गणेशको आत्मदाहले दबाबमा बालेन सरकार, सत्ता पक्षकै नेताले पोखे असन्तुष्टि
सारांश
- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ ।
- यस घटनालाई लिएर सरकारको चौतर्फी आलोचना भइरहेको छ भने सत्तासीन दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै नेताहरूले सरकारको आलोचना गरेका छन् ।
- एक नागरिकले आफ्नै शरीरमा आगो लगाउने निर्णय गर्नुपर्ने परिस्थिति आउनु समाज, राज्य र राजनीतिका लागि सबैभन्दा ठुलो असफलता भएको रास्वपाका केन्द्रीय सदस्य हिमेश पन्तले बताएका छन् ।
काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु भएको छ । मुगु जिल्लाको सोरु गाउँपालिका–१ का स्थायी बासिन्दा रहेका २५ वर्षीय नेपालीले बिहीबार आत्मदाहको प्रयास गरेका थिए ।
उक्त घटनाअघि काठमाडौँ महानगर प्रहरी बलका सदस्यसँग ‘ह्वील लक’ को विषयमा नेपालीको चर्को विवाद भएको थियो । विवादका बिच नेपालीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । उनको वीर अस्पतालको ‘बर्न आइसियु’मा उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो ।
करिब ५५ प्रतिशत शरीर जलेको अवस्थामा उनलाई प्रहरीले उद्धार गरी अस्पताल भर्ना गरेको थियो । यस घटनालाई लिएर अहिले सरकारको चौतर्फी आलोचना भइराखेको छ ।
यसअघि २०७९ साल माघ १० गते प्रेम आचार्यले नयाँ बानेश्वरमा पेट्रोल छर्केर आत्मदाह गरेका थिए । आचार्यको त्रासदीपूर्ण दुःखान्त घटना सेलाउन नपाउँदै नेपालीको मृत्युले राज्यको चरित्रबारे नै गम्भीर प्रश्न उठाएको छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै नेताहरूले सरकारको आलोचना गरेका छन् ।

रास्वपाका सांसद समीक्षा बास्कोटाले आचार्य र नेपालीको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै ‘निःशब्द’ लेखेकी छिन् । हिजो आचार्यको जलनले जुन प्रश्न जन्मायो, आज नेपालीको जलनले फेरि त्यही प्रश्न दोहोर्याएको उनले बताएकी छन् । उनले लेखेकी छन्, ‘फरक केवल समयको हो, समस्याको होइन । पीडा त्यही छ । आगोले शरीरमात्र जलाउँदैन, समाजको संवेदनशीलता र राज्यको जिम्मेवारीलाई पनि कठघरामा उभ्याउँछ ।’
त्यो जलनमा लगाउने मलम खोज्न, अझ भन्नुपर्दा कोही यसरी जलिरहनु पर्ने अवस्थाको अन्त्य खोज्न कहिले सकिएला भनेर उनले प्रश्न उठाएकी छन् ।
रास्वपाका अर्का सांसद गणेश कार्कीले मान्छे मर्नु वा मारिनु हरेक अवस्थामा दुःखद् र संवेदनशील विषय भएको बताएका छन् । ‘यसमा पक्ष वा विपक्ष भन्ने नै हुन्न । यसलाई पनि सही ठहर्याउने कसैले तर्क गर्छ भने त्यो नै अमानवीय हुन्छ । कसैको कारणले यो भएको रहेछ भने छानबिन र उचित कारबाही हुनै पर्छ,’ कार्कीले लेखेका छन् ।

सरकारसहित राज्यका हरेक तह, अङ्ग र निकायहरूका लागि यो आजको समयको सबैभन्दा प्रमुख विषय भएको, नेपालमा हरेक दिन ८० जनाले विभिन्न किसिमले विभिन्न ठाउँमा आत्महत्याको प्रयास गर्ने गरेका र दिनमा औसत १८ जनाको आत्महत्या हुन्छ भन्ने तथ्याङ्क देखाएर यसलाई सामान्यीकरण गरिनु नहुने कार्कीको भनाइ छ ।
कार्की लेख्छन्, ‘हिजो काठमाडौँमै एक महिलाले धोबीखोलामा फालहालेर ज्यान फ्यालिन्, जसको बल्खुमा शव भेटियो । त्यस्तै घटना देशभर हिजो पनि भएका छन् । आज पनि केही घटना भइसकेका होलान् र आज नै आत्महत्या गर्ने लाइनमा ५० भन्दा बढी मान्छे होलान् । हामीले रोक्नु पर्ने यसलाई हो । हरेक दिनको मुख्य काम हो । हरेक मान्छे जोगाउनु राज्यको काम हो ।’

