बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय
दुई नेताबिच सैद्धान्तिक र वैचारिक मतभेद

‘माओवादी फुर्को’ले साना वाममा ठुलो पहिरो, नेसपामा सम्बन्ध बिग्रियो

बिहीबार, ०८ जेठ २०८२, २० : ०४
बिहीबार, ०८ जेठ २०८२

काठमाडौँ । पटक पटक विभाजनको मार खेपेको नेपाल समाजवादी पार्टी(नेसपा)भित्र फेरि अन्तरविरोध उत्कर्षमा छ । नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने विषयमा नेसपाका तत्कालीन अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महिन्द्र राय यादवबिच विवाद हुँदा २०८० चैत ३ गते विभाजन भएको थियो । 

भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति)ले पार्टी पुनर्गठन गरी गएको माघमा महाधिवेशन सम्पन्न गरिसकेको छ । पार्टी पुनर्गठनकै क्रममा रहेको यादव नेतृत्वको नेसपा १४ महिनामै फेरि विभाजनको डिलमा पुगेको छ ।

माओवादीसँग एकता गर्ने सम्बन्धमा अध्यक्ष यादव र सहअध्यक्ष गंगानारायण श्रेष्ठबिच सैद्धान्तिक र वैचारिक मतभेद बढ्दा समस्या देखिएको हो । वैशाख २७ गते बसेको नेसपाको कार्यकारिणी बैठकले जेठ मसान्तसम्म एकता प्रक्रिया टुंग्याउने निर्णय गरेको थियो । तर एकताका लागि सैद्धान्तिक कुरा नमिल्दा यादव र श्रेष्ठबिच विवाद सतहमै पोखिएको छ । 

एमाले पृष्ठभूमिका यादव मधेसका पुराना स्थापित नेता हुन् । उनी सर्लाही–२ बाट निर्वाचित संघीय सांसद हुन् । २०७० सालदेखि यादव सोही क्षेत्रबाट लगातार निर्वाचित हुँदै आएका छन् । प्रचण्ड नेतृत्वको सरकारमा यादव खानेपानी मन्त्री थिए । 

उनी रुपान्तरणसहित एकताको पक्षमा उभिएका छन् । यादवले सुरुदेखि नै पार्टी एकताका लागि माओवादी फुर्को हटाउनुपर्ने सर्त राख्दै आएका छन् । पार्टीको नाम परिवर्तनको पक्षमा सहमत हुन नसके एकता महाधिवेशनबाट टुंग्याउनुपर्ने पक्षमा उनी उभिएका छन् । सैद्धान्तिक विवाद समाधान गरी एकता गर्ने विषयमा वैशाख २६ गते प्रचण्ड र यादवबिच छलफल भएको थियो । तर कुनै निष्कर्षमा नपुगेपछि यस विषयमा पछि छलफलमार्फत टुंग्याउने सहमति भएको थियो ।

माओवादी पृष्ठभूमिका श्रेष्ठ वामपन्थी आन्दोलनका सक्रिय नेता हुन् । पछिल्लो निर्वाचनमा उनी सिन्धुली–२ (ख)बाट बागमती प्रदेशसभामा निर्वाचित सांसद हुन् । शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा श्रेष्ठ आन्तरिक मामिलामन्त्री थिए । उनी माओवादीसँग विनासर्त एकता गर्नुपर्ने पक्षमा छन् । श्रेष्ठ समूहले तत्कालै पार्टी एकताको विषय टुंग्याउन जेठ ११ गते केन्द्रीय समिति बैठक बोलाएपछि यादव समूह सशंकित देखिएको छ । 

बिहीबार महासचिव रमेशप्रसाद यादवले श्रेष्ठ समूहले बोलाएको केन्द्रीय समिति बैठक आधिकारिक नभएको विज्ञप्तिमार्फत जानकारी गराएको छ । माओवादी केन्द्रसँग रुपान्तरण सहित एकता गर्न दृढ रहेको उल्लेख छ । यद्यपि नेसपाको दुवै पक्षले एकता सम्बन्धमा विवाद नभएको दाबी गरेका छन् । सिंगो पार्टी नै माओवादीसँग एकता गर्ने गरी जेठ १२ गते प्रचण्डसँग निर्णायक छलफल गर्न लागिएको महासचिव रमेशले बताए ।

‘माओवादीसँग पार्टी एकता गर्ने कुरा हामीले १५ महिना अगाडि नै टुङ्ग्याएको विषय हो । गंगाजी अलि हतार गरिरहनुभएको छ । रूपान्तरणसहित एकता गरौँ भनेर हामीले भनिराखेका छौँ  । प्रचण्डजी काठमाडौँ आउनुभएपछि निर्णायक छलफल गर्छौं,' रातोपाटीसँग उनले भने ।

यता १२ गते नै एकतालाई टुंगो लगाउने गरी केन्द्रीय समिति बैठक बोलाइएको श्रेष्ठले दाबी गरे । सिंगो पार्टीलाई नै एकता प्रक्रियामा जोडिने गरी आन्तरिक छलफल भइरहेकाले पार्टीभित्र ठुलो विवाद नभएको उनले बताए ।

‘जेठ १२ गते एकताको विषयमा टुङ्गो लगाउने गरी केन्द्रीय समिति बैठक बोलाइएको हो । ढिलोमा जेठ मसान्तसम्म एकता गर्ने केन्द्रीय कार्यकारिणी बैठकले निर्णय गरिसकेको छ,' श्रेष्ठले भने । 

२०७९ सालको निर्वाचनअघि नै माओवादीसँग पार्टी एकता गर्ने निर्णय भएको थियो । तर पार्टीको नाम नेकपा राख्ने कि नराख्ने भन्ने विषयमा भट्टराई र यादवबिच दरार उत्पन्न भएको थियो । उनलाई बाइपास गरेर पार्टी एकता गर्ने निर्णय गरेपछि नेसपा विभाजन भयो । त्यतिवेला महिन्द्रले पेरिसडाँडाको रातो घर(माओवादीको केन्द्रीय कार्यालय) बार्दली आफूले नदेखेकाले डाक्टर सा’ब(बाबुराम)ले देखाउनुपर्ने बताएका थिए ।

माओवादी आन्दोलनको लामो समय नेतृत्व गरेका भट्टराई नै पेरिसडाँडाबारे बढी जानाकार रहेकाले उनको नेतृत्वमा पार्टी एकता हुने दाबी गरेका थिए । तर भट्टराई नै एकता प्रक्रियाबाट अलगिएपछि एकताको पहल महिन्द्र आफैले लिए ।

यसवेला वैद्यका दुःख

२०६९ साल असारमा माओवादीबाट अलग भएको मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी २०८१ साल साउनमा दुई पटक विभाजन भयो । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट चोइटिएर बनेको नेकपा बहुमत र मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालबाट अलग भएको सन्तबहादुर नेपाली समूहसँग एकता गरी महाधिवेशनको तयारीमा जुटेका वेला राजनीतिक कार्यदिशालाई लिएर पार्टी विभाजन भएको थियो ।

पार्टीको कार्यदिशा वैज्ञानिक समाजवादी हुने कि नहुने भन्ने विषयमा वैद्य र बास्तोलाबिच मतभेद बढेपछि साउन १ गते पार्टी विभाजन भयो । एकता प्रक्रियाबाट सहसंयोजक धर्मेन्द्र बास्तोला समूह अलग्गिएपछि क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई ठुलो धक्का लाग्यो । साउन २८ गते क्रान्तिकारी कम्युनिस्ट पार्टीको आयोजक समितिको बैठक चलिरहेका वेला सचिवालय सदस्यहरू भूपेन्द्र न्यौपाने (संकूल), हरिकृष्ण गजुरेल (भाष्कर) र वसन्त बोगटी नेतृत्वमा युवा नेताहरूले विद्रोह गरे ।

एकता भएको एक वर्ष पाँच महिनामै विभाजन भएपछि दुवै पक्षले पार्टी पुनर्गठन गरी महाधिवेशन सम्पन्न गरिसकेका छन् । २०८१ मंसिरमा भएको महाधिवेशनबाट वैद्य महासचिमा निर्वाचित भएका छन् । माघमा भएको नेकपा बहुमतको महाधिवेशनबाट बास्तोला महाधिवेशनमा निर्वाचित भए ।

जनयुद्धका मुख्य योजनाकार, माक्र्सवादी सिद्धान्तकार, शास्त्रीय चिन्तकसमेत रहेका वैद्यमाथि जडसूत्रवादी चिन्तन हाबी भएको आरोप लाग्दै आएको छ । त्यसअघि २०७१ साल र २०७४ सालमा विप्लव समूह र रामबहादुर थापा बादल समूहले विद्रोह गरी अलग भएका थिए । बारम्बार विभाजनबाट थकित भएका वैद्य जनवादी सत्ता स्थापनाका लागि विद्रोह अपरिहार्य भएको बताउँदै आएका छन् ।

एकता निर्णयको एक वर्षमा पनि खुलेन माओवादीको ढोका

टुटफुट र विभाजनबाट नेसपा र क्रान्तिकारी कम्युनिस्ट पार्टीमात्र होइन, विप्लवको पार्टी नेकपासमेत अछुतो छैन । वैद्यबाट अलग्गिएर एकीकृत क्रान्तिमा लागेका विप्लव झण्डै दुई वर्ष भूमिगत भए । तर राज्यशक्तिका अगाडि नेकपालाई ठुलो धक्का लाग्यो । २०७७ फागुनमा सरकारसमक्ष तीन बुँदे सहमतिमार्फत शान्तिपूर्ण खुला राजनीतिमा उनी आए । संसदीय निर्वाचनमा भाग लिने तत्कालीन कार्यनीति बनाएपछि बास्तोला समुह २०७९ वैशाख १४ गते पार्टीबाट बाहिरिएका थिए ।

नेकपाबाट चोइटिएर झण्डै आधा दर्जन पार्टी गठन भइसकेको छ । गत वर्ष वैशाखमा नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको थियो । तर प्रचण्डले एकता प्रक्रियालाई झुलाउँदै आएपछि निष्कर्षमा पुग्न सकेको छैन । 

विप्लव २०८४ को निर्वाचनमा भाग लिने गरी निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया आगाडि बढाइसकेका छन् । अब बस्ने केन्द्रीय समिति बैठकले पार्टीको नाम टुंग्याउने नेताहरूले बताएका छन् । 

वैकल्पिक शक्ति बन्नेमा बाबुरामको विश्वास कायमै

जनयुद्धका योजनाकार, बौद्धिक तथा वैचारिक नेता मानिने डा. बाबुराम भट्टराईले नयाँ वैकल्पिक शक्ति गठन गर्ने उद्घोष गर्दै ०७२ साल असोज ९ गते माओवादी केन्द्रबाट अलग भए । प्रचण्डको ढुलमुले अवसरवादी चरित्र र विश्वबाट पतनउन्मुख भएको कम्युनिस्टको नेतृत्वमा समाजवादी क्रान्ति हुन नसक्ने निष्कर्ष निकालेर ०७३ जेठ ३० गते उनले नयाँ शक्ति पार्टी गठन गरेका थिए । 

तर ०७४ को निर्वाचनमा देशभर चर्चा पाए पनि समर्थन पाउन सकेन । अन्ततः उपेन्द्र यादव र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा उनले पार्टी विलय गराए ।

त्यसपछि जनता समाजवादी हुँदै नेपाल समाजवादी गठन गरेका भट्टराईले विभाजनको पीडाबाट अहिलेसम्म छुटकारा पाउन सकेका छैनन् । युद्धकालदेखि भट्टराईलाई सहयोग गरेका गंगानारायण श्रेष्ठ, विश्वदीप पाण्डे समेतले साथ छोडेका छन् । २०७९ को निर्वाचनमा निर्वाचित भएका दुई जाना संघीय र दुई जना प्रदेशसभा सांसदमध्ये अहिले गण्डकी प्रदेशका ऊर्जामन्त्री समेत रहेका फणीन्द्र देवकोटाले मात्र भट्टराईलाई साथ दिएका छन् ।

भट्टराईलाई पूर्वनेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वेलावखत आरोप लगाए पनि उनले वैकल्पिक शक्तिको समभावनालाई जीवितै राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप