शेख हसिनाको छोराले लिए अमेरिकाको नागरिकता

वासिङ्टन डीसी । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाका छोरा सजीव वाजेद जोयले अमेरिकी राहदानी लिएको खबर आएको छ । उनले वाशिंगटन डीसीमा अमेरिकी नागरिकताको शपथ लिएको ‘बंगलादेश प्रतिदिन’ले भनेको छ । शपथ ग्रहण समारोहमा विभिन्न देशका २२ जनाले भाग लिएका थिए । तीमध्ये जोय सहित तीन जना बंगलादेशी मूलका थिए ।
उनले आफूसँगै एक जना वकिल पनि ल्याएका थिए । शपथ लिने तीन बंगलादेशीमध्ये जोय दोस्रो थिए । मोहमद युनुसको वर्तमान सरकारले जोयको बंगलादेशी राहदानी रद्द गरिदिएको थियो । यस्तो अवस्थामा उनले अमेरिकी राहदानी लिनुपरेको भनिएको छ । ग्रिन कार्डले कुनै पनि व्यक्तिलाई अमेरिका बाहिर यात्रा गर्न अनुमति दिँदैनथ्यो ।
सजीव वाजेद जोयलाई अमेरिका बाहिर यात्रा गर्न राहदानी चाहिएको थियो । यसै सन्दर्भमा उनले अमेरिकाबाट राहदानी लिएको बताइएको छ । गत वर्ष अगस्टमा विद्यार्थीहरूको चर्को विद्रोहका बिच बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा जोयकी आमा शेख हसिना भागेर भारतमा आएकी थिइन् । उनी अहिले पनि भारतमै छिन् ।