आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

विपिन कुमार गुरुङ : पूर्व भलिबल खेलाडीदेखि सफल व्यवसायी र समाजसेवीसम्म

आइतबार, ०४ जेठ २०८२, १३ : १४
आइतबार, ०४ जेठ २०८२

समाचार सारांश

  • विपिन कुमार गुरुङ, जो एक व्यवसायी, समाजसेवी र एनआरएनए दक्षिण कोरियाका अध्यक्ष हुन्, उनले विभिन्न चुनौती पार गर्दै सफलता हासिल गरेका छन्।
  • उनी भलिबल खेलाडी थिए । पछि व्यवसाय र समाजसेवामा लागे।
  • गुरुङले एनआरएनएमार्फत नेपाली समुदायलाई सहयोग गर्दै आएका छन् र नेपालमा शिक्षा, खेलकुद र स्वास्थ्य क्षेत्रमा पनि योगदान पुर्याउँदै आएका छन्।

काठमाडौँ । बुबा भारतीय सेनामा कार्यरत रहेकाले उनको जन्म भारतमा भयो । तर उनी तीन वर्षको हुँदा परिवार नेपाल फर्कियो र उनका बाल्यकाल तथा किशोरावस्था यहीं बिते। हाल भने उनको व्यस्तता दक्षिण कोरियामा छ। 

उनी अर्थात् विपिन कुमार गुरुङ, जसले अनेक संघर्ष र चुनौतीलाई पार गर्दै अहिले एकसाथ विभिन्न परिचयका साथ आफूलाई स्थापित गराएका छन् ।  उनी एक व्यवसायी हुन् भने सामाजसेवी र गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका अध्यक्षसमेत हुन्।

उनी सानैदेखि खेलप्रेमी थिए। विशेषगरी भलिबलमा उनको झुकाव थियो। यही रुचिलाई उनले जीवनको महत्त्वपूर्ण मोडमा बदल्न सके। गुरुङ नेपालको नेपाल पुलिस क्लबलगायतका भलिबल टीमहरुबाट खेले र सफलताका स्वाद चाखे पनि। खेलमैदानमा आफ्ना प्रदर्शनले धेरैको मन जितेको उनी स्मरण गर्छन्। त्यही खेलले उनलाई अनुशासन, नेतृत्व र आत्मविश्वास सिकायो, जुन अहिलेको जीवनमा गहिरो प्रभाव पारिरहेको छ।

तर भविष्यको खोजीमा उनलाई कोरियाको बाटो डोहोर्‍यायो । त्यसपछि उनको खेल जीवन पनि निरन्तर रहेन र जीवन बाटो नै मोडियो । २००१ मा उनी  दक्षिण कोरिया पुगेका थिए। उनका कोरियाका सुरुवाती दिनहरू सजिला थिएनन्। भाषा, संस्कार र कामको शैली सबै फरक। तर विपिनले हार मानेनन्। जस्तोसुकै कठिनाइ आए पनि अघि बढ्ने जाँगर कायमै राखे।

विस्तारै उनले कोरियाली समाज बुझ्न थाले। उनी भन्छन्, 'कोरियालीहरूको इमानदारी, मेहनत र व्यवस्थापन क्षमताबाट म निकै प्रभावित भएँ।' यही कुराले उनलाई व्यवसायको दुनियाँतर्फ डोर्‍यायो। गएको केही समयमै उनले व्यवसाय सुरु गर्ने निर्णय लिए। सुरुमा लगानी, व्यवस्थापन र प्रतिस्पर्धा जस्ता सवालमा केही चुनौती पनि आए । तर उनले कोरियाली नियमकानुनको अध्ययन गरे, स्थानीय प्रशासनसँग समन्वय गरे र आफ्नो सांस्कृतिक ज्ञान प्रयोग गर्दै नेपाली स्वादको रेस्टुरेन्ट सुरु गरे।

3f233dcd-7613-4ff5-8026-2156d6f2bc16

आज गुरुङ दक्षिण कोरियामा  दर्शन नमस्ते नामक दुई वटा रेस्टुरेन्ट सञ्चालन गरिरहेका छन्। ती रेस्टुरेन्ट नेपाली, कोरियाली र अन्य अन्तर्राष्ट्रिय परिकारका लागि लोकप्रिय छन्। नेपाली स्वाद मात्र होइन, नेपाली संस्कृतिको प्रतिनिधित्व गर्ने स्थल बनेका छन् ती रेस्टुरेन्टहरू।

उनी भन्छन्, 'व्यवसाय भनेको पैसा मात्र होइन, समाजसँगको सम्बन्ध हो। मैले यही सोचेर रेस्टुरेन्टलाई नेपाली समुदायको केन्द्र बनाउने प्रयास गरेको हुँ।'

एनआरएनए अभियान र समाजसेवामा सँगसँगै
समाजसेवाप्रति झुकाव भएका विपिन गुरुङ कोरियामा बसेपछि नेपाली समुदायका गतिविधिमा समेत सक्रिय हुन थाले। विभिन्न संघसंस्थामा समेत काम गरिसकेका  गुरुङ पछिल्लोपटक एनआरएनए दक्षिण कोरियाको अध्यक्ष पदमा निर्वाचित भएका छन्। गैरआवासीय नेपाली संघको केन्द्रमा उनले हाल महेश श्रेष्ठको नेतृत्व समूहसँग सहकार्य गरिरहेका छन्। 

उनको नेतृत्वमा कोरियामा रहेका नेपालीहरूका सहजताका लागि केही पहलहरू पनि भएका छन्। आपतमा परेका नेपालीहरूको उद्धारदेखि लिएर कानुनी परामर्श, भाषा तालिम र सांस्कृतिक कार्यक्रमहरूसम्म उनले भूमिका खेलेका छन्।

उनी भन्छन्, 'हामी परदेशी हौँ, यहाँ एक अर्कालाई साथ नदिए कसले दिन्छ ? एनआरएनए मार्फत म सबै नेपालीहरूलाई जोड्न चाहन्छु।' विपिन गुरुङ आफू कोरियामा भए पनि मन नेपालमै रहेको बताउँछन्। उनले नेपालमा शिक्षा, खेलकुद र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएका छन्। यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने आफ्नो योजना रहेको नेपाल आएको अवसरमा रातोपाटीसँगको कुराकानीमा उनले बताए । उसो त उनी अहिले पनि भलिबल संघ दक्षिण कोरियाको
संरक्षक हुन् । जसबाट उनले सानैदेखिको आफ्नो भलिबलप्रतिको लगाबलाई पुनर्जागृत गरिरहेका छन् ।   समाजसेवामा गरेको योगदानका कारण सोल महानगपालिकाबाट मानार्थ सिटिजन उपाधि पाएका उनी विभिन्न संघसंस्थाबाट सम्मानित पनि भइसकेका छन् । 

821021e4-ab8b-49d4-ac35-8fd48c437d88

बागलुङ स्थायी ठेगाना भएका उनका लागि बुबा प्रेरणाका स्रोत हुन्। सेनामा हुँदा अनुशासन र राष्ट्रसेवाको भावना सिकाउने बुबाबाट उनले इमानदारी र लगनशीलता सिके। चाहे त्यो व्यवसाय होस् वा समाजसेवा आज उनले त्यो शिक्षालाई आफ्नै जीवनमा उतारिरहेका छन् । 
विपिन गुरुङको कथा हजारौं परदेशी नेपालीहरूको कथा पनि हो । तर फरक यति हो कि उनले संघर्षलाई सफलतामा बदल्न सके। खेलकुददेखि व्यवसाय, नेतृत्वदेखि समाजसेवासम्मका हरेक पाटोमा उनले आफ्नो पहिचान बनाउन सफल भएका छन्।

दक्षिण कोरियाको व्यस्त सहरमा बसेर पनि उनी नेपालको पीडा महसुस गर्छन्, नेपाली समुदायलाई एकजुट बनाउन र सुखदुखमा सारथि बन्न निरन्तर लागिपरेका छन्। उनको संघर्ष र सफलता आजका युवाहरूका लागि केवल प्रेरणाको विषय मात्र होइन, सम्भावनाको प्रतीक पनि बन्न सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप