शुक्रबार, ०२ जेठ २०८२
ताजा लोकप्रिय

सगरमाथा संवादमा थामेको आवाज सम्बोधन हुन्छ : प्रधानमन्त्री ओली

बिहीबार, ०१ जेठ २०८२, २१ : २५
बिहीबार, ०१ जेठ २०८२

समाचार सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको थामे क्षेत्रमा जलवायु परिवर्तनका समस्या समाधान गर्ने बताए।
  • सगरमाथा संवादमा थामेसहितका हिमाली क्षेत्रका समस्यालाई प्राथमिकता दिइनेछ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको थामेलगायत क्षेत्रमा जलवायु परिवर्तनले ल्याएको समस्या सगरमाथा सम्वादमा सम्बोधन गरिने बताएका छन् । थामेमा भएको आरोही सम्मेलन र जलवायु सम्वादको घोषणापत्रसहितको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले हिमालको फेदीमै पुगेर कार्यक्रम हुनु र समस्या केलाउनु प्रभावकारी काम भएको उल्लेख गरे ।

सगरमाथा सम्बादमा थामेसहितका नेपालका हिमाली क्षेत्रमा देखिएका समस्यालाई म प्राथमिकतासाथ उठाउँछु, प्रधानमन्त्री निवास बालुवाटारमा थामे सम्मेलनका आयोजक संस्था साथसाथै फाउण्डेशनले तयार पारेको प्रतिवेदन बुझ्दै उनले भने ।

शुक्रबारदेखि ३ दिनसम्म नेपाल सरकारले सगरमाथा संवाद आयोजना गर्न गइरहेको पूर्व सन्ध्यामा प्रधानमन्त्री ओलीले हिमालदेखि तराईसम्म जलवायु न्यायका लागि सरकार दृढ हुने धारणा राखेका हुन् । जलवायु न्यायको क्षेत्रमा काम गर्दै आएको साथसाथै संस्थाले केही साता अघि हिम पहिरोले प्रभावित क्षेत्रमा पुगेर अन्तर्राष्टिय स्तरको सम्मेलन गरेको थियो । वन तथा वातावरण मन्त्रालयसहित तिनै तहका सरकारसँगको सहकार्यमा भएको सम्मेलनले थामेको पुनस्थापना, परिपुरण र न्यायका लागि विभिन्न निष्कर्ष निकालेको थियो ।

प्रतिवेदन बुझाउँदै साथसाथैका अध्यक्ष प्रजिता कार्कीले नेपाललाई जलवायु न्याय दिलाउनका लागि अन्तराष्टिय रुपमा पहलकदमी गर्न प्रधानमन्त्री ओलीले देखाएको तदारुकता प्रशंसनीय भएको बताइन् । 

थामे सम्मेलनलाई सरकारले सगरमाथा संवादको प्रि इभेन्टको रुपमा मान्यता दिएको थियो । सगरमाथा सम्वादको पूर्व सन्ध्यामा उक्त सम्मेलन परिणाममुखी हुने भन्दै प्रधानमन्त्री ओलीले लिखित सन्देश समेत पठाएका थिए ।

अध्यक्ष कार्कीको नेतृत्वमा भएको आरोही सम्मेलनमा कतारकी राजकुमारी आश्मा अल थामी सहित चर्चित सगरमाथा आरोही र जलवायु विज्ञ सहभागी भएका थिए । थामेमा रक्षा मन्त्री मानवीर राई र वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीसमेत सहभागी भएका थिए ।

सम्मेलनले थामेसहित जलवायु पीडित खुम्बु क्षेत्रको न्यायमा केन्द्रित रहेर ५ बुँदे घोषणापत्र जारी गरेको थियो ।   ‘थामेमा गरिएको कार्यक्रम सगरमाथा संवादप्रति एउटा स्थानीय सहभागीतासहितको सन्देश हो,  जुन नीतिगत संवादसँग जोडिएको छ। यसले के देखाउँछ भने कि जलवायु संकटको समाधान केवल सम्मेलनहरूमा होइन, स्थानीय स्तरमा पनि खोजिनुपर्छ,’ प्रतिवेदनमा भनिएको छ ।

अध्यक्ष कार्कीले सरकार र समुदायबिच सेतु बन्ने उद्देश्यअनुसार थामेमा कार्यक्रम भएको र आगामी दिनमा समेत सरकारी नीति र जनताको आवाजलाई सँगसँगै अघि बढाउने गरी काम गर्ने त्यस क्रममा बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप