मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

वैदेशिक रोजगारी र पेटको समस्या

बुधबार, १० वैशाख २०८२, ११ : ३५
बुधबार, १० वैशाख २०८२

वैदेशिक रोजगारी हाम्रो समाजको एक महत्त्वपूर्ण हिस्सा बनिसकेको छ । सस्तो श्रमको खोजीमा लाखौँ नेपाली युवा विदेश जान्छन् । यसले परिवारलाई आर्थिक सहयोग पुर्‍याउँछ भने तिनको जीवनस्तरमा सुधार ल्याउँछ । वैदेशिक रोजगारीका सकारात्मक पक्ष एकातिर छन्, अर्कोतिर यसले केही गम्भीर समस्या उत्पन्न गराएका समेत छन्, जसमा पेटको समस्या एक प्रमुख चुनौतीको रूपमा देखापरेको छ ।

नेपालमा स्वादिलो र स्वास्थ्यप्रद खाना फुर्सदले खाने बानी लागेका नेपाली जब विदेश जान्छन्, तब खानपान मिल्दैन । विदेशमा फास्ट फुड र हतार–हतार खाना खाने प्रवृत्ति देखिन्छ । कतिपय अवस्थामा पोषणको कमीले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ । यसले पेटमा एसिडिटी, गडबडी र अन्य जटिल स्वास्थ्य समस्या निम्त्याउँछ । पेटको दीर्घकालीन समस्याले गर्दा कतिपय नेपाली दाजुभाइ तथा दिदी–बहिनी कामै छाडेर फर्कनुपर्ने अवस्था समेत आएको हुन्छ ।

  • पेटको स्वास्थ्य समस्याका प्रमुख कारण

१) जीवनशैलीमा परिवर्तन : नेपालमा खाना खाने, काम गर्ने आफ्नै परम्परा छ, खानपानसँग जोडिएका संस्कृति समेत छन् । यहाँको मौसम एक खालको छ । तर विदेश यो सबै पाइँदैन वा हुँदैन । जसले गर्दा जीवनशैलीमा ठुलो परिवर्तन आउँछ, जसले पेटको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव हुन्छ । 

२) खानपानको असावधानी : विदेशमा कामदारहरूले अस्वच्छ खाना वा पानी सेवन गरेको पाइन्छ, जसले गर्दा पेट दुख्ने, डायरिया हुने, फुड पोइजनिङजस्ता समस्या उत्पन्न हुन्छन् ।

३) तनाव : विदेशमा कामको दबाब, घर–परिवारको चिन्ता र अनौठो वातावरणले तनाव बढाउँछ, जसले गर्दा पेटको समस्या (जस्तै ः अल्सर वा इरिटेबल बाउल सिन्ड्रोम– आईबीएस) हुन सक्छ ।

४) पानीको कमी (डिहाइड्रेसन) :  गर्मी बढी हुने ठाउँमा काम गर्दा पानीको कमीले पनि पेटसँग सम्बन्धित समस्या निम्त्याउन सक्छ । शरीरमा पानीको कमी हुँदा कब्जियत, ग्यास्ट्रिक र पेटको अन्य समस्या बढ्न सक्छ ।

नेपालमा स्वादिलो र स्वास्थ्यप्रद खाना फुर्सदले खाने बानी लागेका नेपाली जब विदेश जान्छन्, तब खानपान मिल्दैन । विदेशमा फास्ट फुड र हतार–हतार खाना खाने प्रवृत्ति देखिन्छ ।

५) पेटका संक्रमण : नयाँ स्थानमा जाँदा खानपान र पानीको स्रोत परिवर्तन हुन पुग्छ, जसकारण पेटका संक्रमणको जोखिम बढ्न सक्छ । 

६) स्वास्थ्य सेवाको अभाव : धेरै कामदारले स्वास्थ्य बिमा वा चिकित्सा सुविधा पाउँदैनन्, जसले गर्दा समयमै उपचार हुन सक्दैन ।

समयमा खाना र निद्रा नहुनाले पेटमा एसिडिटी बढ्ने, पेट फुल्नेजस्ता समस्या सामान्य हुँदै गएका छन् । मानसिक तनाव र अस्वस्थ आहारका कारण पेटमा घाउ वा अल्सर बन्ने समस्या पनि देखापरेको छ । यो स्थिति अत्यधिक गाह्रो र पीडादायक हुन सक्छ, जसले कामदारहरूको जीवनस्तरलाई प्रभावित पार्छ ।

अत्यधिक फास्ट फुड, बेकरीका परिकार वा भनौँ मैदा तथा चिनीका परिकारले कब्जियतको समस्या निम्त्याउन सक्छ । शारीरिक व्यायामको कमीले पनि कब्जियतलाई निम्ताउँछ । तनाव, खानपानमा परिवर्तन र अनियमित खानपानका कारणले ‘इरिटेबल बाउल सिन्ड्रोम’ पनि हुने गर्छन् । यसका साथै फुड पोइजनिङ, पित्ताशयको समस्या, हेपाटाइटिस, एपेनडिसाइटिसजस्ता अत्यधिक समस्याले पनि पेटको दुखाइ गराउँछ । महिलालाई हुने महिनावारीको गडबडीले पनि पेट दुख्ने हुन सक्छ । यस्ता समस्याको समयमै निदान तथा व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

  • समाधानका उपायहरू

– जीवनशैली व्यवस्थित गर्नुपर्छ । 
– स्वच्छ, अर्गानिक र फाइबरयुक्त खाना खानुपर्छ । शुद्ध पानीको प्रयोग गर्नुपर्छ ।
– आयुर्वेदशास्त्र अनुसारको दिनचर्या, रात्रिचर्या, ऋतुचर्या लगायत गर्नुपर्छ । 
– नियमित रूपमा स्वास्थ्य जाँच गराउनुपर्छ ।
– तनाव व्यवस्थापनका लागि योग, ध्यान र नियमित व्यायाम गर्नुपर्छ ।
– सरकार र रोजगारदाताले स्वास्थ्य बिमा र चिकित्सा सुविधा उपलब्ध गराउनुपर्छ ।
(उपप्राध्यापक, केन्द्रीय आयुर्वेद विध्यापीठ (ने.सं.वि.) दाङ ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. देवराज क्षेत्री
डा. देवराज क्षेत्री
लेखकबाट थप