्वास लिएको छु ।”
नेपाली समाजमा मनाइने विविध सांस्कृतिक तथा ऐतिहासिक महत्वका चाडपर्वहरूमध्ये फागु पर्व एक विशिष्ट पर्व हो । पहाडमा पहिलो दिन र तराई–मधेसमा त्यसको भोलिपल्ट मनाइने यस पर्वलाई मधेस प्रदेश र विशेषगरी मिथिला क्षेत्रमा निकै महत्वका साथ मनाउने गरिन्छ । परिवार, आफन्तजन, साथीभाइ जम्मा भई एकअर्कालाई विविध रङ दलेर, टीका लगाएर सांस्कृतिक सद्भाव र सामाजिक सम्बन्ध गाढा बनाउने महत्वपूर्ण पर्वका रूपमा यसलाई मनाउने गरिन्छ । नेपालका अधिकांश जातजाति, भाषाभाषी र समुदायले हर्षोल्लासपूर्वक मनाउने यस पर्वले मनोरञ्जनका साथै भावनात्मक एकता कायम गर्न पनि विशेष भूमिका खेल्दै अध्यक्ष दाहालको सन्देशमा उल्लेख छ ।
“पूर्वीय सभ्यता, दर्शन, चिन्तन परम्परा, मौलिक संस्कृति र विविध पर्वहरूका दृष्टिले हामी धेरै सम्पन्न छौँ, विविधतासहितको एकतामा आधारित हाम्रो समाज र संस्कृति संसारकै निम्ति अनुकरणीय र प्रेरणादायी छ । यसको जगेर्ना गर्दै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विशेषतामा आधारित देश, समाज र संस्कृतिलाई थप समुन्नत बनाई राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु हामी सबैको साझा दायित्व हो”, उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण