आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

बङ्गलादेशमा नेपाली फुड फेस्टिभल भव्यताका साथ सम्पन्न

आइतबार, ०४ जेठ २०८२, ०९ : ०५
आइतबार, ०४ जेठ २०८२

काठमाडौँ । बङ्गलादेशमा पहिलोपटक आयोजना गरिएको 'नेपाली फुड फेस्टिभल २०२५' नेपाली स्वाद, संस्कार र सम्पदाको एक अद्वितीय पर्व बनेर उभिएको छ। नेपालिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन, बङ्गलादेशद्वारा आयोजित यो ऐतिहासिक कार्यक्रममा १५०० भन्दा बढी दर्शकहरूको सहभागिता रह्यो, जसले नेपाल–बङ्गलादेश मित्रतालाई नयाँ युगमा प्रवेश गराएको छ।

नेपाली विद्यार्थीहरूले विभिन्न मेडिकल कलेजहरूबाट सहभागी भई प्रस्तुत गरेका मोमो, सेलरोटी, गुन्द्रुकको अचार, चिकेन छोइला,खिर, लस्सी, पानीपुरी,चटपटे लगायतका साँच्चिकै मौलिक र परम्परागत परिकारहरू ले विदेशी दर्शकहरूलाई नेपालकै स्वादको अनुभूति दिलाए।

नेपाली स्वादमा रमाएका दर्शकहरूको उत्साह र प्रेमले कार्यक्रमलाई थप ऐतिहासिक बनायो। नेपाली सेफ दुर्गा प्रसाद कँडेल को विशेष सेफ स्टल कार्यक्रममा प्रमुख आकर्षण बन्यो ।

कार्यक्रममा बङ्गलादेशका लागि नेपाली राजदूत महामहिम घनश्याम भण्डारी प्रमुख अतिथि रहेका थिए । उनले कार्यक्रमको प्रशंसा गर्दै यो पहललाई  युवा नेतृत्वमा आधारित सांस्कृतिक कूटनीतिकता को उदाहरणका रूपमा उच्च मूल्याङ्कन गर्नुका साथै यस्ता कार्यक्रमलाई आफ्नो निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । 

एसोसिएसनका संस्थापक अध्यक्ष डा नवीन यादवले कार्यक्रमको अध्यक्षता गर्दै सबै सहभागीहरू, दर्शकहरू र सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरे। उनले भने–'यो केवल एउटा कार्यक्रम होइन—यो हाम्रो राष्ट्रिय पहिचान, एकता र संस्कृतिको अभियान हो। अब यात्रा सुरु भएको छ। यो त एउटा नमुना मात्र भएको भन्दै विशेष नेपाली खान,संस्कृतिको अनुभव लिन नेपाल नै आउनु पर्छ ' । 

कार्यक्रमका मुख्य समर्थनकर्ता हिमालयन पाथवे टुर्स एन्ड ट्रेक्सका प्रबन्ध निर्देशक रमेस रेग्मीले भने -'हामी पर्यटन, संस्कृति र जनस्तरीय सम्पर्कमार्फत नेपाल–बङ्गलादेशबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउनेतर्फ प्रतिबद्ध छौँ। आजको जस्तो कार्यक्रमले दुई देशबिचको साझापन, आत्मीयता र आदानप्रदानको गहिरो सम्भावना देखाउँछ। यस अभियानलाई दीर्घकालीन रूपमा साथ दिन हामी तयार छौँ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप