अन्तिम समयमा आएर किन रोकियो प्राधिकरणले ल्याउने भनेको श्वेतपत्र ?

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिबाट स्वीकृत भइसकेको श्वेतपत्र अन्तिम समय रोकिएको छ ।
मंगलबार सार्वजनिक गर्ने तयारी अनुरुप सोमबार ऊर्जामन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको सञ्चालक समिति बैठकले सर्वसम्मत रूपमा स्वीकृत गरी दोस्रो पटक परिमार्जन गरी सार्वजनिक गर्ने भनिएको श्वेतपत्र अनिश्चितकालका लागि रोकिएको छ ।
सञ्चालक समितिमा प्रतिवेदनमाथि व्यापक छलफल भएर स्वीकृत भए पनि तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले प्रस्तुत गरेको तथ्यलाई तोडमोड गरेर सार्वजनिक गर्ने तयारीमा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य थिए ।
प्राधिकरण स्रोतका अनुसार तत्कालीन कार्यकारी निर्देशक कुलमानले बनाएको प्रतिवेदनलाई तोडमोड गर्न नसक्ने भएपछि प्राविधिक कारण देखाएर रोकिएको छ ।
घिसिङले कागजी नाफा देखाएको भन्ने कुरा प्राधिकरणले बनाएको प्रतिवेदनले प्रस्ट पार्न नसकेको भन्दै ऊर्जामन्त्री खड्काले तत्कालका लागि स्थगित गर्न निर्देशन दिएको स्रोतले भनाइ छ ।
मन्त्री खड्काले कागजी नाफा देखाउने गरी श्वेतपत्र ल्याउन खोजे पनि तत्कालीन कार्यकारी निर्देशक घिसिङसँगै उच्च व्यवस्थापनमा रहेका कर्मचारीको मिलेमतो पुष्टि नहुने गरी श्वेतपत्र आएको भन्दै तत्कालका लागि परिमार्जन गर्न निर्देशन दिएको स्रोतले जनाएको छ ।
तत्कालीन कार्यकारी निर्देशकले ल्याएको प्राधिकरणको वित्तीय अवस्था महालेखाको प्रतिवेदनको आधारमा भएको र प्राधिकरणका कर्मचारीले आफू फस्ने अवस्था आउने भन्दै प्राधिकरणको नाफा र अन्य वित्तीय अवस्थाबारे पुरानै विवरण ल्याएपछि मन्त्री खड्काले रोकेको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।
ऊर्जा मन्त्रालयले गरिरहेको डीडीए र प्राधिकरणले तयार पारेको श्वेतपत्र (प्रतिवेदन) मेल नखाएकाले आगामी दिनमा थप समस्या पर्ने भन्दै अध्यक्षको निर्देशनमा श्वेतपत्र रोकिएको देखिन्छ ।
प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारले भने मन्त्रीको निर्देशन भन्दा पनि प्राविधिक कारणले श्वेतपत्र रोकिएको बताए । उनले सोमबार प्राधिकरणको सञ्चालक समितिले पारित गरेर मंगलबार पत्रकार सम्मेलन गरी पारित गर्ने तयारी गरे पनि प्राविधिक समस्याले रोकिएको दाबी गरे ।
उनले भने, ‘आज सार्वजनिक गर्ने भनिएको श्वेतपत्र प्राविधिक कारणले रोकिएको हो । अन्य कुनै कारण होइन । श्वेतपत्र सार्वजनिक गर्ने समयमा प्राविधिक समस्या देखिएपछि रोकिएको हो ।’
प्राधिकरणले प्राविधिक समस्या भने पनि ऊर्जामन्त्री खड्का र कार्यकारी निर्देशक शाक्यले तत्कालीन कार्यकारी निर्देशकले देखाएको नाफालाई कागजी प्रमाणित गर्न नसक्दा रोकिएको देखिन्छ ।
ऊर्जामन्त्री खड्काले वार्षिक प्रतिवेदनमा आफैँले हस्ताक्षर गरेको नाफा कुलमानलाई हटाउनका लागि संसदको रोष्टममा उभिएर ‘कुलमानले प्राधिकरणको कागजी नाफा देखाएको’ भन्दै आएका थिए ।
तर प्राधिकरणले सार्वजनिक गरेको श्वेतपत्रमा समेत कुलमानले देखाएको नाफा उल्लेख गरिएको थियो । उक्त नाफालाई नै सोमबार सञ्चालक समितिबाट पारित भएको थियो तर मंगलबार एक्कासी श्वेतपत्र सार्वजनिक गर्ने कार्यक्रम रोकिएको हो ।
प्राधिकरणले बनाएको श्वेतपत्रमा घिसिङले देखाएको कागजी नाफाका कुराहरू आउन नसक्दा रोकिएको स्रोतको दाबी छ । स्रोतका अनुसार प्राधिकरणको श्वेतपत्र जुन उद्देश्यले सार्वजनिक गर्ने भनिएको थियो, त्यो उद्देश्य पूरा नहुने भएपछि रोकिएको छ ।
प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमानले आफू पदमा रहँदा सार्वजनिक गरेको विवरण वास्तविक नै रहेको दाबी गरेका छन् । उनले ऊर्जामन्त्री खड्काले बारम्बार दिएका अभिव्यक्ति गलत भएको विषय श्वेतपत्रमा उल्लेख गरिएको कुरालाई सोमबार प्राधिकरण सञ्चालक समितिको बैठकले स्वीकृत गरेसँगै पुष्टि भएको बताए । उनले भने, ‘मन्त्रीले मलाई गलत देखाउन हरसम्भव प्रयास गरेका थिए तर, महालेखा परीक्षकको कार्यालयले अडिट गरेको तथ्याङ्कलाई म्यानुपुलेसन गर्न सक्ने अवस्था छैन ।’
कुलमानले आफूलाई गलत देखाउने प्रयासमा ल्याउन लागेको श्वेतपत्रमा ५ अर्ब २६ करोडको नोक्सानी देखाउन खोजिएको तर सम्भव नभएको प्रस्ट पारे । उनले प्राधिकरणको कुल सञ्चित नाफा ४६ अर्ब ४७ करोड नै रहेको बताए ।
उनले विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८१/०८२ को ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ बराबर नाफा कमाएको दाबी गरे । उनले प्राधिकरणले तथ्यलाई तोडमोड गर्न खाजे पनि फागुनसम्म ११ अर्ब ३६ करोड नै नाफा रहेको दाबी गरे ।
तर रातोपाटीलाई प्राप्त सार्वजनिक हुन नकसकेको श्वेतपत्रमा प्राधिकरणले २०८०/०८१ सम्म ४६ अर्ब ४७ करोड रुपैयाँ सञ्चित नाफा गरेको उल्लेख छ । चालु आर्थिक वर्षको फागुनसम्म मात्र ९ अर्ब ४८ करोड रुपैयाँ नाफा आर्जन भएको देखाइएको छ । तर, कर प्रयोजनका लागि आयकर ऐनअन्तर्गत विगत १२ वर्षको नोक्सानी समायोजन र उच्च ह्रासकट्टी दाबी गर्दा ५ अर्ब २६ करोड रुपैयाँ नोक्सानी देखाइएको छ ।
त्यस्तै, प्राधिकरणको कुल सम्पत्ति ६ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ । स्थिर सम्पत्ति २ खर्ब ३५ अर्ब रुपैयाँ छ, जसमा पुनर्मूल्याङ्कनबाट ९९ अर्ब ४६ करोड रुपैयाँ थपिएको छ । निर्माणाधीन आयोजनामात्र २ खर्ब २० अर्ब रुपैयाँ बराबरको छ ।
कुलमानले प्राधिकरणले देखाउन खाजेको ५ अर्ब २६ करोड नोक्सनी गलत तथ्य भएको बताए । उनले प्राधिकरणको चार वर्षदेखि फुल अडिट हुन बाँकी रहेको बताए । उनले भने, ‘यसरी श्वेतपत्रमा ५ अर्ब २६ करोड नोक्सानी भन्ने गलत हो । प्राधिकरणलाई कर, महालेखाले आगामी दिनमा प्रश्न गर्न सक्छ । आफैँ फस्ने काम गर्न खोजेका छन् ।’
सार्वजनिक हुन नकसकेको श्वेतपत्रमा के छन् ?
