लस एन्जल्स ओलम्पिकमा क्रिकेट खेल अस्थायी रंगशालामा खेलाइने

काठमाडौँ । सन् २०२८ को ओलम्पिक खेलकुद अमेरिकाको लस एन्जल्समा आयोजना हुँदैछ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले यसपटक ओलम्पिकमा क्रिकेट खेललाई पनि समावेश गरेको छ । क्रिकेट खेल एक सय २८ वर्षपछि ओलम्पिकमा फर्किएको हो ।
यसअघि सन् १९०० को ओलम्पिकमा क्रिकेट खेल समावेश गरिएको थियो । लस एन्जल्स ओलम्पिक आयोजक समितिले क्रिकेट खेलका लागि अस्थायी संरचना बनाइने जनाएको छ । समाचारमा जनाइए अनुसार, क्रिकेटको अस्थायी रंगशाला क्यालिफोर्नियाको दक्षिण भागमा रहेको पोमोनामा तयार पारिने छ । पोमोना सहर गाडीबाट ओलम्पिक भिलेजभन्दा करिब एक घण्टाको दूरीमा रहेको छ ।
स्थानीय आयोजकले क्रिकेटको अस्थायी रंगशाला तयार पार्न थुप्रै स्थानको खोजी गरिएकोमा पोमोना सहर सबैभन्दा उपयुक्त देखिएको हो । क्रिकेटका खेलाडीहरु पनि क्यालिफोर्निया विश्वविद्यालयमा तयार पारिने ओलम्पिक भिलेजमै बस्नेछन् ।
‘क्रिकेट खेलाडीलाई पनि ओलम्पिक भिलेजमै राखिने छ । जसले गर्दा क्रिकेट खेलाडीहरुले आफूलाई एक्लाएको अनुभव गर्ने छैनन् र उनीहरुले पनि ओलम्पिकमा सहभागी अन्य खेलाडीसँग अनुभव साटासाट गर्ने राम्रो अवसर पाउने छन्,’ स्थानीय आयोजकले भनेको छ ।
पोमोनामा क्रिकेट खेलका लागि रंगशाला तयार पारिने स्थानलाई फेयरग्राउन्ड्स भनिन्छ । उक्त स्थानलाई आधिकारिक रुपमा फेयरप्लेक्स भनेर चिनिन्छ । उक्त स्थानमा सन् १९२२ देखि लस एन्जल्स काउन्टी फेयर आयोजना हुँदै आएको छ । उक्त ओलम्पिकमा क्रिकेटका लागि ९० जना खेलाडीको कोटा निर्धारण गरिएको छ । यस आधारमा ओलम्पिकमा क्रिकेटतर्फ ६ वटा टोलीले मात्र सहभागिता जनाउन पाउने छन् । प्रत्येक टोलीमा १५ जना खेलाडी रहने छन् ।
ओलम्पिकमा खेलाइने क्रिकेट टी–२० ढाँचाको हुनेछ । ओलम्पिकका लागि क्रिकेटको छनोट प्रक्रिया भने हालसम्म निश्चित भइसकेको छैन । सम्भवतः अमेरिकाले उक्त ओलम्पिकमा आयोजकको नाताले स्वतः प्रवेश पाउने छ । यस्तो स्थितिमा बाँकी पाँच टोली छनोट चरणबाट आउने छन् ।
यदि ओलम्पिकका लागि वरीयतालाई छनोटको आधार बनाइयो भने केही चर्चित राष्ट्रले सहभागिताको अवसर गुमाउने छन् । विश्व क्रिकेटमा भारत र पाकिस्तानबिचको खेललाई निकै महत्वका साथ हेरिन्छ । यदि वरीयताका आधारमा टोली छनोट गरियो भने पाकिस्तानले ओलम्पिक खेल्ने अवसर नपाउन सक्ने सम्भावना देखिन्छ ।
पछिलो समय अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानको प्रदर्शन खासै गतिलो देखिँदैन । तर, हालसम्म ओलम्पिकका लागि छनोटको ढाँचा भने टुंगो लागिसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
-
सुदीप न्यौपानेको परिवारलाई भेट्न पुगे भारतीय राजदूत
-
बुद्ध दर्शनको सान्दर्भिक पक्षहरूलाई आजको परिवर्तन र रूपान्तरणको काममा लगाउनुपर्छ : खनाल
-
तेस्रो एभरेस्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता सम्पन्न, पलेसाको पनि सहभागिता
-
निःशुल्क आँखा परीक्षण गराउन पाउँदा वृद्धवृद्धा खुसी
-
स्वयम्भूनाथ क्षेत्रमा बौद्धमार्गीको घुइँचो, बुद्धको अस्तुधातु दर्शनका लागि राखियो