कारागारमा रवि लामिछाने : खानामा दाल, भात, तरकारी नै रुचाउँछन्

बुटवल । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उच्च अदालतको आदेश अनुसार जिल्ला कारागार रुपन्देहीमा बसेको १० दिन पुगेको छ ।
चैत २२ गते उच्च अदालत तुलसीपुर बुटवलको आदेशसँगै पक्राउ परेका लामिछानेलाई जिल्ला कारागार रुपन्देहीमा २५ गते ल्याइएको हो ।
जिल्ला कारागार प्रशासनले कोभिडको बेला निर्माण भएको एउटा सानो तथा छुट्टै कोठामा लामिछानेलाई राखेको छ । कोभिडको बेलामा त्यो कोठा निर्माण भए पनि प्रयोगमा आएको थिएन ।
अन्य कैदीसँग राख्दा लामिछाने असुरक्षित हुने भएकाले खाली कोठालाई प्रयोग गरिएको कारागार प्रशासनको भनाइ छ ।
पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई कारागारमा भेटघाट गर्न खासै कोही आउँदैनन् । सामान्यतः दैनिक दुई/चार जनाबाहेक उनलाई भेट्न कोही आउने नगरेको कारागार प्रशासन स्रोतले जनाएको छ ।
स्रोतका अनुसार कारागारभित्र लामिछानेले अध्ययनमा धेरै समय बिताउने गरेका छन् । ऐतिहासिक पुस्तकहरूमा उनको रुचि रहेको बताइएको छ । नेपाली र अङ्ग्रेजी भाषाका पुस्तक उनको रोजाइमा परेका छन् ।
लामिछानेले कारागारभित्रै पकाइएको खाना खाने गरेका छन् । त्यसमा सामान्यतया दाल, भात, तरकारी नै रहने स्रोतको भनाइ छ ।
कारागार प्रशासनले भित्र रेडियो सुन्न र फोन गर्ने व्यवस्था बन्दीहरूलाई मिलाएको छ । कहिलेकाहीँ रवि लामिछानेले पनि फोनको प्रयोग गर्ने कारागार स्रोतको भनाइ छ ।
कारागार प्रशासनले रवि लामिछानेलाई ‘तपाईंको केही माग छ ?’ भनेर समेत सोध्ने गरेको छ । जवाफमा उनले ‘केही छैन । जे छ, ठिकै छ । कारागार यस्तै हो’ भन्ने गरेको स्रोत बताउँछ ।
रवि लामिछानेका सहयोगीहरू उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुगेका छन् । सर्वोच्च अदालतले कैफियत आदेश मगाएको छ । त्यो आदेश हेरेपछि मात्रै सर्वोच्चले उनको बारेमा निर्णय लिनेछ ।
न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले बुटवलस्थित सुप्रिम सहकारी ठगी सम्बन्धी कसुर र सङ्गठित अपराध सम्बन्धी मुद्दामा जिल्ला अदालतको आदेश उल्टाउँदै रविलाई थुनामा पठाउने आदेश गरेको हो ।
पूर्वडीआईजी जोशी अझै अस्पतालमा
रवि र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध एउटै सहकारीको रकम हिनामिना सम्बन्धी मुद्दा परेको हो । बुटवलको सुप्रिम सहकारीको रकम लगेर गोर्खा मिडियामा हिनामिना गरेको अभियोग दुवैमाथि लागेको छ ।
पूर्वडीआईजी जोशी पनि जिल्ला कारागार रुपन्देही, भैरहवामा छन् । माघ २८ गते जिल्ला अदालतका न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसपछि कारागार बसेका जोशी चैत २६ गते स्वास्थ्यमा समस्या देखिएपछि भैरहवाकै युनिभर्सल मेडिकल कलेजमा स्वास्थ्य चेकजाँच गरी अस्पतालमै बस्दै आएका छन् ।
जोशीलाई प्रेसर र ईन्जाईटिक भएपछि युनिभर्सल मेडिकल कलेजको क्याबिनमा राखिएको छ । अस्पताल सूचना अधिकारी सुशील गुरुङले डाक्टर सन्दीप सुवेदी नेतृत्वको टिमले उनको उपचार गरिरहेको बताए ।
कारागार प्रशासनले जोशी केही दिनमै अस्पतालबाट पुनः कारागार आउने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रमा बस्नेतलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
कैलालीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु
-
एक अध्ययन : कर्मचारीभन्दा राजनीतिक नेतृत्वबाट बढी भ्रष्टाचार
-
इजरायल र इरानमा रहेका नेपालीहरूको लागि ट्राभल एडभाईजरी जारी
-
सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी रत्न तथा आभूषण महासंघले सार्वजनिक गरेको घोषणापत्रमा के छ ?
-
बालुवाटारमा सत्तारुढ दलहरूबिच चार घण्टा छलफल, यी तीन विषयमा छलफल