- वित्तीय अवस्था
सार्वजनिक हुन नसकेको श्वेतपत्रअनुसार आर्थिक वर्ष ०८०/०८१ सम्ममा कुल सम्पत्ति करिब ६ खर्ब ४४ अर्ब छ । जसमा स्थिर सम्पत्ति २ खर्ब ३५ अर्ब रहेकामा पुनर्मूल्याङ्कनबाट करिब ९९ अर्ब ४६ करोड थप भएको र लेखाङ्कन बाँँकी उल्लेख छ ।
करिब २ खर्ब २० अर्ब बराबरका निर्माणाधीन आयोजना भएको उल्लेख छ । नेपाल सरकारको प्राधिकरणमा २ खर्ब ६ अर्ब ७४ करोड सेयर लगानी रहेको उल्लेख छ । सञ्चित नाफा ४६ अर्ब ४७ करोड र अन्य जगेडातर्फ ५ अर्ब ८९ करोड गरी जम्मा इक्विटी २ खर्ब ५९ अर्ब १० करोड रहेको श्वेतपत्रमा उल्लेख छ ।
- विद्युत् मूल्य बढाउने तयारी
सार्वजनिक हुन नसकेको श्वेतपत्रमा विगत ३ वर्ष देखि विद्युत् महसुल समायोजन नभएकाले समयानकूल विद्युत् महसुल समायोजन गर्ने आवश्यक पहल गर्ने उल्लेख गरिएको छ ।
नेपाल सरकारको निर्णय अनुसार डेडिकेटेड र ट्रकलाइनको विद्युत वक्यौता प्रचलित विद्युत् वितरण तथा सङ्कलन नियमावली अनुसार असुली प्रक्रिया पनि अघि बढाउने उल्लेख गरेको छ । विदेशी लगानीका लागि पनि पहल गर्ने योजना रहेको उल्लेख गरिएको छ ।
- ऋण र दायित्वको भार
श्वेतपत्रले प्राधिकरणको आर्थिक संरचनामा ऋणको उल्लेख्य भूमिका रहेको देखाएको छ । सरकारी ऋण लगानी २ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ रहेको छ, जुन कुल सम्पत्तिको करिब ३९ प्रतिशत हो ।
यसमा सरकारको आन्तरिक स्रोतबाट ७७ अर्ब ८ करोड र वैदेशिक दातृ निकायबाट सरकारी जमानतसहित १ खर्ब ७१ अर्ब ४ करोड रुपैयाँ ऋण लिइएको छ । त्यस्तै, प्राधिकरणले कर्मचारी दायित्व (४७ अर्ब २४ करोड), धरौटी दायित्व (२४ अर्ब ११ करोड) र सरकारलाई तिर्नुपर्ने ब्याज तथा अन्य दायित्व (३२ अर्ब ५ करोड) पनि व्यहोर्नुपरेको छ । टनकपुर आयोजनाको विद्युत् दायित्वमात्र ३ अर्ब रुपैयाँ छ ।
२०८१ फागुनसम्म ११ अर्ब ६१ करोड रुपैयाँ ठेक्कापट्टा भुक्तानी दायित्व बाँकी रहेको पनि उल्लेख छ र प्राधिकरणको केन्द्रीय कोष मौज्दात १० अर्ब १० करोड रुपैयाँ छ । यसमा मुद्दति खातामा ३ अर्ब ६८ करोड, धरौटी खातामा ३ अर्ब ९५ करोड र चालु खातामा २ अर्ब ४७ करोड रुपैयाँ छ ।
- बाँकी बक्यौता
सार्वजनिक नभएको श्वेतपत्र अनुसार प्राधिकरणले उठाउनु पर्ने बक्यौता रकम २०८१ फागुनसम्म ४४ खर्ब ५४ करोड रुपैयाँ छ । त्यसमध्ये २३ अर्ब ४४ करोड रुपैयाँ डेडिकेटेड फिडर तथा ट्रंक लाइनतर्फको हो । यसबाहेक नियमिततर्फ १२ अर्ब ४९ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी छ । सरकारी शोधभर्ना शीर्षकमा १४ अर्ब १० करोड रुपैयाँ प्राप्त गर्न बाँकी छ, जसमा कोभिड राहत तथा चिस्यान केन्द्रको खर्चसमेत समावेश छन् ।
त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि प्रक्षेपित आय १ खर्ब ९९ अर्ब २ करोड रुपैयाँ भए पनि स्वीकृत बजेट खर्च २ खर्ब २८ अर्ब ७७ करोड रुपैयाँ पुगेकाले करिब ३० अर्ब घाटा रहने अनुमान गरिएको छ ।
