नेपालमा कीटजन्य विशेषज्ञको चरम अभाव, महामारी नियन्त्रणमा चुनौती
सारांश
- नेपालमा औंलो, डेंगु, स्क्रब टाइफस जस्ता कीटजन्य रोगहरूको पहिचान र नियन्त्रण गर्ने कीट विशेषज्ञ (इन्टोमोलोजिस्ट) को चरम अभाव छ।
- सरकारी सेवामा हाल कीट विशेषज्ञका लागि देशभरि मात्र दुई जनाको दरबन्दी स्वीकृत छ, जसले महामारी नियन्त्रणमा चुनौती थपेको छ।
- दक्ष जनशक्ति उत्पादनका लागि विश्वविद्यालयहरूमा कीट विज्ञानको स्नातक र स्नातकोत्तर तहको अध्यापन नहुँदा समस्या जटिल बनेको छ।
काठमाडौँ । नेपालमा औंलो, डेंगु, स्क्रब टाइफस, जापानीज इन्सेफ्लाइटीस, कालाजार, हात्तीपाइले र चिकनगुनियाजस्ता कीटजन्य रोगहरूको पहिचान र नियन्त्रण गर्ने प्राविधिक जनशक्ति ‘इन्टोमोलोजिस्ट’ (कीट विशेषज्ञ) को चरम अभाव देखिएको छ ।
महामारी र प्रकोपलाई वैज्ञानिक ढंगले नियन्त्रण तथा व्यवस्थापन गर्न प्राथमिक मानिने यस्ता दक्ष जनशक्तिको अभाव हुँदा हाल तालिमप्राप्त सामान्य स्वास्थ्यकर्मीकै भरमा नियन्त्रणका सीमित प्रयासहरू भइरहेका छन् ।
जलवायु परिवर्तन र तीव्र सहरीकरणका कारण हिजोआज यी रोगहरू पहाडी तथा हिमाली जिल्लाहरूमा समेत तीव्र रूपमा फैलिरहेका छन् । जनस्वास्थ्यका दृष्टिकोणले अत्यन्त संवेदनशील मानिएको यस विधामा हाल सरकारी सेवामा देशैभरि मात्र दुई जनाको दरबन्दी छ ।
सरकारले जनशक्ति व्यवस्थापनमा पर्याप्त ध्यान नदिँदा कीटजन्य रोग नियन्त्रण प्रणाली कमजोर र जोखिमपूर्ण अवस्थामा पुगेको देखिन्छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार विगतमा प्रत्येक जिल्लामा औलो निरीक्षक नियुक्त गर्ने व्यवस्था थियो । उनीहरूले स्थानीयस्तरमै पुगेर कीटहरूको अनुगमन र नियन्त्रणका कार्यहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने गरेको महाशाखाको भनाइ छ ।
तर, पछिल्लो समय सरकारले कीट विशेषज्ञ पदमा नयाँ दरबन्दी सिर्जना गरेको छैन । पुराना जनशक्तिहरू एकपछि अर्को गर्दै अवकाशमा जान थालेपछि रिक्त स्थानमा नयाँ भेक्टर निरीक्षक नियुक्त नगरिएको महाशाखाले जनाएको छ ।
हाल सरकारी प्रणालीमा इन्टोमोलोजिस्टका लागि दुई वटा मात्र दरबन्दी स्वीकृत छ । स्वास्थ्य मन्त्रालयका अनुसार एउटा दरबन्दी कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा र अर्को महाशाखा, टेकुमा रहेको छ ।
जिल्ला तहमा कीटजन्य रोगका लागि ‘फोकल पर्सन’ तोकिए पनि उनीहरूसँग विशेष प्राज्ञिक ज्ञान नहुँदा कार्यहरू केवल प्रशासनिक र सामान्य प्राविधिक गतिविधिमा मात्र सीमित भएका छन् ।
कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक डा. भीमप्रसाद सापकोटाले नेपालमा कीटजन्य रोग नियन्त्रणसम्बन्धी विषयमा विश्वविद्यालयहरूमा पठनपाठन नहुँदा समस्या जटिल बनेको बताए ।
केन्द्रका निर्देशक डा. सापकोटाले भने, ‘नेपालका प्रमुख सरकारी विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले अहिलेसम्म कीट नियन्त्रण विषयमा स्नातक र स्नातकोत्तर तहको अध्यापन गराएका छैनन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पताल अन्तर्गतको नेशनल एकेडेमी अफ मेडिकल साइन्सेज (न्याम्स) जस्ता प्रतिष्ठित संस्थाहरूमा कीट विज्ञानको पढाइ हुँदैन । केही व्यक्तिहरूले व्यक्तिगत प्रयासमा यस विषयमा एकेडेमिक कोर्स पूरा गरेर फर्केका त छन्, तर सरकारी प्रणालीमा उपयुक्त दरबन्दी नहुँदा उनीहरू अन्य पदमा काम गर्न बाध्य छन् ।’
दक्ष जनशक्तिको अभाव भएपछि सरकारले हाल कार्यरत स्वास्थ्यकर्मीहरूलाई नै तालिम दिँदै आएको डा. सापकोटा बताउँछन् । उनी भन्छन्, ‘वास्तवमा इन्टोमोलोजिस्टहरूले स्थलगत रूपमा पुगेर कीटहरूको पहिचान गर्ने, तिनीहरूको लार्भा तथा फुलहरू संकलन गर्ने र प्रयोगशालामा जीवनचक्रको अध्ययन गरी नियन्त्रणका लागि उपयुक्त रासायनिक वा जैविक विधिहरू तय गर्छन् ।’
वातावरणमा नकारात्मक असर नपर्ने गरी कसरी कीट नियन्त्रण गर्ने भन्ने प्राविधिक ज्ञान उनीहरूसँग हुने र सोही कुरा कार्यक्षेत्रमा लागु गर्ने डा. सापकोटाको भनाइ छ । उनले थपे, ‘यसै वर्ष कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रले तीन ब्याच तालिम सञ्चालन गर्यो ।’
प्रत्येक ब्याचमा १० जनाका दरले कुल ३० जना स्वास्थ्यकर्मीलाई तालिम दिइएको र आगामी वर्ष पनि यसलाई निरन्तरता दिइने उनले जानकारी दिए ।
‘हामीले तालिममार्फत दक्ष बनाएर जनशक्तिलाई कार्यक्षेत्रमा पठाइरहेका छौं । यस प्रक्रियाअन्तर्गत देशभरिका सरकारी स्वास्थ्य संस्थाहरूमा कार्यरत अहेव, हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र ल्याब असिस्टेन्टहरूलाई कीट पहिचान र तिनीहरूको जीवनचक्र बुझ्ने सीप सिकाइन्छ,’ उनले भने, ‘यसका लागि विशेषगरी कीटजन्य रोगहरूको बढी प्रकोप र रिपोर्टिङ भइरहेका क्षेत्रका स्वास्थ्यकर्मीहरूलाई प्राथमिकता दिने गरिएको छ ।’
तालिमप्राप्त जनशक्तिको भूमिका
महामारीको समयमा उच्च तहको वैज्ञानिक अनुसन्धान र जटिल प्राविधिक कार्यहरू गर्न गाह्रो भइरहेका बेला यो तालिमले स्वास्थ्यकर्मीहरूलाई आधारभूत सीप मात्र प्रदान गर्ने डा. सापकोटा बताउँछन् ।
केन्द्रका अनुसार एक कुशल ‘इन्टोमोलोजिस्ट’ ले मानव बस्ती वरिपरि रहेका विभिन्न प्रकारका रोग सार्ने कीटहरूको पहिचान गर्ने, तिनीहरूको लार्भा तथा फुलहरू संकलन गर्ने र प्रयोगशालामा जीवनचक्रको विस्तृत अध्ययन गर्ने गर्छन् ।
अध्ययनका आधारमा कुन विषादी कुन अवस्थामा प्रयोग गर्ने, कीटहरूको औषधिसँग लड्ने प्रतिरोध क्षमता कस्तो छ, वा रासायनिक औषधिको सट्टा कुन जैविक विधि अपनाउने र वातावरणमा नकारात्मक असर नपुर्याई कसरी कीट नियन्त्रण गर्ने भन्ने वैज्ञानिक निष्कर्ष निकाल्ने काम उनीहरूले गर्छन् ।
साथै, प्रकोप फैलिएको क्षेत्रमा पुगेर संक्रमितको वास्तविक तथ्याङ्क संकलन गर्ने र बहुक्षेत्रीय सहकार्यमा नियन्त्रणका कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी पनि उनीहरूकै हुने डा. सापकोटाले बताए ।
‘यो आवश्यकता पूरा गर्न अब जनस्वास्थ्य विधाअन्तर्गत नै पोषण, महामारी विज्ञान वा स्वास्थ्य प्रवर्धन जस्तैः इन्टोमोलोजीलाई पनि एउटा विशेष विषयका रूपमा राखेर स्नातक तहको अध्ययन–अध्यापन सुरु गर्नु अपरिहार्य भइसकेको छ,’ उनले भने ।
स्वास्थ्य मन्त्रालयले तत्काल इन्टोमोलोजिस्टको स्थायी दरबन्दी सिर्जना नगरे र विश्वविद्यालयहरूले दक्ष जनशक्ति उत्पादनमा ध्यान नदिए भविष्यमा कीटजन्य रोगहरूको रोकथाम, नियन्त्रण र व्यवस्थापन कार्य थप संकटमा पर्ने जोखिम देखिन्छ ।
त्यस्तै, स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक तथा ईडीसीडीका निर्देशकसमेत रहेका डा. अनुज भट्टचनले विश्वविद्यालय तथा प्रतिष्ठानहरूसँग सहकार्य गरेर कीट विशेषज्ञ उत्पादन गर्नुपर्नेमा जोड दिए ।
विभागले यस विषयलाई गम्भीरतापूर्वक लिएको उनको भनाइ छ । मौसमजन्य रोग व्यवस्थापनका लागि २४सै घण्टा स्वास्थ्यकर्मीहरू तयारी अवस्थामा रहेको जानकारी दिँदै डा. भट्टचनले भने, ‘वर्षायाममा रोगहरूको जोखिम बढ्छ । यसका लागि आवश्यक औषधि तथा सामग्रीको मौज्दात राखिएको छ । सबै तहमा र्यापिड रेस्पोन्स कमिटी तथा र्यापिड रेस्पोन्स टिम गठन हुनुका साथै स्थानीयस्तरमा ती टिमको क्षमता अभिवृद्धि गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन कार्यालयका कर्मचारी घुससहित पक्राउ
-
आयोगमा परेका १ हजार ५ सय उजुरीमध्ये ४ सय उजुरीको प्रारम्भिक छानबिन सुरु
-
सशस्त्रको स्कुलको ११ करोड रकम एमडी ट्राभल्सको खातामा
-
स्रोत नखुलेपछि बलरामकाे ७३ लाख ३० हजार रुपैयाँ जफतकाे फैसला
-
राहदानी काण्डबारे लेखा समितिमा उठ्यो प्रश्न
-
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण