मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

आँधीले १२औँ तलाबाट मान्छे उडाएपछि...

मङ्गलबार, २३ असार २०८३, १८ : ५६
मङ्गलबार, २३ असार २०८३

बेइजिङ । चीनको हुबेई प्रान्तमा आएको शक्तिशाली आँधीले अपार्टमेन्टको १२औँ तलाबाट एक मान्छेलाई उडाएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सोमबार राति आएको आँधीमा प्रतिघण्टा २६० किलोमिटरसम्मको वेगमा हावा चलेको थियो । त्यसले घरहरू भत्काएको, सवारीसाधन पल्टाएको र खेतीयोग्य जमिनमा ठुलो क्षति पुर्याएको बताइएको छ । 

यस आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ३३१ भन्दा बढी घाइते भएका छन् ।

आँधीबाट ४ हजार ८५५ भन्दा बढी घरमा क्षति पुगेको जनाइएको छ । हुबेई चीनको प्रमुख औद्योगिक क्षेत्रमध्ये एक हो । यहाँ मोटरगाडी उद्योग धेरै छन् । सबैभन्दा बढी प्रभावित ह्वाङगाङ सहरमा आँधीले एक जना ३० वर्षीय पुरुषलाई उनको १२औँ तलाको अपार्टमेन्टबाट सोफा र दराजसहित बाहिर उडाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । ती व्यक्ति हाल अस्पतालको सघन उपचार कक्षमा उपचाररत छन् । त्यसै सहरमा हावाले धेरैवटा ठूला ट्रकसमेत ३० मिटरसम्म उचालेर फ्याँकेको बताइएको छ ।

आँधीले नजिकैको इझोउ सहरमा पनि ठुलो क्षति पु‍र्‍याएको छ । त्यहाँ मात्र पाँच जनाको मृत्यु भएको छ । स्थानीय प्रशासनले प्राकृतिक विपद्बाट ठुलो क्षति भएको स्वीकार गर्दै तीन हजारभन्दा बढी उद्धारकर्मी परिचालन गरिएको जनाएको छ । हुवेई प्रान्तमा आँधी विरलै आउने गर्छ । यसअघि त्यहाँ मे २०२१ मा अन्तिम पटक टोर्नाडो आएको थियो । विशेषज्ञहरूका अनुसार मायसाक आँधीको प्रभाव र प्रारम्भिक वर्षायाम एकैसाथ सक्रिय हुँदा हुबेईमा यस्तो भीषण मौसम विकसित भएको हो ।

यतिबेला चीनको गुआङ्सी क्षेत्रमा भीषण बाढी र गान्सु प्रान्तमा गएको पहिरोका कारण पनि जनधनको ठुलो क्षति भइरहेको छ ।

यसबिच चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रभावित क्षेत्रहरूमा उद्धार, राहत र विस्थापितहरूको पुनःस्थापनाका लागि सबै सम्भव प्रयास गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप