बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चुनौतीका बाबजुद नेपालको पूर्वाधार क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि : रवि सिंह

बुधबार, २७ चैत २०८१, १५ : २३
बुधबार, २७ चैत २०८१

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले विभिन्न प्रकारका चुनौतीका बाबजुद नेपालले जलस्रोत, सडक सञ्जाल, सिँचाइ, उड्डयन क्षेत्र लगायतमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन् । 

सिंगापुरमा एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका मुलुकहरूको साझा निर्माण संगठन (इफाप्का) को ४७ औँ सम्मेलनलाई नेपाली प्रतिनिधिमण्डलको तर्फबाट सम्बोधन गर्दै महासंघ अध्यक्ष सिंहले भौतिक पूर्वाधारको नेपालको वर्तमान अवस्थाबारे प्रकाश पारेका हुन् । 

पूर्व इफाप्का अध्यक्ष समेत रहेका अध्यक्ष सिंहले नेपाली निर्माण व्यवसायीहरूले भौतिक पूर्वाधारको क्षेत्रमा विभिन्न कठिनाइको सामना गर्नु परिरहेको बताए । 

विश्वव्यापी रूपमा देखिएको आर्थिक मन्दीको शिकार नेपालको पूर्वाधार क्षेत्र पनि भएको बताउँदै नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन पूर्वाधार क्षेत्रको विकास अपरिहार्य भएको उनको भनाई थियो । 

विश्वका अन्य विकासशील देशहरूले जस्तै नेपालको निर्माण उद्योगले पनि जलवायु परिवर्तनको प्रत्यक्ष मार खेपिरहेकोतर्फ अध्यक्ष सिंहले विश्व समुदायको ध्यानाकर्षण गराए ।

विगत केही महिना अघिदेखि निर्माण सामग्रीमा भइरहेको अत्यधिक मूल्यवृद्धिका कारण पनि नेपालको निर्माण उद्योगमा प्रतिकुल असर देखिएको अध्यक्ष सिंहले जानकारी गराए । 

सरकार, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय दाताहरूसँगको सहकार्यलाई नेपालले प्राथमिकतामा राखेको भन्दै अध्यक्ष सिंहले निर्माण उद्योगका लागि प्रविधिमा लगानीमा विशेष जोड दिए । निर्माण उद्योगको विकासका लागि इफाप्का जस्ता क्षेत्रीय संगठनका सदस्य राष्ट्रहरूबिचको सहकार्य जरुरी भएको अध्यक्ष सिंहले बताए । 

निर्माण उद्योगमा समस्या देखिएको वर्तमान अवस्थामा ‘भोलिको निर्माणलाई अंकमाल’ भन्ने नारा सहित ४७ औँ इफाप्का सम्मेलन सिंगापुरमा आयोजना गरिएको हो । 

४६ औँ इफाप्का सम्मेलनमा सन् २०२३ को नोभेम्बरमा नेपालले आयोजना गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप