सडकको आकस्मिक अनुगमन गर्दै मन्त्री मास्केले भने - गुणस्तरमा कम्प्रमाइज हुँदैन

हेटौँडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले कुलेखानी फाखेल हुमाने सडकको आकस्मिक अनुगमन गरेका छन् । बिहीबार साँझ मन्त्री मास्केले सो सडकको स्थलगत अनुगमन गरेका हुन् । सडक बन्द गरेर स्तरोन्नति भइरहेको स्थानमा मन्त्री मास्केले अनुगमन गरेका हुन् ।
हेटौँडा–काठमाडौँ जोड्ने उक्त सडक बागमती प्रदेश सरकारको लगानीमा असार अगावै सक्ने गरी स्तरोन्नति सहित कालोपत्रे गर्ने काम भइरहेको छ । जेठ २ गतेबाट कालोपत्रे सुरु भएको उक्त सडकमा लापवाही ढङ्गबाट काम भएको गुनासो आएपछि मन्त्री मास्के आकस्मिक रूपमा अनुगमनमा पुगेका हुन् ।
सो सडक खण्डको हुमानेदेखि राकस खोलासम्म गरिएको कालोपत्रे उक्किएको भन्दै स्थानीयहरूले विरोध गरेका थिए । केही दिन अघि मात्र हालिएको उक्त कालोपत्रे उक्किएको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि सडकको अवस्था बुझ्न मन्त्री मास्के मैदान पुगेका थिए ।
१९ दिनमा कालोपत्रे सक्ने गरी काम भइरहेको सो सडकमा रातको समयमा पनि कालोपत्रे हाल्ने काम भइरहेको थियो । पूर्वाधार विकास कार्यालय मकवानपुरका अनुसार जेठ १९ गतेसम्म काम सक्नुपर्ने र मौसम अनुकूल नहुँदा रातको समयमा पनि काम गराइएको थियो ।
विपद् प्रभावित उक्त सडकको असार अगावै काम सक्ने गरी निर्माण व्यवसायीलाई अधिकतम परिचालन गरी सडक कालोपत्रे गर्ने काम भएको कार्यालयका प्रमुख इन्जिनियर सुजन भण्डारीले जानकारी दिए ।
उनका अनुसार वर्षा याममा हेटौँडा काठमाडौँ सहज यात्राका लागि सो सडक तयार गर्ने गरी विपद्बाट क्षति पुगेका क्षेत्रमा समेत काम भइरहेको र कालोपत्रे गर्नुपर्ने स्थानमा छिटो काम सक्ने गरी अघि बढाइएको उनले बताए ।
सडक कालोपत्रेसहित विपद्ले क्षति पुगेको स्थानको व्यवस्थापनको काम तीव्र गतिमा अघि बढाइएको उनको भनाई छ । १२.६ किलोमिटर लम्बाइ र ८.२० मिटर चौडाइ (हुमानेदेखि कंलकी) सम्मको सडक कालोपत्रे कार्य भइरहेको उनको भनाइ छ ।
सडकको ८.५० किलोमिटर सतह कालोपत्रे तथा ४ किलोमिटर ढलान कार्य हुने उनले बताए । उनका अनुसार गत २०८० वैशाख १७ मा ३५ करोड ४८ लाख ८८ हजार ९१६ रुपैयाँमा सडक कालोपत्रेका लागि सम्झौता गरिएको थियो । हाल सो सडक खण्डको २ किलोमिटर सडक कालोपत्रे कार्य भइसकेको छ ।
अनुगमनका क्रममा मन्त्री मास्केले निर्माण भएका संरचनाको गुणस्तर कायम गर्ने विषयमा गम्भीर हुन निर्देशन दिए । गुणस्तरमा मन्त्रालयले कुनै पनि कम्प्रमाइज नहुने उनले बताए ।
‘नागरिकको करबाट निर्माण भएको संरचना गुणस्तरहीन हुन हुँदैन । निर्माणको काममा ठेक्का सम्झौता गर्ने निर्माण व्यवसायीसंगै कार्यालयको इन्जिनियर जिम्मेवार र उत्तरदायी हुनुपर्छ ।’ उनले भने, ‘निर्माण भएको संरचना परिक्षण पछि मात्र भुक्तानी तथा हस्तान्तरणको प्रक्रियामा अघि बढ्ने छ ।’
सो सडक खण्डको कालोपत्रे गरिएको स्थानबाट कोर कटिङ गरे गुणस्तर परिक्षण गरेर अघि बढ्ने गरी नमुना संकलन गरेर परिक्षणको लागि पठाइएको उनले बताए ।
गत असोजमा गएको विपदमा बाढीका कारण कुलेखानी फाखेल हुमाने सडक सहित हेटौँडा काठमाडौँ जोड्ने कुलेखानी सिस्नेरी दक्षिणकाली सडकमा समेत क्षति पुगेको थियो ।
कुलेखानी जलाशयको बाढीले सो सडकको ट्रयाक बगाएको थियो भने सिमखोलाको पुलको पहुँच मार्ग बगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सामा तीन लाख ५१ हजार बढी मतदाताको नाम अद्यावधिक, महिलाको सहभागिता उल्लेख्य
-
आईपीएल : शीर्ष स्थानको गुजरातलाई हरायो लखनउले
-
१२ बजे, १२ समाचार : रवि र छविबारेको सुनुवाई हेर्दाहेर्दैमा देखि भिजिट भिसा प्रकरणले गृहमा हलचलसम्म
-
झापामा एक वर्षमा दश करोड बढीको भन्सार छलीका सामान बरामद
-
तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता
-
खोलाले बगाउँदा महिलाको मृत्यु