केन्द्रीय सदस्य हिमेश पन्तले एउटा नागरिकले आफ्नै शरीरमा आगो लगाउने निर्णय गर्नुपर्ने परिस्थिति आउनु भनेको समाज, राज्य र राजनीतिका लागि सबैभन्दा ठुलो असफलता भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा पन्त लेख्छन्, ‘गणेश नेपालीको यस्तो निर्णय एकैछिनमा हुँदैन । यो धेरै समयदेखि थुप्रिएको पीडा, निराशा, अपमान र असहायताको विष्फोट हो । दुःख यसमा लागिरहेको छ कि परिवर्तनको आशा बोकेर राजनीतिमा आएका हामीले पनि तपाईंलाई यति विश्वास दिलाउन सकेनौँ कि कुनै पनि पीडाभन्दा जीवन ठुलो हुन्छ । तपाईंको निराशाभन्दा हाम्रो आशा कमजोर रहेछ ।’
एक नागरिकको शरीर जल्नु अघि उसको मन कति पटक जलेको थियो होला ? यो प्रश्न राज्यले सुन्नैपर्ने र कानुनको डण्डा भन्दा पहिले राज्यको हातमा मानवीयता हुनुपर्नेमा उनले जोड दिएका छन् ।
सांसद रञ्जु दर्शना रोग, शोक र भोकमा बग्ने आँशु झुटो नहुने बताएकी छन् । हिजो सुकुम्बासी व्यवस्थापनको विषयमा दुध चुसाइरहेकी आमा, सुत्केरी, बृद्ध बा–आमाहरूलाई पनि यस्तै व्यवहार नगरियोस् भनेर सदनमा पटक पटक बोलेको उनको भनाइ छ ।

‘हिजो सुकुमबासी व्यवस्थापनको विषयमा १०० दिने कार्यसूचीको बुँदा ९१ भन्दाअघि ९२ सारियो । दुध चुसाई रहेकी आमा, सुत्केरी, बृद्ध बा आमाहरूलाई पनि एकै व्यवहार नगरियोस् भनेर सदनमा पटक पटक आवाज राखेँ । सम्बन्धित निकाय पनि निवेदन गरेँ । यो काम सरकारको तर्फबाट ठिक ढङ्गले भएन’, दर्शनाले असन्तुष्टि पोखिन् ।
गणेश नेपालीको आत्मदाह उनको उपचार खर्च व्यहोर्नेसम्म सीमित रहन नमिल्ने उनको तर्क छ । आफैँलाई जलाउने बिन्दुसम्म किन पुगे भन्ने खोजिनुपर्छ र त्यो खोजबाट सरकारले आफ्नो काममा प्रेरणा लिनुपर्नेमा उनको भनाइ छ ।
‘एक गणेशले त भौतिक रूपमै आफूलाई जलाए तर दैनिक मैले सकिनँ, मरौँ कि क्या हो भन्ने सोच आउने लाखौँ युवाका लागि जीवन केही भए पनि सहज हुने नीति सरकारबाट चाहिन्छ’, दर्शना लेख्छिन्, ‘मैले सकिनँ भन्ने आभास कमजोर मनोबल मात्रै हुँदैन, सामाजिक–आर्थिक संरचनाको ठक्करले मानिसहरूलाई ठेल्नुसम्म ठेलेपछि यथार्थबाट आएको हुन्छ । मनोपरामर्श मात्रै यो अवस्थाको समाधान होइन ! जीवनमा आधारभूत आवश्यकता पूरा हुनु मनको सबैभन्दा ठुलो सुरक्षा हुन्छ ।’
विगत ३५ वर्षसम्म पुराना दलले केही गरेनन् भन्ने नकारात्मक भाष्यबाट उत्पन्न भएको जेनजी विद्रोहको बलमा शक्तिशाली भएको रास्वपाकै नेतृत्वमा बनेको सरकार विरुद्ध पार्टीभित्र र बाहिर विस्तारै असन्तुष्टि बढ्दै गएको देखिन्छ । एक युवाले दिनदहाडै मृत्युवरण गर्नुपर्ने अवस्थाले समाज फेरि निराशातर्फ अगाडि बढेको हो कि भन्ने अनुभूति हुन थालेको छ ।
चार वर्षअघि प्रेम आचार्यले संसद् भवन अगाडि आत्मदाह गर्दा रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेनले आम नागरिकमा देखिएका निराशाको साहनुभूति लिने प्रयास गरेका थिए । त्यतिबेलाका सरकारलाई आलोचना गर्दै उनले सामाजिक सञ्जालमा लेखेको स्टाटस अहिले निकै भाइरल भइराखेको छ ।
त्यतिबेला राज्यमाथि गम्भीर प्रश्न गरेका रवि–बालेन अहिले जबाफ दिने ठाउँमा पुग्दा अस्वाभाविक मौन देखिएका छन् । काठमाडौँको नदी किनारमा वर्षौंदेखि बसेका सुकुमबासीलाई सरकारले कुनै व्यवस्था नगरी डोजर चालायो, केही समय होल्डिङ सेन्टरमा राखेका उनीहरूलाई प्रतिपरिवार २५ हजार दिएर आफ्नो व्यवस्था आफैँ गर्न दबाब दिएको आरोप लागेको छ ।
आफू बस्दै आएको घर भत्किएपछि तनावमा रहेका इन्द्रबहादुर राईले बल्खु खोला नजिकै आत्महत्या गरे । सरकार संविधान, विधि र कानुनी शासनबाट भन्दा पनि संख्याको दम्भका आधारमा हुकुमी शासन चलाइराखेको विपक्षी दलहरूले आरोप लगाएका छन् । राज्य आतङ्कका कारण समाजका सबै क्षेत्र आतङ्कित भइरहेको देखिन्छ । राज्य आतङ्क बेलैमा नियन्त्रण नभए देशमा फेरि ठुलो विष्फोट हुने जोखिम देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
-
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु
-
सर्लाहीमा एक युवकले गरे आत्मदाह प्रयास, हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण