महिला संघमा चर्कियो विवादः माग पूरा नभए राजीनामा दिने २० केन्द्रीय सदस्यको चेतावनी
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल महिला संघमा विवाद चर्किएको छ । पार्टीभित्रको इतर समूहका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा निकटका संघका २० केन्द्रीय सदस्यले चारबुँदे माग राख्दै पूरा नभए सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् ।
उनीहरूले चैत २१ गते पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै ‘नेपाल महिला संघको अध्यक्षको मनपरी अन्त्य गरी विधिसम्मत अधिवेशन गर्ने वातावरण गरिपाउँ भन्ने ज्ञापनपत्र’ शीर्षकमा बुझाएको पत्र कांग्रेस केन्द्रीय कार्यालयले आज १७५ नम्बरमा दर्ता गरेको छ ।
पत्रमा महिला संघकी तदर्थ समिति संयोजक उषा मिश्र राउतले मनोमानी गरेको भन्दै चारबुँदे माग राखेकी छन् । ती माग सभापति देउवाले अविलम्ब नमिलाए सामूहिक राजीनामा दिन आफूहरू बाध्य हुने उल्लेख गरेकी छन् ।
पहिलो मागका रूपमा उनीहरूले संयोजक राउतले केन्द्रीय समितिको निर्णयविपरीत, संघको विधानविपरीत ११ जिल्लाका अध्यक्षलाई हटाएको आरोप लगाउँदै उनीहरूलाई पुनर्वहाली गर्न माग गरेका छन् । दोस्रो मागका रूपमा दोलखा अध्यक्ष कृष्णकुमारी खड्कालाई हटाएर अर्कैलाई तोकिएको संयोजकसम्बन्धी निर्णय फिर्ता हुनुपर्ने माग गरेका छन् ।
तेस्रो मागमा सर्लाहीमा जिल्ला अध्यक्ष सुशीला कार्कीलाई थाहा नदिएर रमा भट्टराईमार्फत नौ सय क्रियाशील सदस्य पठाएकोमा पनि उनीहरूको असन्तुष्टि छ । अन्तिम मागका रूपमा पुरानो क्रियाशील सदस्यता नवीकरण नगरी नयाँ एकलौटी र मनोमानी ढंगबाट बाँडेको आरोप लगाउँदै सच्याउन माग गरेका छन् ।
उनीहरूले पार्टीले संघको महाधिवेशन गराउन निर्देशन समितिको संयोजक बनाएका पार्टी प्रवक्ता डा. प्रकाशशरण महत तथा सदस्यहरू केन्द्रीय सदस्य पुष्पा भुसाल र रुक्मिणी कोइरालाको भूमिका पनि विवादित रहेको पत्रमा उल्लेख गरेका छन् ।
निर्देशन समिति संयोजक डा. महतले अध्यक्ष राउतको मनोमानीलाई साथ दिएको आरोप असन्तुष्टहरूको छ । ध्यानाकर्षण पत्रमा हस्ताक्षर गर्नेहरूमा चन्दादेवी जोशी, रिता शाही, छायाँ सुनार, नवोदिता चौधरीसहित छन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण