चिकित्सकहरू ३५ दिनदेखि निरन्तर आन्दोलनमा

काठमाडौँ । चिकित्सकहरूले विगत ३५ दिनदेखि आन्दोलन गर्दै आएका छन् । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिले विभिन्न मेडिकल कलेजमा अध्ययनरत आवासीय तथा अन्य चिकित्सकहरू आन्दोलन गर्दै आएका हुन् ।
यो बिचमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र आन्दोलनरत चिकित्सकका विभिन्न संस्थाहरूबिच सहमति भइसकेको छ । तर, सङ्घर्ष समितिले भने आन्दोलन जारी राखेको छ । कतिपय निजी मेडिकल कलेजहरूले ३ महिनादेखिको पारिश्रमिक नदिएको तथा आवासीय चिकित्सकहरूलाई धम्की दिइरहेको भन्दै त्यसको अन्त्य नहुँदासम्म आन्दोलन जारी राख्ने जनाएको हो ।
समितिका अध्यक्ष डाक्टर शेषराज घिमिरेले केही मेडिकल कलेजहरूले आठौँ तहको सरकारी मेडिकल अधिकृत सरह पारिश्रमिक दिन थालेको बताए । ती बाहेक अन्य मेडिकल कलेजले अझै पनि तीन महिनादेखिको पारिश्रमिक नदिएको र आवासीय चिकित्सकहरूलाई अनावश्यक धम्की दिने क्रम जारी रहेको भन्दै विरोधका कार्यक्रम यथावत् राखिएको बताए ।
चिकित्सा शिक्षा आयोगको पूर्ण बैठकले गरेको निर्णयबमोजिमको पारिश्रमिक भुक्तानी, आवासीय चिकित्सकहरूलाई निःशर्त ड्युटीमा फर्कने वातावरण र आन्दोलनमा सहभागी भएकै कारण कुनै शैक्षिक वा अन्य समस्या नपर्ने सुनिश्चितता नभएसम्म विरोधका कार्यक्रम जारी रहने बताए ।
समितिले आवासीय चिकित्सकहरूले पारिश्रमिक भुक्तानी नहुँदासम्म आफूले प्रदान गर्दै आएको सेवाहरू बहिष्कार गर्ने जनाएका छन् । त्यस्तै उपत्यकाभित्र माइतीघर मण्डलामा सेतो एप्रोनसहित धर्ना दिने कार्यक्रम समेत यथावत् नै राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वनबाट वार्षिक ४० अर्बको राजस्व सङ्कलन, १२ अर्ब रुपैयाँ बराबरको रोजगारी सिर्जना हुने
-
भजहर कप फुटबलको उपाधि गौरीगंगाको पोल्टामा
-
तीन वटै तहको सरकारबिच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक : मुख्यमन्त्री शाह
-
बीवाईडी एक्सचेन्ज क्याम्पेन घोषणा
-
नीति तथा कार्यक्रम दस्तावेजमात्र होइन, राष्ट्रको भावी यात्राको नक्शा पनि हो : सांसद कार्की
-
राजसंस्था लोकतन्त्रको विरोधी होइन : राजेन्द्र लिङ्देन