विद्युत् बिक्री र निर्यात अपेक्षाभन्दा कम हुने, साथै २०८१ असोजको बाढीले उत्पादन केन्द्रमा क्षति पु¥याएकाले १८ अर्ब रुपैयाँ आम्दानीमा कमी आउने उल्लेख गरिएको छ । स्रोत अभाव पूर्ति गर्न १० अर्ब रुपैयाँसम्म अल्पकालीन ऋण लिनुपर्ने अवस्था रहेको श्वेतपत्रमा उल्लेख छ ।
- प्राधिकरणको ऋण
सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड रुपैयाँ र सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रुपैयाँ गरी २ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ दीर्घकालीन ऋण रहेको श्वेतपत्रमा उल्लेख गरिएको छ ।
प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब छ । यसको अलावा २०८०/०८१ सम्ममा प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ ।
प्राधिकरणविरुद्ध विभिन्न अर्धन्यायिक तथा न्यायिक निकायमा विचाराधीन रहेका दाबी रकमसहितका मुद्दाहरूको सम्भावित दायित्व ८ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । प्राधिकरणले सहायक तथा सम्बद्ध कम्पनीहरूको प्रवर्द्धनका लागि कुल ४१ अर्ब १३ करोड बराबरको संस्थागत जमानत प्रदान गरेको छ ।
- विद्युतीकरण परिवार संख्याको आधारमा ८४.६२ प्रतिशतमात्रै
प्राधिकरणले देशभर विद्युत् पहुँच ९७.५ प्रतिशत पालिकामा र ९५ प्रतिशत वडामा पुगेको उल्लेख गरेको छ । त्यस्तै, घरसंरचनाको आधारमा ९१.४१ प्रतिशत र परिवार संख्याको आधारमा ८४.६२ प्रतिशत विद्युतीकरण भएको देखिन्छ ।
२०८१ माघ महिनासम्म प्राधिकरणको कुल ग्राहक संख्या (मिटर संख्या) ५५ लाख ८६ हजार ३७ छ । उत्पादनतर्फ, चालु आर्थिक वर्षको माघसम्म नेपालको कुल जडित उत्पादन क्षमता ३ हजार ५११.५७ मेगावाट छ, जसमध्ये प्राधिकरण मातहतका विद्युत् गृहहरूको जडित क्षमता ६६१.५७ मेगावाट छ ।
चालु आर्थिक वर्षको फागुनसम्ममा आयातसहित प्रणालीमा उपलब्ध करिब १० हजार ४३० मध्ये करिब ८ हजार ६६५ विद्युत् आन्तरिक खपत एवं एक हजार ७६५ निर्यात भएको छ । यस अवधिमा २०६ यूनिट विद्युत् अवरुद्ध भएको देखाएको छ ।
२०८१ फाल्गुन मसान्तसम्म आन्तरिक उच्चतम माग २,३३७ मेगावाट छ भने चालु आर्थिक वर्षको अन्तिमसम्म २,४३८ मेगावाट पुग्ने प्रक्षेपण रहेको छ । गत आर्थिक वर्षमा प्रणालीमा चुहावट सहितको कुल राष्ट्रिय विद्युतको मागको आधारमा प्रतिव्यक्ति विद्युत खपत ४०० किलोवाट आवर छ भने चुहावट बाहेकको कुल विद्युत विक्रीको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो माग बमोजिम आएको नीति तथा कार्यक्रमलाई कांग्रेसले समर्थन गर्ने
-
आवासीय चिकित्सक र सरकारबिच सहमति, आन्दोलन फिर्ता
-
मकवानपुर महिला गोल्डकप : नव जनजागृतिलाई हराउँदै संकटा सेमिफाइनलमा
-
मध्यपूर्व एनआरएनएको नेतृत्वमा हेपिएको छ, यो पल्ट त्यस्तो नहोस् : आरके शर्मा
-
सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता आयोगको अध्यक्षमा तीन दलको ‘बार्गेनिङ’
-
किशोर-किशोरीको सुरक्षाका लागि टिकटकको ‘फ्यामिली पेयरिङ’