शुक्रबार, ०९ जेठ २०८२
ताजा लोकप्रिय

'यो अहिलेसम्मको सबैभन्दा कमजोर नीति तथा कार्यक्रम हो'

बिहीबार, ०८ जेठ २०८२, १९ : ४४
बिहीबार, ०८ जेठ २०८२

कोशी प्रदेश सरकारका तर्फबाट प्रदेशसभामा प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । यो नीति तथा कार्यक्रमको प्रसंसा गरौं, त्यो ठाउँ छैन । 
आलोचना गरौं वा देखेको कुरा गरौं त्यसलाई स्वीकार्ने, सहने सरकारको सामथ्र्य, महानता र बानी पनि छैन ।

पहिलो कुरा त प्रिय नलाग्न सक्छ । यो अहिलेसम्मको सबैभन्दा कमजोर नीति तथा कार्यक्रम हो । मेहनत अत्यन्तै कम परेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीज्यूलाई म लामो समयदेखि जान्दछु । मेहनत गर्नुभएको भए यो भन्दा अलिक राम्रो नीति तथा कार्यक्रम उहाँले ल्याउन सक्नुहुन्थ्यो । उहाँको क्षमताप्रति मलाई यो विश्वास छ । तर, मेहनत कम भएकै कारणले होला एकदमै कमजोर नीति कार्यक्रम आएको छ । कतै अब यो कार्यान्वयन नहुने, सधैँ ढाँट्नुपर्ने नीति तथा कार्यक्रम कति ल्याउनु भनेर । र यो पक्कै पनि ल्याएको होइन होला । मेहनत नै कम परेको होला भन्ने म विश्वास गर्दछु । कार्यान्वयन नगर्ने नीति कार्यक्रम त लामै ल्याएको भए पनि हुन्थ्यो नि । 

दोस्रो पटकको प्रदेशसभा बनेसँगै तीन पटक नै नीति कार्यक्रम अहिलेकै मुख्यमन्त्रीज्यूले ल्याउनुभएको छ । मैले पुरानो नीति तथा कार्यक्रमहरू पढें । त्यसैको आधारमा यो कार्यान्वयन नहुने नीति कार्यक्रम लामै लेखेको भए पनि हुन्थ्यो भन्न खोजेको हो । त्यसका लागि प्रत्येक पानामा प्रमाण पेस गर्न सकिन्छ । पहिले लेख्नुभएको थियो ‘भाषा आयोगले सिफारिस गरेको कामकाजको भाषालाई कानूनी व्यवस्था गरेर प्रयोगमा ल्याउने’ ।

तर, त्यसको प्रयास समेत नभएर हाम्रा दलसहितले गैरसरकारी विधेयकको रुपमा संसद्मा दर्ता गर्नुपर्ने अवस्था आयो । कतिपय माननीयज्यूहरूले औपचारिक रुपमा संसदमा र अनौपचारिक रुपमा हामीले पनि पटक पटकभन्दा पनि सरकारबाट प्रयाससमेत भएन । प्रयास भएको भए त्यसको आवश्यक खाका म मुख्यमन्त्री हुँदा नै तयार भइसकेको थियो । त्यसलाई पास गर्नु र कार्यान्वयन गर्न कुनै समस्या थिएन । तर, कार्यान्वयन भएन । त्यस्तै यहाँ अनेक कुरा छन् । कोशी प्रदेश दर्पण जर्नल निकाल्ने, सरकारको निर्णयहरूलाई विद्युतीय माध्यामबाट सार्वजनिक गर्ने, सवारी साधनहरूको लाइसेन्सलाई स्मार्ट कार्ड यही प्रदेशमा छापेर वितरण गर्ने कुरा यसअघि नै थियो । तर, अहिले सुन्छौं, वर्षौँदेखि जनताले लाइसेन्स अझै पाउन सकेका छैनन् ।

यस्तै कर्मचारीको निवृत्तिभरण कोष, भ्रष्टाचार शून्य सहनशीलताको कुरा पनि छ । भ्रष्टाचारीलाई अहिलेसम्म कति कारबाही गरियो ? अन्तराष्ट्रिय चिया सम्मेलन, गुराँस सम्मेलन कुनै पनि भएनन्, किन ? कृषि आयमा कर संकलन गर्ने काम पनि भएन । प्रदेश प्रहरी समायोजन गरेर हाम्रो मातहतमा ल्याउने, वाम लोकतान्त्रिक आन्दोलनमा योगदान गर्ने योद्धाहरूलाई सम्मान गर्ने, सार्वजनिक यातायातका साधनलाई डिजिटलाइजेसन गर्ने, सार्वजनिक तथा गुठीका जग्गाका लगत अद्यावधिक गर्ने लगायतका विषय यसअघिकै नीति तथा कार्यक्रममा थिए । जुन कुराहरू गर्न खोज्दा गर्न सकिने थिए । तर, कार्यान्वयन भएनन् ।

नीति कार्यक्रम प्रस्तुत हुँदा कम्तिमा सत्ता पक्षले एक दुई पटक वा सम्पूर्ण हललले टेबुल ठोक्नु पर्ने पनि हो । तर, एकै पटक टेबुल ठोक्ने काम पनि भएन । त्यसकारण पनि यो गतिलो छैन भन्ने बुझ्न सकिन्छ । कतिपय कुराहरू यति अमूर्त छ । मोहन कोइरालाको कविता जस्तो, किरण मानन्धरको अमूर्त चित्र जस्तो । पहिले पञ्चायतकालमा जेल बस्दा मञ्जुल र पारिजातहरूको छेकुडोल्माको डायरी भन्ने थियो । त्यहाँ केही नबुझिने कुराहरू लेखिएको थियो । त्यस्तो खालका विषय नीति तथा कार्यक्रम लेखिएको छ । हुन नसक्ने काल्पनिक कुरा पनि थुप्रै छन् । जस्तैः विराटनगरको एयरपोर्टलाई अन्तराष्ट्रिय एयरपोर्ट बनाउने, चतरादेखि चौंरीखर्कसम्मको रेलमार्ग बनाउनेदेखि केचनादेखि सगरमाथासम्म द्रुत मार्ग बनाउने, युटिलिटी करिडोर बनाउने जस्ता नहुने कुराहरू राखिएको छ । 

उहिले मार्क्स, एंगेल्सले त्यो विचारको प्रतिपादन गर्नुअगाडि त्यस्तै त्यस्तै विचारहरू युटुपियन्स सोसाइटीको कल्पना गर्थे । त्यो यथार्थपरक छैन है भनेर एउटा श्यामुयल बटलर भन्नेले ठूलो व्यंग्यात्मक नोबेल लेखेका थिए । त्यस्तै तपाईंहरूको कतिपय कुराहरू अहिले हुन सक्दैन । त्यस्ता कुरा नीति कार्यक्रममा राखिएको छ । यहाँ हाकाहाकी झुटका कुरा पनि छन् । जातीय एकता, सांस्कृतिक एकताको लागि हामी लागिरहेका छौं भनिएको छ । तर, नामाकरणको विषयमा के गर्नुभयो ? मुकुम्लुङबारे के गर्दै हुनुहुन्छ ? यो भनेअनुसारको काममा सरकार लागेको छ त ? लागेको छैन ।

त्यसपछि वित्तीय अनुशासन र बजेट नछर्ने कुरा लेख्नुभएको छ । रातो किताबमा लेखिएको, परेको योजना भनेका विनियोजन ऐनको अंगको रुपमा रहेको विषय हो । रातोकिताब भनेको पनि ऐन हो । त्यो ऐनमा आएका कुराहरूलाई काटेर आफ्नो जिल्लामा बाँड्ने, अनि त्यो पनि कोटेशनमा योजनाहरू दिनेसँगसँगै निर्माण व्यवसायी जाने जस्ता खालका कुराहरू देखिएको छ । यसले वित्तीय अनुशासन भयो ? बजेट नछर्ने कुरा छ । सामाजिक विकासले पैसा १ लाख र डेढ लाख बाँड्दै हुनुहुन्छ । पर्यटन, पूर्वाधारकै कुरा पनि गर्नुहोस् । १ लाख डेढ लाख, ७० हजारसम्ममा झर्दै हुुनुहुन्छ । अनि अहिले टुक्रे योजना नराख्ने भनेर हुन्छ ?

सामाजिक दायित्व, सामाजिक सेवा प्रवाहको विषयमा अलिकति बजेट पहिलेकेन्द्रित थियो । छात्रवृत्ति, विपन्नलाई पढाउने, खासखास रोगको उपचारमा सहयोग गर्ने कुराहरू अहिले छैन । स्कुलहरूलाई स्वयंसेवक शिक्षक दिने जस्ता सामाजिक दायित्वबाट सरकार पन्छिएको देखिन्छ । आज समाजवादी विचार बोक्नेहरूले मात्रै होइन, पुँजीवादी विचार बोक्नेहरूले पनि सामाजिक दायित्व निर्वाह गर्ने, लोककल्याणकारी कुरामा बजेट वृद्धि गर्दै आइरहेका छन् ।

कतिपय वित्तीय संघसंस्थाहरूलाई पनि आम्दानीको निश्चित प्रतिशत सामाजिक उत्तरदायित्वको क्षेत्रमा, लोककल्याणकारी क्षेत्रमा कार्यान्वयन गर्नुपर्ने, खर्च गर्नुपर्ने व्यवस्था छ भने शिक्षा र स्वास्थ्य तर्फको बजेटलाई हामीले कटौती गरेको देखिन्छ । समाजवाद भनेको एकैचोटी पाकिसकेपछि खाने चिज होइन । अहिलेदेखि नै जति सकिन्छ जनतालाई राहत, सेवा, सुविधा दिँदै जाने, जतिवेला राज्य सक्षम हुन्छ त्यतिवेला सम्पूर्ण रुपमा लागू गर्ने कुरा हो ।

हिजो जिउँदैमा स्वर्ग देखाउने सपना देखाएर हामीलेले मान्छेलाई क्रान्तिमा हिँडायौं, सहिद बनायौं, घाइते बनायौं, अनेकौं यातना भोगाएर, अनेकौं कष्ट भोगाएर क्रान्ति ल्याउने, व्यवस्था बदल्ने गर्यौं । तर, आज जनताको अवस्था हिजोको भन्दा कष्टप्रद हुने हो भने त्यो बदिलान, त्यो त्याग, त्यो योगदानले हामीलाई तिरस्कार गर्छ कि गर्दैन ? त्यसो भएको हुँदा यो सामाजिक उत्तरदायित्वभित्र, जनतालाई राहत दिने कुरामा बजेट जानै पर्छ ।

संसदको बहुमत भनेको प्राविधिक कुरा मात्रै हो । जनता खुसी पार्ने र राम्रो काम गर्नेतिर लाग्नुपर्छ । ओठे जवाफ दिएर हुँदैन । सरकारलाई सहयोग गर्न हामी तयार छौं । रचनात्मक ढंगले सहयोग गर्न तयार नै छौँ । यसलाई अन्यथा ढंगले लिने हो भने सरकारकै लागि राम्रो हुने छैन । व्यवस्था नै बदनाम भइसक्यो । पुरानोतर्फ फर्किने कुरा किन आयो भन्दा सत्ता चलाउने ठुला दलहरूले, क्रान्तिमा योगदान दिनेहरूले नै राम्रा नचलाएको हुँदा जनता सडकमा आएका हुन् । त्यो हाम्रो व्यवहारको कारणले हो । त्यसलाई हामीले वेलैमा सच्याउनु जरुरी छ । 

(पूर्वमुख्यमन्त्री राजेन्द्र राईले कोशी प्रदेशको नीति तथा कार्यक्रमबारे प्रदेशसभामा भएको छलफलमा प्रस्तुत विचारको सम्पादित अंश)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप