मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल

मङ्गलबार, ०५ साउन २०८३, १८ : १८
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि एमबीबीएससहित विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारीलाई तीव्र बनाएको छ।
  • नवनियुक्त उपकुलपति प्रा.डा. सुनिलकुमार जोशीले झण्डै सात अर्ब रुपैयाँको लागतमा निर्माण भएको भौतिक संरचनालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनुलाई मुख्य प्राथमिकतामा राखेका छन्।
  • यसै शैक्षिक सत्रदेखि एमबीबीएसमा ५० विद्यार्थी भर्ना गरिनेछ र प्रारम्भिक चरणमा ३ सय बेडको शिक्षण अस्पताल सञ्चालन गरिनेछ।

धनगढी । लामो समयदेखि सञ्चालनको प्रतीक्षामा रहेको कैलालीको गेटास्थित शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि एमबीबीएससहित विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारीलाई तीव्र बनाएको छ।

विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालन, आवश्यक जनशक्ति व्यवस्थापन, उपकरण परीक्षण तथा खरिद र शैक्षिक पूर्वाधारलाई पूर्ण रूपमा प्रयोगमा ल्याउने कामलाई एकसाथ अघि बढाएको हो।

नवनियुक्त उपकुलपति प्रा.डा. सुनिलकुमार जोशीले पदभार ग्रहणसँगै विश्वविद्यालयको मुख्य प्राथमिकता झण्डै सात अर्ब रुपैयाँको लागतमा निर्माण भएको भौतिक संरचनालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनु रहेको बताएका छन्।

चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा सँगसँगै विस्तार गर्दै सुदूरपश्चिम प्रदेशको कमजोर स्वास्थ्य सूचकाङ्क सुधारमा विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यसै शैक्षिक सत्रदेखि एमबीबीएसमा ५० विद्यार्थी भर्ना गर्ने तयारी गरिएको छ। त्यससँगै बीएससी नर्सिङ, ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी र बी. अप्टोमेट्री कार्यक्रम पनि सञ्चालनमा ल्याइनेछ। चिकित्सा शिक्षा आयोगको अनुगमन टोली करिब एक महिनाभित्र गेटा पुग्ने अपेक्षा गरिएको छ। अनुगमनपछि आवश्यक स्वीकृति प्राप्त भए लगत्तै विद्यार्थी भर्ना प्रक्रिया सुरु हुनेछ।

शैक्षिक कार्यक्रमसँगै शिक्षण अस्पताल सञ्चालनको तयारी पनि अन्तिम चरणमा पुगेको छ। गेटामा निर्माण भएको अस्पताल ६ सय बेड क्षमताको भए पनि प्रारम्भिक चरणमा ३ सय बेडको शिक्षण अस्पताल सञ्चालन गरिनेछ। 

अस्पताल सञ्चालनका लागि आवश्यक सङ्गठन तथा व्यवस्थापन संरचना स्वीकृत भइसकेको छ भने बजेटको व्यवस्थासमेत सुनिश्चित गरिएको छ। तीन वर्षअघि मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयन गर्दै अस्पताललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाइएको हो।

विश्वविद्यालयका लागि आवश्यक जनशक्ति व्यवस्थापन पनि तीव्र गतिमा भइरहेको छ। ७७ जना फ्याकल्टी पदका लागि यसअघि नै आवेदन आह्वान गरिएको थियो।

प्राध्यापक र सह–प्राध्यापक पदको अन्तर्वार्ता सम्पन्न भइसकेको छ भने अब उप–प्राध्यापकहरूको छनोट प्रक्रिया पूरा गरी नियुक्ति गरिनेछ। त्यसपछि नियमित शैक्षिक तथा प्राज्ञिक गतिविधि सञ्चालन गर्ने तयारी छ।

पाँच वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेका स्वास्थ्य उपकरण तथा सामग्रीको प्राविधिक परीक्षण गरिने भएको छ। गेटा अस्पताल विश्वविद्यालय मातहत ल्याउने प्रक्रिया अघि बढेसँगै आन्तरिक तथा बाह्य विज्ञहरूको टोलीले उपकरणहरूको अवस्था मूल्याङ्कन गर्नेछ। 

प्रयोगयोग्य उपकरण मर्मत गरेर सञ्चालनमा ल्याइनेछ भने आवश्यक नयाँ उपकरण तथा प्रयोगशाला सामग्री खरिद प्रक्रिया पनि सुरु गरिनेछ। विश्वविद्यालयले आफ्नो सेवा गेटामा मात्र सीमित नराख्ने योजना बनाएको छ। सुदूरपश्चिमका दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउन टेलिमेडिसिन प्रणाली विस्तार गरिनेछ।

अछामको रामारोशन र बाजुराको बडीमालिकालगायत दुर्गम क्षेत्रलाई प्रविधिमार्फत विशेषज्ञ चिकित्सकसँग जोड्ने तयारी भइरहेको छ। यसका लागि अन्तर्राष्ट्रिय विज्ञ तथा संस्थासँग सहकार्य गर्ने योजना बनाइएको डाक्टर जोशीले जानकारी दिए।

उनका अनुसार त्यसैगरी सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, टीकापुर अस्पताल र लम्की–चुहा अस्पताललाई विश्वविद्यालयसँग आबद्ध गर्दै शिक्षण अस्पतालका रूपमा विकास गर्ने दीर्घकालीन योजना अघि सारिएको छ। 

यसबाट चिकित्सा शिक्षाका विद्यार्थीले प्रदेशभित्रै विभिन्न अस्पतालमा व्यावहारिक प्रशिक्षण लिन सक्नेछन् भने विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच पनि विस्तार हुने अपेक्षा गरिएको छ। विश्वविद्यालय सञ्चालनलाई प्रभावकारी बनाउन सङ्घ, प्रदेश र स्थानीय सरकारबिच समन्वयसँगै नागरिक समाज र सञ्चारमाध्यमको सहयोग आवश्यक पर्ने देखिएको उनले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप