शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

संरक्षणको पर्खाइमा ‘सात तले’ गुफा

शुक्रबार, २६ असार २०८३, १४ : ०२
शुक्रबार, २६ असार २०८३

दाङ । तुलसीपुर उपमहानगरपालिका–३ मा स्थित दाङको पर्यटकीय क्षेत्र ‘साततले’ गुफा संरक्षणको पर्खाइमा रहेको छ।

राप्ती लोकमार्गदेखि २०० मिटर उत्तर पर्ने उक्त गुफा प्रचारप्रसार तथा संरक्षणको अभावमा ओझेलमा परेको हो ।

सात तल्लाको गुफा आफैँमा आश्चर्यपूर्ण रहेको छ भने वरपरका झरना, पोखरी र पौडी खेलिरहेका माछाले त्यहाँ पुग्ने जो कोही पर्यटकको मन भने लोभ्याउने गरेको पाइएको छ।

गुफाभित्र बाजा बज्ने, हात्तीजस्तो सुँड भएको, चीलजस्तो देखिने, गाग्रीकोमुखजस्ता ढुङ्गाका आकृतिले त्यहाँ पुग्ने पर्यटकलाई अचम्मित तुल्याउँछ । केही वर्षअघिसम्म त्यस क्षेत्रमा पर्यटक बाक्लै पुग्थे । स्थानीय कलिभान रोक्काले भने, “पछिल्लो समय प्रचारप्रसारको अभावले पर्यटकको सङ्ख्या निकै कम भएको छ ।”

कुनै समय दैनिक १०० भन्दा बढी पर्यटक आउने गरेको भए पनि पछिल्लो चरणमा दैनिक १०/१२ जना मात्रै पर्यटक आउने गरेको पाइएको छ। त्यस क्षेत्रका उचित संरक्षण र प्रचारप्रसार गर्नसके बाह्य पर्यटकलाई पनि भित्र्याउन सकिने प्रशस्तै सम्भावना छ । अहिले मन्दिरको बिकासका लागि स्थानीयले सातवटा मन्दिर निर्माण गरेका छन्।

उक्त गुफा प्रचारप्रसारका तथा संरक्षणका स्थानीयवासीसँगको छलफल र सल्लाहका आधारमा वडाले निकट भविष्यमै पूर्वाधार विकासलगायतका कार्यक्रम ल्याउने वडाध्यक्ष वीरबहादुर विकले बताए।

उनका अनुसार गुफालाई प्रचारप्रसार गरी पर्यटक भित्र्याउन सकिएमा तुलसीपुरलाई नै समृद्ध बनाउन मद्धत पुग्नेछ। गाउँका बयोबृद्धका अनुसार गाउँमा हुने विवाह, भोजभतेरमा त्यही गुफाबाट आवश्यक भाँडाकुँडा लगिने कार्य सम्पन्नपछि त्यहाँ लगेर बुझाइने गरिन्थ्यो भन्ने किम्वदन्ती छ ।

धार्मिक र पर्यटकीय दृष्टिकोणबाट समेत महत्वपूर्ण मानिएको त्यस गुफाको संरक्षणका लागि स्थानीय सरकारले विशेष कार्यक्रम ल्याउन पर्ने स्थानीयको माग छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप