आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पेरुका पूर्वराष्ट्रपति र उनको पत्नीलाई १५ वर्षको जेल

बुधबार, ०३ वैशाख २०८२, १४ : ५८
बुधबार, ०३ वैशाख २०८२

लीमा । पेरुको एउटा अदालतले भ्रष्टाचारको आरोपमा पूर्वराष्ट्रपति ओलान्टा हुमाला र उनकी श्रीमतीलाई १५ वर्षको जेल सजाय सुनाएको छ । पूर्व राष्ट्रपति र उनकी श्रीमतीमाथि राष्ट्रपति भएको समयमा ब्राजिलियन निर्माण कम्पनी ओडेब्रेच्टलाई ठेक्का दिन घुस लिएको आरोप छ ।

अदालतले ६२ वर्षीय हुमाला र उनकी श्रीमती नादिन हेरेडियालाई राष्ट्रपतिको अभियानको समयमा ओडेब्रेक्ट कम्पनी र भेनेजुएला सरकारबाट घूस लिएको र मनी लान्ड्रिङ गरेको आरोप पनि लगाएको छ ।

पूर्व सैन्य अधिकारी हुन् हुमाला

मंगलबार दिइएको फैसलामा पेरुभियन अदालतले हुमालालाई भ्रष्टाचारको दोषी ठहर गर्दै सजायको घोषणा गरेको छ । आदेशपछि हुमालालाई अदालत कोठाबाटै हिरासतमा लिइएको थियो । फैसलामा न्यायाधीशले पूर्वराष्ट्रपति हुमालाकी पत्नी हेरेडियालाई पनि पक्राउ गर्न आदेश दिएका छन् ।

हेरेडिया सुनुवाइमा उपस्थित थिइनन् । पछि हेरेडियाले पक्राउबाट बच्न ब्राजिलियन दूतावासमा शरण लिएकी थिइन् । हुमाला एक पूर्व सैन्य अधिकारी हुन् । २०११ देखि २०१६ सम्म उनी पेरुको राष्ट्रपति थिए । अभियोजकहरूले पूर्वराष्ट्रपतिलाई २० वर्ष र उनकी श्रीमतीलाई २६ वर्षको जेल सजाय माग गरेका थिए । 

भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका हुमाला पेरुका पहिलो राष्ट्रपति होइनन् । उनीभन्दा पहिले तीन पूर्वराष्ट्रपतिहरूले भ्रष्टाचारको आरोपमा मुद्दा खेपिसकेका छन् ।  २००१ देखि २००६ सम्म पेरुको नेतृत्व गरेका अलेजान्ड्रो टोलेडोलाई पनि भ्रष्टाचारको अभियोगमा दोषी ठहरिएपछि गत वर्ष २० वर्षको जेल सजाय सुनाइएको थियो । 

२०१६ देखि २०१८ सम्मका राष्ट्रपति पाब्लो कुजिन्स्की विरुद्ध पनि भ्रष्टाचार अनुसन्धान जारी छ । भ्रष्टाचारको आरोप खेपिरहेका पूर्व नेता एलन गार्सियाले २०१९ मा आत्महत्या गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप