आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

'जब–जब शक्तिले न्यायिक क्रूरता फैलाउँछ, हामी काफ्का सम्झन्छौँ'

शनिबार, ०३ जेठ २०८२, ०७ : १२
शनिबार, ०३ जेठ २०८२

समाचार सारांश

  • सन् १९०४ मा फ्रान्ज काफ्काले साथीलाई लेखेका थिए, पुस्तक बरफजस्तै समुद्रमा चिरा पार्न सक्ने बन्चरो हुनुपर्छ ।
  • काफ्काको उपन्यास 'द ट्रायल' ले एक निर्दोष पात्र जोसेफ के.को कथा बताउँछ, जसलाई अज्ञात अपराधमा फसाएर फाँसी दिइन्छ ।
  • उपन्यासले न्याय प्रणालीको विकृति, शक्तिको दुरुपयोग र मानव अवस्थाको अन्धकार पक्षलाई उजागर गर्छ, जसलाई 'काफ्काएस्क्यु' शैलीमा चित्रण गरिएको छ ।

सन् १९०४ मा फ्रान्ज काफ्का २० वर्षका मात्रै थिए । त्यसवेला उनले आफ्नो साथी ओस्कार पोल्लाकलाई लेखेका थिए, ‘एउटा पुस्तक हामीभित्र बरफजस्तै जमेर बसेको समुद्रमा चिरा पार्न सक्ने बन्चरोजस्तै धारिलो हुनुपर्छ ।’

काफ्काको यो वाक्यले हामीलाई ठ्याक्कै उनको लेखन शैली बुझाउँछ । अर्थात् एउटा यस्तो धारिलो बन्चरो, जसको तिखो धारले बरफको फराकिलो सतहमा चिरा पारेर चारैतिर अनगिन्ती धर्सा कोरिदिन्छ ।

संसारको बौद्धिक चेतनामा चिरा पर्नेगरी उनले त्यस्तै सर्वकालीन महान् उपन्यास लेखेका छन् । त्यसको नाम हो– ‘द ट्रायल’ । यो उपन्यास मार्फत उनले साहित्य जगतमा मथिङ्गल हल्लाउने पात्र प्रवेश गराएका छन् । दुर्भाग्यको जीवन बाँच्न विवश त्यो पात्र बैंकमा जागिर गर्ने कर्मचारी जोसेफ के. हो ।

उपन्यासको सुरुवातमा लेखकले असाध्यै छोटकरीमा कथाको पृष्ठभूमि बताएका छन् । कुनै कार्यालय जानुपर्ने दिनकै बिहान जोसेफ के. ब्युँझिदा आफूलाई दुई जना अपरिचितहरूले आफ्नो बिछ्यौनामै घेरिरहेको पाउँछ । उसले केही बुझ्नै नपाई उनीहरूले उसलाई गिरफ्तार गरेर हिरासतमा पुर्‍याउँछन् ।

उसलाई फाँसीको सजाय सुनाइन्छ । उसलाई आफ्नो अपराध के हो भन्नेबारे पनि थाहा हुँदैन । उसले आफूलाई फाँसीको सजाय सुनाउने न्यायाधीश पनि कहिल्यै देखेको हुँदैन ।

यो उपन्यास अहिलेभन्दा एक सय वर्ष पहिले, २६ अप्रिल १९२५ मा प्रकाशित भएको हो । सय वर्षपछि पनि यसको बन्चरोको प्रहार आज पर्यन्त उत्तिकै जीवन्त अनुभव भइरहेको छ । पुस्तकले दिने अनुभूतिलाई हामी एउटै विशेषणमा भन्न सक्छौँ– ‘काफ्काएस्क्यु’ अर्थात् काफ्काले भनेजस्तै अवस्था । यो पदावली स्वयं काफ्का जत्तिकै लोकप्रिय बनिसकेको छ ।

द ट्रायल सन् १९१४–१५ को अवधिमा लेखिएको थियो । त्यसबेला काफ्का आफ्नो उमेरको तेस्रो दशकमा थिए । काफ्का एक किसिमका पूर्णतावादी थिए । उनका डायरीहरू पढ्दा उनी आफ्नै लेखन क्षमतालाई घरी–घरी शङ्का गर्थे भन्ने थाहा पाइन्छ । उनी आफ्नो कलात्मक आत्म–मूल्यसँग हमेशा सङ्घर्षमै हुन्थे ।

उनका अन्य दुई उपन्यास ‘अमेरिका’ र ‘द क्यासल’ जस्तै उनको द ट्रायल पनि अधुरो कृति नै हो । उनले यी कृति कहिल्यै पूरा गरेनन् । उनको जीवनकालमा उनका थोरैमात्र कृति प्रकाशित भए, जसमा लघुकथाका दुई वटा सङ्कलन, केही कथाका अंश र उनको लघु उपन्यास द मेटामोर्फोसिस मात्रै थिए । त्यसको पनि खासै चर्चा भएन ।

यी उपन्यास पनि काफ्काका निकट मित्र म्याक्स ब्रोडले हस्तक्षेप गरेर नजोगाएको भए अहिले हामीमाझ हुने थिएनन् । काफ्का सन् १९२४ मा ४० वर्षको उमेरमै क्षय रोगका कारण बिते । उनले ब्रोडलाई आफ्ना कृतिका पाण्डुलिपि प्रकाशन नगर्नु, बरु नष्ट गरिदिनु भनेका थिए ।

ब्रोडले काफ्काको अनुरोध अस्वीकार गरे । द ट्रायल उपन्यास काफ्काको निधनपछि प्रकाशित भयो । यो उपन्यास उनको मरणोपरान्त प्रकाशित पहिलो उपन्यास थियो । बाँकी कृति पनि त्यस लगत्तै प्रकाशित भएका थिए ।

काफ्काएस्क्यु

आफ्नो युवावयमा स्टालिनको साम्यवादको प्रभाव भोगेका चेक लेखक मिलन कुन्देराले मानिस असिम भुलभुलैयामा फसेर निरीह हुनुपर्दाको अवस्थालाई ‘काफ्काएस्क्यु’ भनेर चित्रण गरे । उनले यसमा रुसी उपन्यासकार फ्योदोर दोस्तोएभ्स्कीको ‘क्राइम एन्ड पनिसमेन्ट’ भन्दा विल्कुल विपरीत परिस्थिति देखे ।

kafka

उनका अनुसार काफ्काको कृतिमा अपराध भएको घटनामा सजाय दिइएको भन्दा पनि पहिले सजाय आएको छ, अनि अपराधको खोजी भएको छ । दोस्तोएभ्स्कीको कृतिमा पहिले अपराध छ, त्यसपछि त्यसबारे क्षोभ छ, अनि बल्ल सजाय छ ।

उत्तर–संरचनावादी दार्शनिकहरू गिल्स डेलुज र फेलिक्स गुट्टारीका अनुसार काफ्काले ‘विभिन्न खण्डका करिडोरहरू तथा कार्यालयका शृङ्खला’ले खडा गरेको ‘नव–कर्मचारीतन्त्र’ अवधारणाको सुरुवात गरेका थिए । यसले ‘पुरानो औपनिवेशिक कर्मचारीतन्त्रको ठाउँमा आधुनिक कर्मचारीतन्त्रको सङ्क्रमण’ जनाएको थियो ।

उनीहरूलाई काफ्काको विश्वदृष्टिकोण धेरै शक्तिशाली लाग्यो । त्यसैले यसलाई उनीहरूले पुँजीवाद तथा स्किजोफ्रेनियाबारेका आफ्ना प्रभावशाली सिद्धान्तमा समावेश गरे ।

सबैभन्दा भव्य स्थानको रूपमा रहेको चर्चलाई पनि अँध्यारो र अस्पष्ट तरिकाले वर्णन गरिएको छ । यस्तै सामान्य तत्वहरू जोडेर काफ्का मनको रङ्गमञ्चमा विशाल परिदृश्य निर्माण गर्छन् । उनका दृश्यहरू वास्तविक ठाउँहरू र वस्तुहरूबाट आउँछन् ।

जोसेफ के.को दुर्भाग्यको खेल कुनै गुमनाम सहरमा घुमेको छ । यो सहर काफ्काको गृहनगर प्रागबाटै प्रभावितजस्तो देखिन्छ । क्रूरतावादी वास्तुकलाको प्राचिन अवस्था झल्काउने गरी सहरको अष्ट्रो–हङ्गेरियाली साजसज्जा सबै उडेको देखाइएको छ ।

यसको पृष्ठभूमि असाध्यै शक्तिशाली बनाइएको छ । कमै लेखकले मात्रै यति थोरै विवरण प्रयोग गरेर यस्तो अनौठो र विस्मयकारी वातावरण सिर्जना गरेका छन् । उपन्यासको अधिकांश भाग बोर्डिङ हाउस, बैंक कार्यालय, पुराना भवनहरू, एउटा भग्नावशेष जस्तो लाग्ने कला स्टुडियो र एउटा खानीजस्ता साधारण ठाउँहरूमा घुमेको हुन्छ ।

सबैभन्दा भव्य स्थानको रूपमा रहेको चर्चलाई पनि अँध्यारो र अस्पष्ट तरिकाले वर्णन गरिएको छ । यस्तै सामान्य तत्वहरू जोडेर काफ्का मनको रङ्गमञ्चमा विशाल परिदृश्य निर्माण गर्छन् । उनका दृश्यहरू वास्तविक ठाउँहरू र वस्तुहरूबाट आउँछन् ।

त्यसबाट भ्रममय दृश्य शृङ्खला बन्छ । उनी खास प्रकारका लेखक हुन् । उनका दृश्यहरू गहन चिजबाट बनेका जस्तो महसुस गर्छन् । मानव मन बन्ने कच्चा पदार्थ पनि उनले प्रयोग गर्ने त्यस्तै एउटा गहन चिज हो । स्मृतिका साना–साना टुक्राजस्तै वातावरण पनि परिवर्तन भइरहन्छ । कोठाहरू परिवर्तन हुन्छन् । नयाँ कार्यालयहरू र स्टुडियोहरू देखा पर्छन् ।

त्यस्ता कोठाहरूमा विभिन्न खाले पात्रहरू आएर अभागी जोसेफ के.लाई घेरिरहन्छन । कसैले प्रत्यक्ष त कसैले अप्रत्यक्ष रुपमा उसको भाग्यलाई प्रभावमा पार्न खोज्छन । यस्ता मानिसमा कोही उनको घरधनी, प्रेमिका, कार्यालयका सहकर्मी, काका जस्ता उनको व्यक्तिगत जीवनका पात्र हुन्छन् ।

अरूचाहिँ मुद्दा मामलाको अदालती र रहस्यमय संसारका हुन्छन् । जसमा न्यून दर्जाका अधिकारीहरू, उनका वकिल, एक चित्रकार र एक पुजारी हुन्छन् । ती सबैले कुनै न कुनै रूपमा उनको भाग्यलाई असर गर्छन् । ती सबैसँगको भेटमा जोसेफ के.ले आफ्नो व्यक्तित्वका अनेक पक्ष देखाउँछ ।

ऊ कहिले विनम्र हुन्छ, कहिले रुखो हुन्छ । कहिले आफूमाथि भएको अन्यायको विरुद्ध आक्रामक हुन्छ भने कहिले उदास, थकित र बेपरवाह देखिन्छ । ऊ सबै थोक हुन्छ, तर एउटा अवस्थामा भने पुग्दैन । ऊ मानसिक उन्माद वा विक्षिप्ततामा हुँदैन ।

द ट्रायल उपन्यासको केन्द्रीय विषयवस्तु नै मानसिक उन्माद (पारानोइया) वा भय हो, तर यो एक जनाको विक्षिप्ततामा भन्दा पनि सर्वत्र फैलिएको हुन्छ । यो काफ्काले निर्माण गरेको संसारको एक भाग हो ।

काफ्काको बुझाइमा संसार आफैँमा अविवेकी, मनोमानी र खराब छ । यसले निरन्तर विक्षिप्ततामात्रै पैदा गर्छ । जोसेफ के. यस्तो व्यक्ति हो, जो पागलजस्तै बनिसकेको संसारमा आफूलाई सामान्य राख्न खोजिरहेको छ । यसो गर्नका लागि उसले विद्रुप भएका मूल्यलाई आफूमा लागु गराउनबाट रोकिरहेको हुन्छ ।

के. नदेखिने शत्रुहरूसँग डराउँदैनन् । वास्तवमा, उनी प्रायः यस्तो व्यवहार गर्छन्, मानौँ सबै कुरा ठिकठाक छ । उनी तर्क गर्छन्, प्रणालीको खिल्ली उडाउँछन् र अनजानमा आफ्नै सम्भावनाहरू बर्बाद गर्छन् । हामीले जोसेफ के.लाई विक्षिप्त पात्र बनायौँ भने उनले देखाउन खोजेको केन्द्रीय विषयबस्तु बुझ्न हामीलाई अप्ठेरो हुन सक्छ ।

जोसेफ के.ले आफ्नो गिरफ्तारीको प्रतिवाद विविध तरिकाले गर्छन् । उनी कुनैवेला सबैकुरा छिटै ठिक भइहाल्छ भन्ने खालको आत्मविश्वास देखाउँछन् । आफूलाई नियन्त्रण गरिरहेको अज्ञात शक्तिसँग डराउनुको सट्टा जुध्न खोज्छन् । त्यसको खिल्ली उडाउन खोज्छन । त्यसले प्रत्येक पटक उनको आफ्नै रिहाइको सम्भावना घटाइरहेको हुन्छ ।

काफ्काको बुझाइमा संसार आफैँमा अविवेकी, मनोमानी र खराब छ । यसले निरन्तर विक्षिप्ततामात्रै पैदा गर्छ । जोसेफ के. यस्तो व्यक्ति हो, जो पागलजस्तै बनिसकेको संसारमा आफूलाई सामान्य राख्न खोजिरहेको छ । यसो गर्नका लागि उसले विद्रुप भएका मूल्यलाई आफूमा लागु गराउनबाट रोकिरहेको हुन्छ ।

आफ्नो बुझाइमा ऊ विल्कुल निर्दोष छ । ऊ सधैँ यस्तो दाबी गरिरहन्छ । अदालतका अघिल्तिर उसको सोझो, सरल र इमानदार शैलीले उसको शुद्धता देखाउँछ । द ट्रायलमा देखाइएको अदालत विकृत छ । काफ्काले हामीलाई यसको स्वरुप विविध टुक्रामा देखाउँछन् ।

सुरुमा हामी अदालतको कार्यालयलाई भौतिक रुप देख्छौँ । यो एउटा फोहोर र जर्जर भवनको सानो ढोकाको पछाडिपट्टि हुन्छ । अचम्मको कुराचाहिँ ढोका पछाडि एउटा भिडभाड भएको ठुलो कोठा छ । त्यो कोठा अदालतको सुनुवाइमा व्यस्त मानिसले भरिएको हुन्छ ।

जोसेफ के. आफ्नो पहिलो तथा एक पटकमात्र भएको सुनुवाइका लागि त्यहाँ जान्छन् । कोठा फोहोर हुन्छ । भत्किएको हुन्छ । सुनुवाइ पनि एउटा मजाकका रूपमा मञ्चन भइरहेको छ । न्यायाधीशले जोसेफ के.लाई घरको रङरोगन गर्ने मान्छे होला भन्ने ठान्छन् । जोसेफ के.ले ठुलो स्वरमा आफू निर्दोष भएको जिद्दी गरिरहन्छ । सुनुवाइको सुरुवात राम्रोसँग हुँदैन ।

kafka2

अदालतको छलफल सत्र सकिएपछि जोसेफ के. फेरि अदालतको खाली कोठामा फर्कन्छ । वरिपरि हेर्छ । उसले न्यायाधीशका पुस्तकहरू भेट्टाउँछ । ती सबै खोलेर हेर्छ । ती अनौठा छन् । एउटा पुस्तक त भद्दा र पोर्नोग्राफिक तस्बिरहरूले भरिएको छ । अर्को ‘ग्रेटाले आफ्नो पति फ्रान्जबाट के भोगिन’ शीर्षकको पुस्तक छ ।

द ट्रायल पूरै विसंगत हाँस्यले भरिएको छ । आफैँमा जस्ता छन्, त्यस्ता नदेखिने कुराहरू छन् । अतियथार्थ पनि छ । उदाहरणका लागि, एकपटक अदालतका एक जना कर्मचारीकी श्रीमतीले जोसेफ के.लाई फकाउन खोज्छिन् । यसैक्रममा उसको आँखा उनका हातमा पुग्छन् । उनका दुई वटा औंला अनौठो तरिकाले बाक्लो छालाले जोडिएका हुन्छन् । छालाको जालोजस्तै देखिन्छ ।

हामी उपन्यासमा प्रायः अदालतलाई प्रत्यक्ष रूपमा देख्दैनौँ, तर, अदालतमा काम गर्ने मानिसले अदालत कसरी चल्छ भनेर निरन्तर गर्ने गरेका कुराकानीबाट हामी यसको शक्ति महसुस गर्छौं । जोसेफ के.का वकिल हल्ड (जो बिरामी भएर ओछ्यानमा हुन्छन्)ले न्यायालयको विस्तृत र भ्रामक प्रणालीबारे बताउँछन् ।

उनका अनुसार अदालत भन्ने चिज यति विशाल छ कि यो के हो भन्ने बारे विशेषज्ञहरूले पनि यसलाई राम्रोसँग ठम्याउन सकेका छैनन् । हल्डले अदालतको प्रक्रिया कसरी सधैँभरि तन्काएर लम्बेतान बनाइन्छ भन्ने बारेमा पनि विस्तारमा सुनाउँछन् ।

उनका अनुसार प्रतिवेदनका खाका तयार त गरिन्छ तर अनेक कारणले तिनीहरूले पूर्णता पाउन ढिलो भइहाल्छ । यदि त्यस्ता प्रतिवेदनहरू तयार भएर अन्ततः हस्तान्तरण भएछन् भने पनि त्यहाँभित्रको अनेक उतार–चढावकै प्रक्रियाको जालोमा परेर बेकामे हुन्छन् ।

जोसेफ के.लाई आफ्नो मुद्दा अगाडि बढाउन सहयोग गरिदिन भनेर अदालतका लागि काम गर्ने टिटोरेली नामका चित्रकारकहाँ पठाइन्छ । टिटोरेलीले पर्दा पछाडि कसरी काम हुन्छ भनेर व्याख्या गर्छन् । उसका अनुसार मुद्दाको अन्तिम परिणाम फेर्न जोसेफ के.ले बहस मार्फत नै न्यायाधीशहरूलाई मनाउनुपर्छ ।

अदालतले मानिसलाई दोषी नै ठान्छ, तर सजाय भने सधैँ मृत्यु नै हुन्छ भन्नेचाहिँ होइन । टिटोरेलीले सल्लाह दिन्छन् । उसका अनुसार जोसेफ के.ले आफू दोषी भएको कुरा स्वीकार गर्नुपर्छ । दोष स्विकार्दा त्यस्तो मुद्दा रोज्नुपर्छ, जसको अन्तिम सजाय ढिलो होस् ।

सकेसम्म सधैँभरि मुद्दा चलिरहोस् वा फैसला आइहाले पनि ढिलो आओस् । त्यसमा पनि निश्चित रुपमा के हुन्छ भन्न सकिँदैन । भ्रम र तनावसहित जोसेफ के. यस्तो भयानक प्रणालीसँग कसरी व्यवहार गर्ने भन्ने अन्योलमा हुन्छ । यत्तिकैमा उसको भेट एक जना पुजारीसँग पनि हुन्छ ।

उसको समस्यामा पुजारीको जवाफ अनुसार जोसेफ के.ले सबै कुरा सत्य हो भनेर विश्वास गर्नु हुँदैन, केवल यहाँ यस्तो छ भनेरमात्रै मान्नुपर्छ । यो सन्दर्भमा जोसेफ के.को जवाफ हुन्छ– यो त दुःखद् भयो । यसले त सबै कुराका लागि झुट बोल्नु पर्छ भन्ने नियम नै बनाउँछ ।’

पुनर्जागरण उल्ट्याउने द्वन्द्ववाद

द ट्रायलको सबैभन्दा शक्तिशाली भनेको काफ्काले सबै ढिलाइ र चक्रहरूलाई अचानक अन्त्यमा पुर्‍याउँछन् । अर्थात् सबै खराबीको अन्त्य मृत्युसँगै हुन्छ ।

जोसेफ के.को मृत्युदण्डको घटना सबैभन्दा डरलाग्दो र हाँस्यास्पद दुवै छ । त्यही अनौठो मिश्रणले गर्दा यो घटना तमाम साहित्यको सबैभन्दा विचलित पार्ने दृश्यको रुपमा देखिन्छ । एक हिसाबले यो बलिदान जस्तो पनि लाग्छ, तर त्यसमा बलिदानको कुनै स्पष्ट कारण छैन ।

उपन्यास द ट्रायलले पुनर्जागरणले उठाएको मानव प्रगतिको सपनाभित्र लुकेको अँध्यारो पाटो देखाइदिन्छ । अर्थात् यो यस्तो संसार छ, जहाँ शक्तिले केवल आफ्नो हितका खातिर कुनै न्याय वा तर्क बेगरै कसैलाई पनि समाप्त पारिदिन सक्छ ।

गिरफ्तारीको एक वर्ष पूरा भएपछि उसको ३१ औँ जन्मदिनको अघिल्लो रात कालो पोसाकमा दुई पुरुष चुपचाप उसको कोठामा छिर्छन् । तिनीहरूले उसलाई सहरबाट बाहिर एउटा पुरानो खानी भएको स्थानमा लैजान्छन् । त्यहाँ तिनीहरूले उसलाई ढुङ्गामा सुताएर चन्द्रमाको उज्यालो किरणमा उसको मुटुमा छुरा रोपिदिन्छन् ।

हत्याको त्यो दृश्य असाध्यै प्राचिन तथा कर्मकाण्डी देखिन्छ । यस्तो निर्मम हत्या हुन्सक्ने कस्तो संसार होला ? झुटहरू सामान्य ठानिने तथा तर्कले हार्नेमात्रै भएर पनि समाज त्यो हदसम्म गिरेको हुँदैन । यो त अझ खराब संसार हो । जहाँ बुद्धिलाई ठाडै अस्वीकार गरिन्छ । साथै पुनर्जागरणको आधारभूत विचार अनुरुप मानव प्रगतिले हामीलाई सत्यको निकट पुर्‍याउँछ भन्ने आदर्शको पनि खारेज गरिन्छ ।

उपन्यास द ट्रायलले पुनर्जागरणले उठाएको मानव प्रगतिको सपनाभित्र लुकेको अँध्यारो पाटो देखाइदिन्छ । अर्थात् यो यस्तो संसार छ, जहाँ शक्तिले केवल आफ्नो हितका खातिर कुनै न्याय वा तर्क बेगरै कसैलाई पनि समाप्त पारिदिन सक्छ ।

उपन्यासको अन्तिम दृश्यमा जोसेफ के. यी सबै प्रपञ्चसामु हार मान्छन् तथा ‘कुकुर जस्तै’ असहाय मृत्यु मर्छन् । कथाको अन्तिम परिदृश्यसँगै काफ्काले संशय गर्छन् । हामी पुनर्जागरण वा प्रगतिको नाममा अगाडि बढ्नुको सट्टा कतै झनै क्रूर र अन्यायपूर्ण संसारमा फर्किरहेका पो छौँ कि !

काफ्काले कुनै सन्दर्भमा भनेका थिए, हामीले केवल त्यस्ता पुस्तकहरू पढ्नु पर्छ जसले हामीलाई ब्युँझाओस् । उनकै भनाइ मानेर हामीले आफूलाई ब्युँझाउने किताब छान्ने हो भने आजका दिनमा उनको यो किताब पनि त्यही कोटीमा पर्छ ।

जब–जब कुनै शक्तिले आफ्नो कुत्सित लक्ष्य पूरा गर्न कानुनलाई आफ्नो अनुकूल प्रयोग गर्छ, त्यसबेला हामी ‘काफ्काएस्क्यु’ संसार जीवन्त भएर आएको देख्छौँ । साँच्चै काफ्काको दृष्टिकोण गम्भीर छ । साथै यसले मान्छेको प्रवृत्तिबारेको गहिरो सत्य पनि उजागर गरिदिएको छ ।

उनले त्यस्ता सत्यलाई उधिनेर देखाइदिएका छन्, जुन हामीले हेर्न आवश्यक छ । हामीले त्यो संसार देख्न सकेनौँ भने हामी या त निद्रामै मर्नेछौँ वा ब्युँझिए पनि दृष्टिविहीन हुनेछौँ ।

(द कन्भरसेसनबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एन्थोनी मेक्रिस
एन्थोनी मेक्रिस
लेखकबाट थप