प्राधिकरणको बोर्ड बैठक : विद्युत दुर्घटनाका पीडितलाई १० लाखसम्म राहत दिने निर्णय
काठमाडौं । नेपाल विद्युत प्राधिकरण संचालक समितिको बैठकले विद्युतीय दुर्घटनाका कारण कर्मचारी वा सर्वसाधारणको मृत्यु भएमा १० लाखसम्म राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको अध्यक्षतामा बसेको प्राधिकरणको ९ सय ९५औं बैठकले सो निर्णय गरेको हो ।
हालको व्यवस्था अनुसार विद्युतीय दुर्घटनामा परी मृत्यु भएमा कर्मचारीको हकमा बढीमा ५ लाख राहत र परिवारलाई तीन तहसम्मको रोजगारी दिने व्यवस्था रहेको थियो ।
त्यस्तै सर्वसाधारणको हकमा बढीमा ५ लाखसम्म राहत दिने व्यवस्था भएपनि शुक्रवार मन्त्री खड्काको अध्यक्षतामा बसेको बैठकले १० लाखसम्म राहत उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले विद्युतीय दुर्घटनामा परेकाहरुलाई दिनुपर्ने राहत कुनै पनि बहानामा नरोक्न र तत्काल उपलब्ध गराउन समेत मन्त्री खड्काले निर्देशन दिएका हुन् ।
बैठकले विद्युत वितरण विनियमावली २०७८ लाई संशोधन गरी उपभोक्ताको असन्तुष्टि सम्बन्धी पुनरावेदन प्रक्रियामा उल्लेखनीय सुधार गर्ने निर्णय गरेको छ ।
कुनै उपभोक्तालाई आफूले प्रयोग गरेको विद्युत महसुलमा असन्तुष्टी वा चित्त नबुझे पुनरावेदन दर्ता गर्दा लाग्ने धरौटी रकम २५ प्रतिशतबाट घटाएर ५ प्रतिशत मात्र कायम गर्ने निर्णय भएको छ ।
सर्वसाधारणले विद्युत उपभोग गरेवापत प्राधिकरणले उपलब्ध गराउने विद्युत महसुलमा पटक पटक चित्त नबुझेको व्यापक गुनासाहरु आउने गरेको थियो । यो निर्णयले सर्वसाधारणमाथि पर्ने आर्थिक दबाव घटाएको छ भने विद्युत प्राधिकरणप्रति नागरिकको विश्वास बढाउने छ ।
गुणस्तरहीन सेवा दिने संस्थासँगको सम्झौता खारेज
बैठकले प्राधिकरणसँग सेवा प्रवाहको सम्झौता गरेका तर गुणस्तरीय सेवा दिन नसकेका संस्थाहरुको नविकरण खारेज गर्ने निर्णय गरेको छ ।
प्राधिकरणको सेवालाई थप व्यवस्थित बनाउन राष्ट्रिय ग्रिड विस्तार भएको क्षेत्रमा प्राधिकरण आफैंले सेवा प्रदान गर्ने निर्णय गरेको हो । गुणस्तरीय सेवा प्रदान गर्ने संस्थाहरुको मूल्याङ्कन गरी आवश्यकता अनुसार सम्झौतालाई निरन्तरता दिने भएको छ ।
पुनरावलोकन समिति गठन
बैठकमा ऊर्जा मन्त्रालयका सचिवको संयोजकत्वमा प्रशासकीय पुनरावलोकन समिति गठन गर्ने निर्णय पनि गरिएको छ ।
चार सदस्यीय यो समितिमा प्राधिकरणका उपकार्यकारी निर्देशक, विद्युत विकास विभागका विज्ञ, प्राधिकणका कार्यकारी निर्देशक सदस्य–सचिव रहनेछन्, जसले निर्णय प्रक्रियामा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने प्राधिकरणले जनाएको छ ।
उपभोक्ता र सर्वसाधारणलाई केन्द्रमा राखेर प्राधिकरणको सुधारका लागि महत्वपूर्ण निर्णय गरिएको प्राधिकरण संचालक समितिका सदस्य श्याम किशोर यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण